१३ आश्विन २०८१ आइतबार
image/svg+xml
शिक्षा

भौतिक सुधारपश्चात् गुणस्तरीय शिक्षामा ध्यान : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादर देउवाले भूकम्पपछिको पुनर्निर्माणका क्रममा विद्यालयहरुको भौतिक सुधारपश्चात गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्ने बेला आएको बताएका छन्। ललितपुरको लगनखेलस्थित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा पुनर्निर्मित नमूना मच्छिन्द्र माध्यमिक विद्यालयको विद्यालय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले गुणस्तरीय शिक्षा आजको आवश्यकता भएकोमा जोड दिए।

‘भूकम्पबाट क्षतिग्रस्त ७ हजार ५५३ विद्यालयमध्ये ६ हजार ६४४ विद्यालयहरुको पुनर्निर्माण सम्पन्न भइसकेको छ। अब गुणस्तरीय शिक्षामा सबैको ध्यान जाने विश्वास लिएको छु”, प्रधानमन्त्री देउवाले भने। प्रधानमन्त्री देउवाले सामुदायिक विद्यालयहरुको गुणस्तर अभिवृद्धि गर्न सरकारले विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको र भविष्यमा थप कार्यक्रमहरु ल्याउने जानकारी पनि दिए।

उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले विपत्तिले अवसर पनि ल्याउने उल्लेख गर्दै जीर्ण भएका ललितपुरका दर्जनौं विद्यालय भवनहरुको पुनर्निर्माण भएकोमा खुशी व्यक्त गरिन्। मन्त्री भुसालले शिक्षाको गुणस्तर वृद्धिमा ध्यान दिन सुझाव पनि दिइन्।  

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणका क्रममा भूकम्प प्रभावित जिल्लाहरुमा भूकम्प प्रतिरोधी तथा सुविधा सम्पन्न विद्यालय निर्माण भएको उल्ल्ेख गर्दै पुनर्निर्माणका क्रममा भूकम्प प्रतिरोधी प्रविधि जनतासम्म पुगेको बताए। ज्ञवालीले पुनर्निर्माणका मूलभूत कामहरु सम्पन्न भएको, केही कामहरु आजैबाट सम्बन्धित निकायमा हस्तान्तरण हुने जानकारी पनि गराए। उक्त पुनर्निर्मित विद्यालयमा १८ वटा कक्षाकोठा, विज्ञान प्रयोगशाला, पुस्तकालय, कम्प्युटर कक्षलगायत छन्।

जापान सरकारको ऋण सहयोगमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले उक्त विद्यालयको पुनर्निर्माण गरेको हो। विद्यालयको लागत रकम भ्याटबाहेक १२ करोड ३० लाख रुपैयाँ छ। २००८ सालमा स्थापना भएको विद्यालयमा हाल ९७२ छात्र तथा ५२२ छात्रा अध्ययन गरिरहेका छन्। त्यसैगरी, दृष्टिविहीन २० छात्रा तथा १७ छात्रका लागि आवाससहित अध्ययनको सुविधा छ। 

प्रकाशित: ३० भाद्र २०७८ १३:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App