भक्तपुरको गुण्डुस्थित काठमाडौ वर्ल्ड स्कुलले अमेरिकामा पढिरहेका नेपाली विद्यार्थीलाई नेपाल फर्काएर आफ्नो स्कुलमा पढाउन सफल भएको जनाएको छ। स्कुल व्यवस्थापन समितिका अध्यक्ष इन्जिनियर डाक्टर मिथिलेस झाले गुणस्तरीय शिक्षाका लागि अव विदेश जान नपर्ने दावी गरे। 'गुणस्तरीय शिक्षा र अध्ययनका लागि नेपाली विद्यार्थी विदेश जान अव पर्दैन,' उनले भने, 'अमेरिकालगायतका विदेशी देशहरुमा गएर पढिराखेका नेपाली विद्यार्थीलाई समेत स्वदेश फकाएर स्कुलमा पढाइराख्न हामी सफल भएका छौं।'
भक्तपुर उद्योग वाणिज्य संघ र स्कुलले संयुक्त रुपमा गरेको कार्यक्रममा उनले आफ्नो स्कुलमा देशका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विद्यार्थी अध्ययन गरिरहेको जनाए। टाढाका विद्यार्थीका लागि होस्टेलमा राखेर पढाइरहेको उनले जानकारी गराए।
कार्यक्रममा स्कुलका प्रिन्सिपल केशर खुलालले स्कुलमा एक हजार दुई सय जना विद्यार्थीलाई व्यवहारिक र गुणस्तरीय शिक्षा दिइरहेको जनाए। कार्यक्रममा प्रिन्सिपल खुलालले कक्षा १ देखि ९ सम्म मासिक ४३ हजार ७ सयदेखि ४८ हजारसम्ममा आवासीय शिक्षा दिइरहेको बताए।
कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले पढ्नका लागि अव विद्यार्थीहरु विदेश जान नपर्ने बताए। काठमाडौ वर्ल्ड स्कुलको भौतिक र शैक्षिक वातावरण देख्दा अमेरिकी स्कुलभन्दा पनि राम्रो र गुणस्तरीय देखेको भन्दै उनले खुशी साटे।
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्वर ७ गुण्डुमा यो स्कुल रहेको छ। यो स्कुल गुण्डुको ठूलो क्षेत्रफलमा फैलिएको छ। स्कुलमा चौधरी ग्रुपको लगानी रहेको छ।
प्रकाशित: १७ वैशाख २०७९ ११:४३ शनिबार





