४ चैत्र २०८२ बुधबार
image/svg+xml
शिक्षा

शुल्क घटाएपछि विश्वविद्यालयको ताला खुल्यो

कलेन्द्र सेजुवाल, सुर्खेत, चैत ८ - मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा करिब तीन महिनादेखि लागेको ताला हिजो खुलेको छ। विश्वविद्यालय पदाधिकारी र आन्दोलनरत विद्यार्थीबीच शुल्क घटाउनेलगायत बुँदामा सहमति भएपछि ताला खुलेको हो।  
सहमतिको पहिलो बुँदामा मानविकी, व्यवस्थापन र शिक्षाशास्त्र संकायको साधारणतर्फको शुल्क घटाउने सहमति भएको छ। स्नातक तहमा मासिक ३ सय र स्नातकोत्तरतर्फ मासिक ६ सय रुपैयाँ कायम गरिएको सहमतिमा उल्लेख छ।

दुवै तहमा एक/एक सय रुपैयाँ घटाई नयाँ शुल्क निर्धारण गरिएको हो। त्यस्तै, विज्ञान संकायतर्फको प्रयोगशाला धरौटी शुल्क २ हजारबाट १ हजार ५ सय रुपैयाँमा झारिएको वार्तामा सहभागी अनेरास्ववियुका जिल्ला अध्यक्ष डम्बर गरङ्जाले बताए।

नेपाल सरकारबाट स्वीकृत दरबन्दीमा एक हप्ताभित्र विज्ञापन आह्वान गर्ने र हालसम्म करारमा नियुक्त भएकाहरु पनि प्रतिस्पर्धामा आउनु पर्ने सहमति भएको छ। काठमाडौंमा रहेको विश्वविद्यालयको सम्पर्क कार्यालयको आकार सानो गरी केन्द्रीय कार्यालयबाटै विश्वविद्यालय सञ्चालन गर्ने निर्णय पनि भएको छ। बाह्र बुँदे सहमतिमा आगामी विश्वविद्यालयसभा सुर्खेतमा गर्ने, विद्यार्थी भर्नाको आधारमा निःशुल्क छात्रवृत्ति १२ प्रतिशत बनाउने, त्रिभुवन विश्वविद्यालयको सम्वन्धन प्राप्त वीरेन्द्रनगर बहुमुखी क्याम्पसका स्नातक र स्नातकोत्तर तहका विद्यार्थीको परीक्षा सञ्चालन, लव्धाङ्कपत्र वितरणलगायत काममा सहयोग गरी विश्वविद्यालयले विद्यार्थीको जिम्मा लिने निर्णय भएको छ।

वार्तामा सहभागी विश्वविद्यालयका डीन पीताम्बर ढकालले वार्तापछि विश्वविद्यालयको गति अघि बढ्ने बताए। 'विद्यार्थीलगायत विभिन्न पक्षको आन्दोलनबाट प्रभावित विश्वविद्यालय अब आफ्नो गतिमा हिँड्छ,' उनले भने, 'सबैको सहयोग भएमा लामो संघर्षपछि स्थापित विश्वविद्यालय सफल हुन्छ।'

प्रकाशित: ७ चैत्र २०६९ १२:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App