८ वैशाख २०८१ शनिबार
शिक्षा

बिहीबारदेखि विद्यालय बन्द, बैशाख १४ गतेदेखि बार्षिक परीक्षा

धरान उपमहानगरपालिका क्षेत्रका सम्पूर्ण विद्यालय बिहीबारदेखि बन्द गरिने भएका छन् । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले बैशाख मसान्तसम्म विद्यालयमा बन्द गर्ने निर्णय गरेपछि मंगलबार शिक्षा क्षेत्रका सरोकारवालाहरुसँग छलफल गरेर धरान उपमहानगरले बिहीबारदेखि विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।

भोलि (बुधबार) एक दिन भने विद्यालय खोल्ने र विद्यार्थीहरुलाई स्वास्थ्य मापदण्ड र बार्षिक परीक्षाबारे जानकारी दिइने निर्णय गरिएको शिक्षा महाशाखाका प्रमुख रत्न कटवालले जानकारी दिए । ‘बिहीबारदेखि विद्यालयहरु पुर्ण रुपमा बन्द हुन्छन् । भोलि एक दिन बार्षिक परीक्षा, सरकारको स्वास्थ्य प्रोटोकलबारे विद्यार्थीलाई अभिमुखीकरण गराउनको लागि स्कुल खोल्ने निर्णय भएको छ,’ कटवालले भने ।

पछिल्लो समय नेपालमा नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमण देखिएको छ भने मृत्यु दर पनि बढेको छ । साथै, विद्यार्थीहरुमा समेत संक्रमण हुन थालेपछि सरकारले भिडभाड हुने विद्यालय, सिनेमा हललगायत विभिन्न क्षेत्रहरु बन्द गर्ने निर्णय गरेको थियो । सोही निर्णयलाई कार्यान्वयन गर्न मंगलबार धरान उपमहानगरले विद्यालयहरु बिहीबारदेखि बन्द गर्ने निर्णय गरेको हो ।

बैठकले बैशाख १४ गतेदेखि बार्षिक परीक्षा शुरु गरेर २४ गतेभित्र सम्पन्न गर्ने निर्णय समेत गरेको निजी विद्यालयको एरिया कोअर्डिनेसन कमिटी(एसिसि)का संयोजक राजेन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार बार्षिक परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्ने निर्णय भएको छ । ‘परीक्षा वैकल्पिक विधिबाट गर्ने भनेका छौं । विद्यार्थीहरुलाई डबल सिफ्ट गरेर, भौतिक दूरी कायम गरेर वा भर्चुअल पनि परीक्षा लिन सक्छौं, तर सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकल सबै पूरा गरेर नै गछौं,’ उनले भने ।

सुनसरीमा यसअघि नै जिल्ला सदरमुकाम इनरुवामा विद्यालयहरु बन्द भइसकेका छन् । विद्यार्थीहरुमा संक्रमण देखिन थालेपछि अनिश्चित कालको लागि इनरुवामा विद्यालय बन्द गर्ने निर्णय नगरपालिकाले गरेको छ ।

मापदण्ड पालना गराएर परीक्षा गराउने निर्णय

मंगलबार नै प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा बसेको डिसिसिएमसीको बैठकले विद्यालय र कलेजका पूर्व निर्धारित परीक्षा तथा चिकित्सा शिक्षाका सबै प्रयोगात्मक कक्षाहरु जनस्वास्थ्यको मापदण्ड पालना गरेर सञ्चालन गर्ने निर्णय गरेका छ ।

यस्तै, जिल्लाको सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, हेल्थ क्लब, जिमखाना, खेलकुदलगायत भिडभाड हुने क्षेत्र तथा कार्यक्रमहरु पनि बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

मठमन्दिर, मज्जिद, गुम्बा, चर्चलगायत धार्मिक स्थलहरुमा जनस्वास्थ्यको मापदण्ड पालना गर्ने गरी बैशाख मसान्तसम्म नित्य पुजा, ध्यान र प्रार्थना मात्र गर्ने तथा गराउने निर्णय गरेको प्रजिअ ढकालले जानकारी दिए । यस्तै, कार्यालय र पसल जस्ता सार्वजनिक स्थलहरुमा सेनिटाइजर र मास्कको प्रयोग अनिवार्य गर्ने, मास्क नलगाउनेलाई प्रवेश गर्न नदिने निर्णय पनि डिसिसिएमसि बैठकले गरेको छ ।

प्रकाशित: ७ वैशाख २०७८ १३:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App