जुम्ला गुठिचौर गाउँपालिका गाउँकार्यपालिका सदस्य जनक थकालीले आफ्नो सेवा सुविधा स्वरुप आउने रकम विद्यालयमा लगानी गरेका छन्। उनले विद्यालयमा फर्निचर किनिदिएका हुन्। गाउँपालिका भित्र रहेका सबै विद्यालयमा गरेर १ सय ४० फर्निचर निर्माण गरेका छन्।
कोरोना भाइरसका कारण फर्निचर तयारी अवस्थामा रहेपनि विद्यालय सम्म पुर्याउन सकिएको छैन्। विद्यालय खुल्ने वित्तिकै सबै विद्यालयमा एकमुष्ट प्रदान गर्ने कार्यपालिका सदस्य थकालीले बताए। उनले पाँच बर्षमा आउने सबै सेवा सुविधाको रकम विद्यालयमा लगानी गरेका हुन्। सेवा सुविधा र आफ्नो व्यक्तिगत रकमसमेत फर्निचरमा लगाएका छन्।
दुर्गमका विद्यालयमा प्राय फर्निचरको अभाव देखिन्छ। आवश्यक फर्निचर नहुँदा भुईमा बस्नु परेको र खुला आकाशमा ढुंगामा बस्नु परेको अवस्था देखेर विद्यालयमा फर्निचर बनाइदिएको कार्यपालिका सदस्य थकाली बताउँछन्। उनले भने,‘ शिक्षामा हामीले लगानी नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने। रकम त कमाउन सकिएला तर समाजमा सेवा गर्ने अवसर संधै आउँदैन्। ’
उनी मनोनित कार्यपालिका सदस्य हुन्। खड्कदेवी मावि मणिसाँघुका अध्यक्ष अर्जुन महतारा शिक्षा क्षेत्रमा कार्यपालिका सदस्य जनक थकालीले गरेको लगानी प्रसंसनीय रहेको बताउँछन्। उनले भने, ‘जनप्रतिनिधि धेरै छन्। तर स्थानीय आवश्यकता र माग बुझ्न जनप्रतिनिधि जनक मात्र हुन्। उनी गाउँमा समस्या पर्दा सारथी बनेर आउँछन। शिक्षामा लगानी गरेर बालबालिकाको भविष्य निर्माणमा लागेका छन्। ’
फलामका डेस्क, बेन्च निर्माण भइसकेका छन्। विद्यालय खुल्ने वित्तिकै प्रत्येक विद्यालयमा पठाइनेछ।स्थानीय सरकारले गर्न नसकेको काम थकालीले एक्लैले गरेको प्रति स्थानीय उत्साहित छन्। आफ्नोे गाउँको विद्यालयमा थकालीले धेरै लगानी गरेका छन्। पटक पटक आर्थिक सहयोग गर्दै आइरहेका थकालीले विद्यार्थी, अभिभावक र शिक्षकको हौसला बढाउन प्रोत्साहन गर्दै आइरहेका छन्।
आफ्नो व्यापार व्यवसाय र जनप्रतिनिधिको सेवा सुविधा बापत आएको रकम सामुहिक कार्यमा लगानी गर्नु निकै राम्रो कार्य भएको स्थानीय बताउँछन्। स्थानीय कमानसिंह ऐडी भन्छन्,‘कठिन समयमा भरोसा हुन जनक। जनताका असल प्रतिनिधि हुन्। शिक्षा, स्वास्थ्य क्षेत्रका सुधारक र आम गुठिचौरबासीका आँखाको नानी पनि। ’
जुम्ला एक नगरपालिका ७ गाउँपालिकाका ६० वडा वडा छन्। यी सबै गाउँपालिका वडाका जनप्रतिनिधिमा उनी निकै फरक स्वभावका छन। मसंग कुनै स्वार्थ छैन्,‘थकाली भन्छन्,‘ आफ्नो क्षेत्रमा विकास होस् र समृद्धिका लागि मात्रै हो।’ थकालीले यसअघि गुठिचौर गाउँपालिका १ र २ का ९ सय घरपरिवारलाई २० केजी चामल र एक पोका तेल राहत दिएका थिए।
दुर्गममा अहिले पनि सडक पुग्न सकेको छैन्। पुगेका सडक स्तरउन्नती हुन सकेका छैनन्। कैयन ठाउँमा शिक्षक पुग्न सक्दैनन। पठनपाठनका सामाग्री पुग्दैन्।आवश्यक फर्निचर अभावले विद्यालय जान बालबालिका मान्दैनन्। अभावैअभावले बालबालिका विद्यालयमा नजाने अवस्था छ। शिक्षामा लगानी गरेर विद्यार्थी विद्यालयमा आउन उत्सुक हुने वातावरण बनाउन चाहान्छौँ। ’
प्रकाशित: ३ कार्तिक २०७७ ०५:४९ सोमबार





