८ वैशाख २०८१ शनिबार
शिक्षा

शिक्षकलाई सिर्जनशील बनाउने अभियान प्रबोधीकरण कार्यक्रम

कोरोना भाइरसका कारण आएको असहजताले विद्यार्थीको पढाईं अन्यौल भइरहेका बेला शिक्षकलाई भने सिर्जनशील र नवप्रवर्तनात्मक ढंगले अघि बढाउने योजना राखेर मोरङमा तीन दिवसीय प्रबोधीकरण कार्यक्रम भएको छ।  

मोरङ सुन्दरहरैँचास्थित सुकुना बहुमुखी क्याम्पसद्वारा कक्षा ११ र १२ को पाठ्यक्रममा आधारित भएर शिक्षकलाई विद्यार्थीको सिकाईं कसरी प्रभावकारी बनाउने? भन्ने सवालमा पाठ्यक्रमबारे प्रबोधीकरण कार्यक्रम गरिएको हो।  

नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, पाठ्यक्रम विकास केन्द्रले माध्यमिक शिक्षा पाठ्यक्रम, २०७६ तर्जुमा गरी शैक्षिक सत्र २०७७ देखि कक्षा १ र कक्षा ११ मा, २०७८ देखि कक्षा २, कक्षा ३ कक्षा, कक्षा ६ र १२ मा, २०७९ देखि कक्षा ४, कक्षा ७ र कक्षा ९ मा र २०८० देखि कक्षा ५, कक्षा ८ र कक्षा १० मा नयाँ पाठ्यक्रम लागू गर्ने भनी कार्यान्वयनमा ल्याएको छ।

अहिलेको कोरोनाको महामारीले नेपालका शैक्षिक संस्था, प्राज्ञिक गतिविधि र हाम्रो जीवन पद्धतिलाई नै नकारात्मक प्रभाव पारिरहेको यस प्रतिकूल अवस्थामा शिक्षकलाईं थप सृजनशील बनाउनका लागि प्रबोधीकरण कार्यक्रम गरिएको हो। भर्चुअल माध्यमबाट कक्षा ११ र १२ का अनिवार्य विषयहरू अंग्रजी, सामाजिक शिक्षा तथा जीवनोपयोगी शिक्षा र नेपाली पाठ्यक्रमको प्रबोधीकरण कार्यक्रम गरिएको छ।

सो क्रममा पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरका अंग्रेजी विषयका विज्ञ शंकर अधिकारीले पाठ्यक्रमका विषयवस्तु, पाठ्यवस्तु, शिक्षण विधि र मूल्यांकन विधिका विषयमा प्रस्तुतीकरण गरे। त्रिभूवन विश्वविद्यालय कीर्तिपुर केन्द्रीय क्याम्पसका अंग्रेजी विषयका विज्ञ प्राध्यापक डाक्टर बालमुकुन्द भण्डारीले भाषिक सक्षमताका क्षेत्र र शिक्षण तथा मूल्यांकन विधिका विषयमा प्रस्तुतीकरण गरे। यस्तै, सुकुना बहुमुखी क्याम्पसका उपप्राध्यापक गुणराज नेपालले अंग्रेजी भाषामा सिर्जनात्मक तथा समालोचनात्मक साहित्यिक विषयवस्तुको प्रयोग तथा यसका चुनौतीहरूका विषयमा प्रस्तुतीकरण गरे।

कार्यक्रमको पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरका निर्देशक गणेशप्रसाद भट्टराईले पाठ्यक्रम तर्जुमाका प्रक्रिया, चरण र कार्यान्वयनका लागि अवलम्बन गर्नुपर्ने उपायहरूका विषयमा प्रतुतीकरण गरे। पाठ्यक्रम विकास केन्द्रका सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयका विज्ञ हेमराज खतिवडाले सो विषयका अवयवहरू, पाठ्यक्रम कार्यान्वयन, शिक्षण तथा मूल्यांकन विधिका विषयमा प्रस्ट्याए। सुकुना बहुमुखी क्याम्पसका अनुसन्धान व्यवस्थापन एकाइका प्रमुख तथा उपप्राध्यापक गणेशप्रसाद दहालले सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाका उद्भव, सिद्धान्तहरू, आश्यकता, चुनौतीहरू र कार्यान्वयनका लागि सुझाव तथा समालोचनात्मक टिप्पणी गरे।  

कार्यक्रममा पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरका नेपाली विषयका विज्ञ इन्दु खनालले अनिवार्य नेपाली विषयको पाठ्यक्रमका अंगहरू, शिक्षण तथा मूल्यांकन विधि, चुनौतीहरू र पाठ्यपुस्तको समीक्षा गरिन्। यही क्रममा त्रिवि कीर्तिपुर केन्द्रीय क्याम्पसका प्राध्यापक डाक्टर रमेशप्रसाद भट्टराईले भाषा शिक्षणका सिद्धान्त, रणनीति, पाठ्यक्रम कार्यान्वयनको तरिका र चुनौतीको सूक्ष्म विश्लेषण गरे। सुकुना बहुमुखी क्याम्पसका उपप्राध्यापक दीपकप्रसाद न्यौपानेले पाठ्यक्रमको झलकसहित पाठ्यक्रम र पाठ्यपुस्तकको समीक्षा गरे।

कार्यक्रममा प्रदेश नं. १ र २ मा कक्षा ११ र १२ का शैक्षिक कार्यक्रम सञ्चालन गरेका सबै विद्यालय र क्याम्पस तथा अन्य प्रदेशका शैक्षिक संस्थाहरूलाई पनि प्रतिनिधिमूलक रूपमा सहभागी गराइएको थियो। कक्षा ११ र १२ मा अंग्रजी, सामाजिक शिक्षा तथा जीवनोपयोगी शिक्षा र नेपाली अध्यापन गर्ने तीन–तीन सय शिक्षक सहभागी भएको जानकारी दिइयो।

प्रकाशित: २३ कार्तिक २०७७ १३:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App