४ वैशाख २०८१ मंगलबार
शिक्षा

कक्षा १२ को परीक्षा तयारीमा विद्यालय

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि पूर्ण रूपमा विद्यार्थीको भौतिक उपस्थितमै सञ्चालन गर्न निर्देशन दिएसँगै विद्यालयहरूले परीक्षाको तयारी गर्न थालेका छन्। वैशाखमा हुनुपर्ने परीक्षाको कोर्ष फागुन चैतमै सकेको थियो। कोरोना उच्च जोखिमका कारण सरेको परीक्षा चाार महिनापछि साउन ३१ गतेदेखि सञ्चालन हुने तय भएको छ।  

परीक्षा साउन ३१ गतेदेखि सञ्चालन हुने भएपछि विद्यार्थीहरूलेनै आफुले अध्ययन गरेका विषयवस्तुहरू लेख्ने र पढ्ने बानी बिर्सेको भन्दै विद्यालयहरूमा पुनःतयारीको दबाब दिएपछि विद्यालयहरूले सोमबारदेखि विद्यार्थीलाई विद्यालयमै बोलाएर कक्षा १२ को प्रि–बोर्ड परीक्षा सञ्चालन गरेका छन्।  छाउनीमा रहेको काठमाडौं भ्याली स्कुल कलेजमा सोमबार पुग्दा विद्यार्थीहरू स्वास्थ्य सुरक्षाको मापदन्ड पूर्ण रूपमा पालना गरी प्रि–बोर्ड परीक्षाका लागि पुगेका थिए। 

विहानै सवेरै परीक्षाको तयारीकोलागि प्रि–बोर्ड परीक्षामा सहभागिता जनाउँन पुगेका विद्यार्थीहरू मास्क, स्यानिटाइजर, फेससिल्ड लगाएतका सम्पूर्ण मापदन्ड पालना गरेका थिए। मनमा कोरोनाको त्रास भए पनि आफ्नो परीक्षा ढिलाइ कारण भविष्य नै अन्योलमा परेकोले भौतिक उपस्थितमै स्वास्थ्य सुरक्षाको मापदन्ड पालना गरेर परीक्षा दिन पाउदा खसी लागेको सुनाए । यति मात्र होइन प्रि–बोर्ड परीक्षाले विर्सेका विषयवस्तुहरू ताजा हुने विद्यार्थीहरूको भनाइ थियो।

‘आज सोमबार अंग्रेजी विषयको परीक्षा हो। धेरैपछि हामीले घरमा परीक्षाका लागि भनेरै अध्ययन गर्न पाउँदा आफूले पहिले पढेको सबै बिर्सेको जस्तो पो महसुस भयो,’ म्याली भ्यु स्कुल परीक्षामा सहभागी एक विद्यार्थीले नागरिकसँगको भेटमा भने, ‘तीन घन्टाको परीक्षामा लेख्ने बानीसमेत छुटिसकेको मलाई महसुस भयो। स्कुलले लिएको प्रि–बोर्ड परीक्षाले कम्तीमा साउन ३१ गतेको फाइनल बोर्ड परीक्षाको लागि भने तयारी गराएको हामीलाई महसुस भयो।’ यति मात्र होइन परीक्षा बोर्डले साउन अघिनै कक्षा ११को अन्तिम परीक्षासमेत सक्न निर्देशन दिएपछि विद्यालयहरू कक्षा १२ को प्रि–बोर्ड साथै कक्षा ११को परीक्षा पनि सकाउने तरखरमा लागेका छन्।  

परीक्षा बोर्डले कोरोना जोखिम उच्च भएकोले यसपटक कक्षा १२को परीक्षा भौतिक उपस्थितमै भए पनि होम सेन्टरबाटै सञ्चालन गर्ने निर्देशन दिएको छ।  भ्याली भ्यु स्कुलका सञ्चालक प्राचार्य स्वागत श्रेष्ठले बोर्डको निर्देशनअनुसार स्वास्थ्य सुरक्षाको पूर्ण मापदन्ड अपनाएरै कक्षा १२ को प्रि–बोर्ड परीक्षा सञ्चालन गरेको जनाए। उच्च शिक्षा तथा विद्यालय सञ्चालक संघका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठका अनुसार धेरै विद्यालयहरूले बोर्ड परीक्षाको तयारीको लागि प्रि–बोर्ड परीक्षा सञ्चालन गरीरहेका छन्  ‘हाम्रो स्कुलमा कक्षा ११ र १२ को गरी कुल २ सय विद्यार्थी छन्। 

