८ माघ २०८२ बिहीबार
image/svg+xml
शिक्षा

गणितको ‘हाउगुजी’ हटाउन राष्ट्रिय गणित सम्मेलन आयोजना गरिँदै

इलाम सदरमुकाममा आयोजना गरिने राष्ट्रिय गणित सम्मेलनबारे जानकारी गराइँदै। तस्बिरः भीम/नागरिक

गणित विषयको ‘हाउगुजी’ समाधान गर्ने प्रयत्नले सदरमुकाममा राष्ट्रिय सम्मेलन आयोजना गरिने भएको छ। माध्यमिक तहमा गणित विषयको पठनपाठन प्रभावकारी बनाउन अनुसन्धानात्मक विचार, विमर्श र बहसका लागि सम्मेलन आयोजना गर्न लागिएको हो।  

नेपाल गणित समाजले आउँदो २८ देखि ३० गतेसम्म सदरमुकामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा सम्मेलन आयोजना गर्दैछ। सम्मेलनमा देश र विदेशबाटसमेत गरी २ सय जनाभन्दा बढीको सहभागिता रहने अनुमान आयोजकले गरेको छ। समाजले सोमबार सदरमुकाममा पत्रकार सम्मेलन आयोजना गरी गणित सम्मेलनबारे जानकारी दिएको हो। समाजका उपाध्यक्ष डा.श्रीराम खड्काले गणित विषयबारे समाजमा ‘भ्रम’ रहेको बताए। ‘गणित विषय जटिल हो भन्ने भ्रम समाजमा छ,’ उनले भने, ‘यही भ्रमले विद्यालयका बढीजसो बालबालिका पनि गणितमै अनुत्तीर्ण हुनेगरेको देखिन्छ। र, विद्यालयमा गणितका विद्यार्थीको संख्या घट्दो छ।’

उनले गणितलाई जटिल विषयका रूपमा लिनुमा पनि नीति निर्माता, शिक्षक, विषयविज्ञ, पाठ्यक्रम निर्माताकै दोष रहेको बताए। ‘गणितको एकीकृत पाठ्यक्रम बन्नुपर्छ, अहिलेको माध्यमिक तहको गणित अनुसन्धानमा आधारित छैन, पाठ्यक्रमअनुसार पाठ्यपुस्तक छैनन्,’ उनले भने, ‘शिक्षकलाई पाठ्यक्रमअनुसार तालिमप्राप्त बनाइएको छैन, त्यसैले यो विषय जटिल पो हो कि जस्तो देखाइएको छ।’  

उनले गणित संसारभर एउटै विज्ञानमा आधारित हुने भएकाले यो विषय गाह्राे नभएको तर पढाउने, सिकाउने, पाठ्यक्रम बनाउनेलगायत काममा अनुसन्धान नहुँदा जटिलजस्तो भएको बताए। ‘अरू कुनै विषयमा संसारका फरक–फरक विज्ञलाई कुनै एउटै प्रश्न गर्ने हो भने विज्ञपिच्छे फरक जबाफ आउँछ तर गणित विषयमा गरिएको एउटा प्रश्नको जबाफ जतिजना विज्ञको पनि एउटै आउँछ,’ उनले भने, ‘त्यसैले गणित समस्या होइन, जटिल पनि होइन तर यसको सिकाउने, पढाउने शैली चाहिँ सुधार्नु आवश्यक छ।’  

उनले राष्ट्रिय सम्मेलनमा यी र यस्तै विषयमा विज्ञहरूबीच साक्षात्कार, बहस र प्रश्नोत्तर हुने बताए। ‘गणित विषयको विकास र प्रभावकारी अध्ययन–अध्यापनमा सम्मेलनले देशकै लागि महत्वपूर्ण सहयोग गर्ने आशा गरेका छौं,’ उनले भने, ‘यसमा सहभागी हुन धेरै शिक्षक–प्राध्यापक आकर्षित हुनुभएको छ।’

सम्मेलनअघि जेठ १४ देखि १८ सम्म गणित विषयको अनलाइन गोष्ठी तथा २६, २७ र २८ गते कक्षा ११ र १२ को गणित विषयको क्षमता अभिवृद्धिका लागि कार्यशालासमेत आयोजना गरिएको समाजले जनाएको छ। समाजका १ नम्बर प्रदेश अध्यक्ष मनोजकुमार राउतले गणित पनि एउटा महत्वपूर्ण विषय हो भन्ने धारणा मानिसमा विकास हुँदै गएको बताए। ‘अहिले गणितमै विद्यावारिधि गर्नेको संख्या पनि बढ्दो छ,’ उनले भने, ‘यसले गणित विषय पनि समाजको अभिन्न र व्यावहारिक अंग हो भन्ने देखाएको छ।’  

विद्यालय तहमा घटिरहेको गणितका विद्यार्थीको संख्या बढाउन तथा गणितमा बढी विद्यार्थी अनुत्तीर्ण हुनेगरेको अवस्था सुधार्न कार्यशाला र सम्मेलन आयोजना गरिएको समाजले जनाएको छ।

प्रकाशित: ९ जेष्ठ २०७९ १५:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App