१३ आश्विन २०८१ आइतबार
image/svg+xml
शिक्षा

पोखरा बहुमुखी क्याम्पसलाई गोशली हाउसको १५ लाख

पोखरा–९ नयाँबजारमा पोखरा बहुमुखी क्याम्पसको भवन निर्माणका लागि सहयोग गर्दै दाता सुशीलकुमार गोशली (बायाँ)। तस्बिरः नागरिक

व्यवसायिक घराना गोशली हाउसले यहाँको पुरानो शैक्षिक संस्था पोखरा बहुमुखी क्याम्पसको भवन निर्माणका लागि १५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। आमा विष्णुमायाको नाममा छोरा सुशीलकुमार गोशलीले उक्त रकम सहयोग गरेका हुन्।

क्याम्पसका आजिवन सदस्य समेत रहेका गोशलीले भवन निर्माणका लागि दिएको उक्त रकम क्याम्पस संचालक समितिका पदाधिकारीलाई हस्तान्तरण गरेका छन्। संचालक समितिका अध्यक्ष नरेन्द्रमान लालचनले सामुदायिक क्याम्पसको भवन बनाउनका लागि सबैतिरको सहयोगले सहज भएको बताए।  

क्याम्पस भवन बनाउन अहिले अध्यक्ष लालचन सहित भवन निर्माण सयोजक शंकर देवकोटा, अर्थ संकलन सयोजक बद्री श्रेष्ठ, कोषाध्यक्ष शंकर गुरुङ, सदस्य रामकृष्ण बाँस्तोला र इन्जिनियर सोजन शेरचन लगायतको टिम खटिएको संचालक समितिले बताएको छ। ‘एउटा सामुदायिक क्याम्पसको भवन बनाउने दायित्व बोकेर हामी अघि बढिरहेका छौ, अबको केही महिनाभित्र पूर्वाधार पुरा गर्ने हो,’ अध्यक्ष लालचनले भने, ‘शिक्षामा सबैको पहुँच पु¥याउने गरि हामी अघि बढेका छौं। सबैको दिनरातको खटाईले कामले पूर्णता पाउँदैछ।’

यसअघि पनि एनएमबी बैंकले क्याम्पसको भवन निर्माणका लागि ३५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो। क्याम्पसले अहिले पोखरा–९ नयाँबजारमा अपांग तथा प्रविधिमैत्री सुविधासम्पन्न भवन बनाइरहेको छ। हाल यो क्याम्पस नयाँबजारमै संचालनमा छ। केहीमहिना भित्र भवन निर्माण सम्पन्न गरि हाल नयाँबजारमा भईरहेका शैक्षिक गतिविधि नयाँ भवनमा सारिने पनि क्याम्पसले बताएको छ।  

क्याम्पस प्रमुख शिशुकला पराजुलीले पाँचकरोड रुपैयाँ भन्दा बढि लगानीमा सुविधासम्पन्न भवन बनाईरहेको बताईन। उनका अनुसार चाररोपनी क्षेत्रफल जग्गामा अहिले क्याम्पसको भवन बनिरहेको छ। ‘करिब तीनकरोड रुपैयाँ विभिन्न दाताबाट सहयोग जुटिसकेको छ,’ पराजुलीले भनिन, ‘व्यक्तिगत र संस्थागत सहयोगको भरमा क्याम्पस भवन तयार हुँदैछ।’

दाता गोशलीले व्यवसायिक दायित्व निभाएर क्याम्पसका लागि सहयोग जुटाएको बताए। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पोखरा बहुमुखी गण्डकी प्रदेशकै पहिलो सामुदायीक क्याम्पस हो। यो क्याम्पस २०४४ सालमा पोखरा–१ टुँडिखेलमा स्थापना भएको थियो। तत्कालिन अवस्थामा शिक्षा क्षेत्रमा बढ्दो रुची र सीमित शैक्षिक संस्थाको कारण विद्यार्थीको चापलाई पृथ्वीनारायण क्याम्पसले थेग्न नसकेपछि यो क्याम्पस संचालन थालिएको हो।

सुरुदेखि नै मानविकी र व्यवस्थापन संकायमा अध्यापन गराउँदै आएको क्याम्पस २०५९ मा टुँडिखेलबाट पोखरा–९ नयाँबजारमा सरेको थियो। सुरुमा प्रवीणता प्रमाणपत्र तहमा अध्यापन गराएको यो क्याम्पसले २०६० देखि स्नातक तहतर्फ बिबिएस र बिएका कक्षा संचालन गर्दै आएको छ। हाल चारवर्षे बिए र बिबिएसमा अध्यापन हुन्छ । क्याम्पसमा अहिले ४ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन्।  

प्रकाशित: १२ चैत्र २०७८ ०७:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App