२२ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

नेपालगञ्जमा खुल्यो मंगलप्रसाद महिला कलेज

नेपालगन्जमा मंगलप्रसाद महिला कलेज खुलेको छ। नेपालगन्ज उपमहानगरपालिका कार्यालयले आफ्नै लगानीबाट उक्त कलेज खोलेको हो। कलेजको कार्यक्रमका प्रमुख अतिथि एवं पूर्वाञ्जल विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा. यादवराज कोइरालाले बुधबार औपचारिक रूपमा उद्घाटन गरेका छन्।

उद्घाटन कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवलसम्शेर राणाले शिक्षामा महिलाको पहुँच बढाउन महिला कलेज स्थापना गर्नुपरेको बताए। महिला कलेज आर्थिक रूपले सक्षम नहुँदासम्म उपमहानगरपालिकाले नै खर्च ब्यहोर्ने निर्णय भएको उनले सुनाए।

यस्तै उपप्रमुख उमा थापा मगरले मधेसी, मुश्लिम लगायत समुदायका छोरीलाई लक्षित गरेर महिला कलेज स्थापना भए पनि सबै जाति र समुदायका छोरीले पढ्न पाउने बताइन्। कलेजलाई आर्थिक रूपले सक्षम बनाउँदासम्म सञ्चालनमा चुनौती आउने उनको भनाइ छ।

कलेज प्रमुख रविन्द्र कर्णका अनुसार मंगलप्रसाद माध्यामिक विद्यालयले उपलब्ध गराएको करिव १२ कठ्ठा जमिनमा चारतले भवन निर्माण गरिएको छ। उक्त भवनमा ४० वटा कक्षाकोठा, कार्यालय, हल, अपांगतामैत्री शौचालय लगायत संरचना निर्माण गरिएको छ। कलेजमा अध्ययन गर्ने छात्राका लागि छात्रावासको पनि व्यवस्था गरिएको उनले बताए।

उक्त कलेजलाई विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गर्न धेरै कठिनाई ब्यहोर्नुपरेको अनुभव कर्णले सुनाए। पूर्वाञ्जल विश्वविद्यालयबाट कलेजको सम्बन्धनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको बताए। आगामी शैक्षिक शत्रबाट कलेजले पठनपाठन सञ्चालन गर्ने तयारी गरेको छ।

विश्वविद्यालयबाट सम्बन्धनका लागि एक करोड र सञ्चालन गर्न ५० लाख रुपैयाँ उपमहानगरपालिकाले कलेजलाई प्रदान गरिसकेको जनाएको छ। कलेज सञ्चालनका लागि अझै दुई करोड रुपैयाँ दिने निर्णय भइसकेको उपप्रमुख थापाले जानकारी दिइन्। भवन निर्माणका लागि ८ करोड रुपैयाँको लागतमा ठेक्का स्वीकृत भए पनि संरचना निर्माणका क्रममा रकम अपुग भएपछि करिव २ करोड रुपैयाँ थप गरेर १० करोड पुर्याइएको उपप्रमुख थापाको भनाइ छ।

नेपालगञ्जमा मधेसी तथा मुस्लिम समुदायको उल्लेख्य बसोबास छ। महिलाको छुट्टै कलेज नहुँदा यी समुदायले आफ्ना छोरीलाई उच्च शिक्षा पढाउन चाहँदैनन्। उच्च शिक्षा नपढाएर छोरीलाई सानै उमेरमा विवाह गरिदिने प्रवृत्ति छ।

प्रकाशित: ७ वैशाख २०७९ ०४:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App