हामीले विहान र दिउँसो गरी दुई सिफ्टमा परीक्षा सञ्चालन गरेका हौं,’ वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने, ‘कक्षा १२मा ५ विषयमा मात्र भएकोले आइतबारदेखि पाँच दिनभित्र परीक्षा सकेर विद्यार्थीलाई मुख्य विषयको तयारी गराइनेछ। साथै कक्षा ११ को पनि परीक्षा साउनभित्र सक्ने हो।’हिसानका केन्द्रीय सचिव रामहरि सिलवाल पनि कोटेश्वरमा रहेको हिमालयन कलेजका सञ्चालक हुन्। उनले पनि विद्यार्थीहरूले मुख्य विषयहरू गणि, विज्ञान, अंगैजी, अर्थशास्त्रलगायतका विषयहरू अनलाइनबाट राम्ररी बुझन नसकेकोले विद्यालयमा उपस्थित भएर सिक्ने दबाब दिएपछि विद्यालयमै बोलाएर तयारी गराइरहेको जनाए।

‘विद्यालयहरू विभिन्न वैकल्पिम माध्यम प्रयोग गरी कक्षा त लिए तर कक्षा कति प्रभावकारी नरहेको त्यो भौतिक उपस्थितबाट परीक्षा लिने निर्देशन आएपछि थाह भयो,’ सचिव सिलवालले भने, ‘धेरै विद्यालयका विद्यार्थीहरूले मुख्य विषयहरूमा राम्ररी बुझेकै छैनन्। अब उनीहरूले ति विषयहरू विद्यालयमै आएर परीक्षा अगावै पुन अध्ययन गर्ने दबाब दिएपछि हामीले शिक्षकलाई विद्यालयमै बोलाएर विद्यार्थीको पुनः तयारी  गराइरहेका छौं।’  

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले यस पटक प्रश्नपत्र अनलाइन र अफ लाइन दुवै माध्यमबाट पठाइने जनाए। अनलाइन पहुँच भएका केन्द्रहरूमा परीक्षाकै दिन प्रश्नपत्र इमेल वा अन्य विद्युतीय माध्यमबाट पठाइने व्यवस्था गरिएको उनले जनाए। ‘परीक्षार्थीलाई सरकारले परीक्षाअगावै कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न बोर्डले शिक्षा मन्त्रालयमार्फत स्वास्थ्य मन्त्रालयसमक्ष अनुरोध लेखि पठाएको छ,’ अध्यक्ष पौडेलले नागरिकसँग भने, ‘दुर्गमका परीक्षा केन्द्रहरूमा छापिएका प्रश्नपत्र नै पठाइने व्यवस्था बोर्डले गरेको छ। 

परीक्षा हलमा पनि एउटा बेञ्चमा एक जना विद्यार्थी मात्र बस्ने व्यवस्था गरिएको छ। कोभिडका कारण परीक्षा दिन नसक्ने विद्यार्थीलाई प्रमाणको आधारमा पुनः परीक्षाको व्यवस्था गरिएको छ।’ देशभरि चार हजार ३ सय ३५ माध्यामिक विद्यालयहरूमा कक्षा ११ र १२ चलेका छन्। त्यही भएर यस पटक चार हजार तीन सय ३५ परीक्षा केन्द्र तोकिएको छ। ‘शतप्रतिशत नम्बरका लागि लिखित परीक्षा हुन्छ,’ अध्यक्ष पौडेलले भने, ‘२५ नम्बरको प्राक्टिल विद्यालयलेनै लिन्छ। यसपटक कोरोना जोखिमका कारण होम सेन्टर तोकिएपछि परीक्षालाई थप मर्यादित र व्यवस्थित गर्ने कामका लागि जिल्लाका जिल्ला प्रमुखहरूको संयोजकत्वमा रहेको परीक्षा समन्वय समितिलाई थप जिम्मेवार बनाइएको छ। 

प्रकाशित: १२ श्रावण २०७८ ००:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App