दैलेख, भदौ २४ - जिल्ला शिक्षा कार्यालय दैलेखले यसै शैक्षिक वर्षदेखि जिल्लाको रतिखोला स्रोत केन्द्रअन्तर्गतका ३२ प्राथमिक विद्यालयमा थप ऐच्छिक बिषयको रूपमा आलु खेतीसम्बन्धी नियमित कक्षा सञ्चालन गर्ने भएको छ।
त्रिचालीसौँ अन्तरराष्ट्रिय साक्षरता तथा राष्ट्रिय शिक्षा दिवसका अवसरमा जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलले रतिखोला स्रोत केन्द्रका लागि तयार पारिएको १०० पूर्णांकको आलु खेती पाठ्यपुस्तक विमोचन गर्दै सो जानकारी दिए।
रतिखोला स्रोत केन्द्रका स्रोत व्यक्ति देवकुमार बीसीले लेख्नु भएको सो पाठ्यपुस्तक त्यस स्रोत केन्द्रअन्तर्गतका सबै प्राथमिक विद्यालयहरूमा अध्यापन गर्ने शिक्षक-शिक्षिका उपलब्ध रहेको विद्यालय निरीक्षक महेशकेसर खनालले बताए।
जिल्ला शिक्षा कार्यालय दैलेखले अघिल्लो शैक्षिक वर्षदेखि दुल्लू स्रोत केन्द्रअन्तर्गतका ५२ प्राथमिक विद्यालयमा सुन्तला खेती पाठ्यक्रम लागु भएको छ।
जिल्ला शिक्षा अधिकारी पौडेलले जिल्लाका अरु स्रोत केन्द्रमा पनि स्थानीय पाठ््यक्रम तयार गर्ने काम भइरहेको बताए।
त्रिचालीसौँ अन्तरराष्ट्रिय साक्षरता तथा राष्ट्रिय शिक्षा दिवसका अवसरमा जिल्ला शिक्षा कार्यालयले २०६४ र २०६५ मा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त १५ जना, १२ स्रोत केन्द्रका १२ जना शिक्षक-शिक्षिकालाई सम्मान कार्यक्रम र गुणस्तरीय शिक्षा बनाउन हाम्रो भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो। रासस
प्रकाशित: २४ भाद्र २०६६ ०२:०१ बुधबार





