८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
शिक्षा

कक्षा १२ को नतिजा सार्वजनिकः ‘ए’ प्लस ग्रेड ल्याउने ७,०६३ जना, ‘ई’ ल्याउनेको संख्या १०,०७३

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा शुक्रबार सार्वजनिक गरेको छ। कक्षा १२ का परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार यस वर्ष गत भदौ ३० देखि असोज ८ सम्म सञ्चालित परीक्षामा नियमित,ग्रेड वृद्धि र आंशिक गरी ३ लाख ७४ हजार १५ परीक्षार्थीको सहभागिता थियाे।

नियमिततर्फ मात्र ३ लाख ३८ हजार ६ सय ८८ परीक्षार्थीको सहभागिता थियो। गत वर्ष भने ३ लाख १० हजार ३ सय १६ जना विद्यार्थीले सहभागिता जनाएका थिए।

यसपालि नियमिततर्फ जिपिए ३.६१ देखि ४ अर्थात् ‘ए’ प्लस ग्रेड ल्याउनेको संख्या ७ हजार ६३ रहेको नियन्त्रक शर्माले जनाए। नतिजा गत वर्षको भन्दा सुधार भएकाले यो वर्ष जिपिए ४ ल्याउने शून्य रहेको नियन्त्रक शर्माको ठहर छ। ‘कोभिडका कारण गत वर्ष विद्यालयले नै परीक्षा लिएको थियो।

बोर्डले उत्तरपुस्तिका परीक्षण र समपरीक्षण गरी नतिजा प्रकाशित गरेको थियो। गत वर्ष जिपिए ४ ल्याउने ४८ पुगेका थिए,’नियन्त्रक शर्माको विश्लेषण छ, ‘यो वर्ष बोर्डले नै प्रश्नपत्र बनाउनेदेखि परीक्षा सञ्चालन र नतिजा प्रकाशनसम्मको काम गर्‍यो। यसपटक जिपिए ४ ल्याउने शून्य रहे ।’ उनले थपे, ‘यसपटक माथिलो ग्रेडमा कम विद्यार्थी परेका छन्।’

सबैभन्दा बढी विद्यार्थी जिपिए २.४१ देखि २.८० अर्थात् ‘बी’ ग्रेडमा छन्। यो समूहमा९९ हजार ५ सय ३७ विद्यार्थी छन्। ‘ए’ ग्रेड अर्थात् जिपिए २.२१ देखि ३.६० ल्याउने विद्यार्थी ४८ हजार २ सय ३९ जना छन्। जिपिए २.८१ देखि ३.२० ल्याउने विद्यार्थी ७० हजार १ जना छन्।

बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार गत वर्षभन्दा यस वर्ष नियमिततर्फका परीक्षार्थीको संख्या बढी भएकाले ‘ए’ प्लस ग्रेडमा बढी विद्यार्थी देखिए पनि प्रतिशतमा भने कम हुन्।

‘गत वर्ष ‘ए’ प्लस ग्रेड ल्याउने विद्यार्थी २.२२ प्रतिशत थिए भने यो वर्ष त्यो प्रतिशत घटेर २ मा पुगेको छ,’सदस्य सचिव अर्यालको विश्लेषण छ,‘गत वर्ष बोर्डले परीक्षा सञ्चालनको जिम्मेवारी स्कुललाई दिएको थियो।

माथिलो ग्रेडमा धेरै पास भएका थिए।’ उनले थपे, ‘यो वर्ष परीक्षाको सम्पूर्ण दायित्व बोर्डले नै लिएकाले विद्यार्थीको क्षमताअनुसारको सबै ग्रेडमा नतिजा आयो। यो वर्ष माथिलो ग्रेडमा विद्यार्थी संख्या कम छ।’ यसैगरी बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार जिपिए२.० देखि २.४०(‘सी’ प्लस ग्रेड) ल्याउने ७५ हजार ८८ विद्यार्थी छन् भने जिपिए१.६१देखि २ (‘सी’ ग्रेड) प्राप्त गर्ने विद्यार्थीको संख्या २४ हजार ५ सय १५ रहेको छ।

शिक्षाविद् विद्यानाथ कोइरालाले समग्रमा नतिजा राम्रो रहे पनि विद्यार्थीमा प्रश्न पढेर मनोगत तथा विश्लेषण गरी लेख्ने कलामा कमी आएको औंल्याए। उनले हालको प्रश्नको शैलीले नै सकेसम्म बढी विद्यार्थी पास गराउने तर विद्यार्थीको सिर्जनात्मक क्षमता मार्ने रहेकाले विद्यार्थीमा विश्लेषण गरी लेख्ने क्षमता कम भएको निष्कर्ष निकालेका छन्। ‘कक्षा १२ को नतिजा मैले हेरें, ‘ए’ प्लसमा बढी विद्यार्थी परेका छन्।

त्यो स्वाभाविक नै हो। किनभने, हालको प्रश्न बनाउने र उत्तर जाँच्ने वस्तुगत कलाले विद्यार्थी बढी पास गराउने नै भयो,’ शिक्षाविद् कोइलालाको विश्लेषण छ, ‘मनोगत प्रश्नको पनि वस्तुगत उत्तर र उत्तर जचाइ पनि त्यस्तै भयो। यसले राम्रो ग्रेडमा विद्यार्थी संया बढायो।’ एकातिर वस्तुगत प्रश्नले धेरै विद्यार्थी पास गराएर राम्रो गर्‍यो भने अर्कातर्फ विद्यार्थीले विश्लेषण गर्ने,तुलना गर्ने, आफ्नो बौद्धिकताको उपयोग गरी सिर्जनात्मक उत्तर लेख्ने कलामा भने कमी ल्याइदिएको र त्यो शिक्षा क्षेत्रका लागि राम्रो संकेत नभएको उनको बुझाइ छ।

बोर्डका अनुसार यस वर्ष ‘डी’ प्लस अर्थात् जिपिए १.२१ देखि १.६० ल्याउने विद्यार्थी ३ हजार ८ सय ७५ छन् भने ‘डी’ अर्थात् जिपिए ०.८१ देखि १.२० जिपिए ल्याउने विद्यार्थी २ सय ९६ जना छन्। ‘ई’ अर्थात् सबैभन्दा कमजोर जिपिए ०.००देखि ०.८० ल्याउने विद्यार्थी १० हजार ७३ जना छन्।

यो वर्ष कोभिडका कारण परीक्षा दिन नपाएका ४१ विद्यार्थीको परीक्षा मंसिर १६ देखि सुरु भसकेको छ भने २० गतेसम्म जारी रहनेछ। ‘एक वा दुई विषयमा ‘डी’ वा ‘ई’ ग्रेड प्राप्त गर्ने विद्यार्थीको मौका परीक्षा माघ २ र ३ गते सञ्चालन हुन्छ,’नियन्त्रक शर्माले नागरिकसँग भने, ‘तर,आफूले प्राप्त गरेको ग्रेडमा चित्त नबुझे विद्यार्थीले ग्रेड वृद्धिका लागि अवसर पाउनेछन्।’

प्रकाशित: १८ मंसिर २०७८ ०१:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App