६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
शिक्षा

डीएसपीबाट परिक्षार्थी कुटिए

महेश्वर चामलिङ राई, उदयपुर, चैत २- बिहीबारदेखि सुरु एसएलसी परीक्षा अनुगमनका क्रममा जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले ज्यामिरेझोर उमावि हडिया परीक्षा केन्द्रका एक परिक्षार्थीलाई कुटपिट गरेको गुनासो आएको छ।

चौडण्डीस्थित सारदा माध्यामिक विद्यालय चौदण्डीबाट परीक्षामा सहभागी उत्तम राईलाई चिट चोरेको आरोप लगाउँदै परीक्षा हलभित्र पसेर प्रनाउ श्रेष्ठले गालामा थप्पड हानेको एक प्रत्यक्षदर्शीले बताएका छन्। कुटपिटपछि आफुले गल्ती नगरेको भन्दै याचना गर्दा राईलाई परीक्षा हलबाट बाहिर निकाली आधा घण्टासम्म उभ्याएर अनुसन्धान गरेको र अनुसन्धानमा उनी निर्दोष रहेको पाइएपछि पुनः परीक्षा हलमा प्रवेश गराइएको थियो।

विनाकारण कुटाइ खानुपर्दा राई हतोत्साही भएर लेख्‍नै नसकेको चौदण्डी उमाविका प्रधानाध्यापक तारा कटुवालले बताए। बाहिर उभ्याएर हलमा पठाइएका राईले त्यसपछि राम्ररी लेख्‍न नसकेको उनले बताए। 'उत्तम अत्यन्तै सोझो र इमान्दार विद्यार्र्थी हुन्' प्रअ कटुवालले भने 'विनाकारण कुटाई खानुका साथै आधाघन्टासम्म उभ्याएर मानसिक यातना दिँदा उनी अत्यन्तै चिन्तित र हतोत्साहित भएर लेख्‍न सकेनन्।' प्रहरीले अनुगमन गर्ने र विवाद भए कारबाहीका लागि पक्राउ गर्नुपर्नेमा आफैले चिट भए नभएको खोज्ने गरेर विद्यार्थीको मनोबल घटाउने गरेको गुनासो एक निरीक्षकले गरे।
केन्द्राध्यक्ष चन्द्रनाथ झाले परीक्षा अनुगमन गर्ने क्रममा प्रनाउ श्रेष्ठले राईको कापीमा चिट भेटिएपछि सामान्य सोधपुछ गरेको तर, कुटेको थाहा नपाएको बताए। भेटिएको चिट दिन नमानेकाले उनलाई बाहिर निकालेर डिएसपीले आफूकहाँ बुझाएको र जिशिअसहितको अनुगमन टोलीले अनुसन्धान गर्दा चिट भेटिएपनि नसारेको र प्रश्‍नसँग पनि भेल नखाएको पाइएपछि परीक्षाहलमा पुन पठाएर लेख्न लगाएको झाले बताए।
जिल्ला शिक्षा अधिकारी दीर्घध्वज चापागाईले राईलाई चिट चोरेको आरोपमा कक्षाकोठाबाट बाहिर निकालेर अनुसन्धान गरी केहीबरपछि हलमा प्रवेश गराइएको स्वीकारे। तर, अनुगमनका लागि गएको टोलीमा आफु पनि सँगै रहेकाले कुटपिट गरेको चाही आफूले नदेखेको चापागाईको भनाई छ। यसबारे बुझ्न खोज्दा प्रनाउ श्रेष्ठसँग भने सम्पर्क हुन सकेन।

प्रकाशित: २ चैत्र २०६९ ०८:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App