coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

प्राध्यापक कुटेर गुरुदक्षिणा ! बदनाम बन्दै त्रिविका विद्यार्थी

कुटपिटबाट घाइते उपप्राध्यापक डा. प्रेम चलाउने।

ख्यातिप्राप्त अन्तर्राष्ट्रिय विश्वविद्यालयका प्राध्यापकलाई ज्ञान र विवेकको मार्गमा सर्वेसर्वा मानिन्छ । विश्वविद्यालयको प्राज्ञिक वातावरणमा प्राध्यापक र विद्यार्थीले सुन्दर भविष्यलाई आकार दिइरहेका हुन्छन् । मुलुककै जेठो र सम्मानित त्रिभुवन विश्वविद्यालयमा भने विद्यार्थीले प्राध्यापकलाई सम्मानित गर्नुको साटो उल्टै कुटेर ‘गुरुदक्षिणा’ को कुपरम्परा बसालेका छन् । कहिले विश्वविद्यालयका उपकुलपतिलाई मोसो दल्ने त कहिले आफैंलाई पढाउने शिक्षकमाथि हातपात गर्न थालेपछि त्रिविका विद्यार्थी बदनाम बन्दै गएका छन् ।  

त्रिवि परिसरमा मंगलबार बिहान विभागीय प्रमुख नियुक्तिको विषयलाई लिएर विद्यार्थीबाटै शिक्षक पिटिएका छन् । समाजशास्त्र केन्द्रीय विभाग, कीर्तिपुरका उपप्राध्यापक डा. प्रेम चलाउनेलाई विश्वविद्यालयकै विद्यार्थीको एक समूहले रड र भाटाले निर्मम कुटपिट गरेका हुन् । कुटपिटबाट उनको हात, खुट्टा भाँचिएको छ भने टाउकोमा गहिरो चोट लागेको छ । चलाउनेको बुधबार ललितपुरको मेडिसिटी अस्पतालमा खुट्टाको शल्यक्रिया भएको छ । विद्यार्थीले चलाउनेलाई निर्मम तरिकाले कुटपिट गरेको सोही विभागका अर्का उपप्रध्यापक डा. जिएस खत्रीले बताए ।  

समाजशास्त्र केन्द्रीय विभाग, कीर्तिपुरमा प्रमुखको नियुक्तिलाई लिएर नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले तालाबन्दी गर्दै आएको छ । प्रशासनले प्रहरी लगाएर ताला फोड्ने र नेविसंघले फेरि लगाउने प्रक्रिया केही महिनादेखि चल्दै आएको छ । साढे तीन महिनाअघि तत्कालीन विभागीय प्रमुख टीकाराम गौतमको तीनमहिने कार्यकाल सकिएपछि त्रिवि कार्यकारी परिषद्ले सहप्राध्यापक डा. युवराज लुइँटेललाई चारवर्षे कार्याकालका लािग प्रमुख तोकेका थिए । लुइँटेलअघिका गौतम कांग्रेसनिकट हुन् । गौतमलाई हटाएको विरोधमा हरि आचार्य नेतृत्वको नेविसंघले विभागमा तालाबन्दी गरेको थियो । डेढ महिनापछि भदौ १ गते प्रहरी लगाएर ताला खोलिएको प्रमुख लुइँटेलले बताए । ताला खोलेलगत्तै आचार्य नेतृत्वका विद्यार्थीले फेरि लगाए । विद्यार्थीले ताला खोले हात काटिदिने धम्कीसहितको विज्ञप्ति टाँस गरी ताला लगाएको लुँइटेलको भनाइ छ । ‘नेविसंघले कांग्रेसनिकट नै विभागीय प्रमुख हुनुपर्ने माग राख्दै तालाबन्दी गरेको र ताला खोले हात काटिदिने विज्ञप्ति टाँसेको छ,’ विभागीय प्रमुख लुइँटेलले भने, ‘मलाई त्रिवि कार्यकारी परिषद्ले वरिष्ठता, योग्यता र क्षमताका आधारमा नियुक्त गरेको हो । असोज १९ गते फेरि हामीले प्रशासन लगाएर ताला खोल्यौं । २० गते चलाउने सरमाथि विद्यार्थीले आक्रमण गरे ।’ उनका अनुसार पाँच दिनदेखि उपप्राध्यापक चलाउनेको टिमले समस्या समाधानका लागि नेविसंघसँग वार्ता गरे पनि निष्कर्ष ननिस्कँदै हातपात भएको हो । उपप्राध्यापक खत्रीले विश्वविद्यालय विधि र प्रणालीअन्तर्गत सञ्चालन हुन नसकेका कारण प्राध्यापक अपमानित हुँदै गएको बताए ।  

‘विद्यार्थीलाई बाटो देखाउने प्राध्यापकलाई नै विद्यार्थीले कुटपिट गरेका छन् । विद्यार्थीले प्राध्यापकलाई हातपात गरेर गुरुदक्षिणाको कुपरम्परा बसालेका छन् । योभन्दा निन्दनीय अरू के हुन सक्छ ?’ खत्रीले भने, ‘पार्टीका नेताको खल्तीबाट उपकुलपति, रेक्टर, रजिस्ट्रार नियुक्ति हुने र प्राध्यापक विद्यार्थी नेता सामुन्ने लम्पसार पर्ने कुरीतिकै परिणाम समस्या निम्तिएको हो ।’  

उनले आफूले फ्रान्समा विद्यावारिधि गर्दाको प्रसंग कोट्याउँदै भने, ‘त्यहाँ प्राध्यापक सम्मानित र विद्यार्थीको पठनपाठन र मूल्यांकनमा सर्वेसवा हुँदारहेछन् । उनीहरूको मूल्यांकन अन्तिम हुँदोरहेछ । प्राध्यापन विश्वमै बडो सम्मानित पेसा हो तर हामीकहाँ विश्वविद्यालयभित्रै प्राध्यापक कुटिन्छन्, अपमानित हुन्छन् ।’  

अन्तर्राािष्ट्रय विश्वविद्यालयहरूमा योग्यता, प्रतिस्पर्धा र क्षमताका आधारमा पदाधिकारी नियुक्ति हुने र विश्वविद्यालयभित्र कुनै पनि दलका शिक्षक ,कर्मचारी र विद्यार्थीको संगठन गठन गर्न नपाइने व्यवस्थाले पूर्ण प्राज्ञिक र मर्यादित वातावरण हुने खत्रीले बताए ।  

त्रिविमा अहिले नेपाली कांग्रेसका नेतापिच्छे नेवि संघका समिति छन् । कृष्ण सिटौला र गगन थापानिकट नेवि संघको नेतृत्व आचार्यले गरेका छन् । सम्झना खत्री विश्वविद्यालयमा आफूलाई आधिकारिक नेवि संघ मान्छिन् । त्यस्तै शेरबहादुर देउवा निकट जगदीश भट्ट र रामचन्द्र पौडेलनिकट श्यामचन्द्र अधिकारीले पनि आफूलाई आधिकारिक नेवि संघ भन्दै आएका छन् । ‘सबैभन्दा बढी अराजक गगनजी र सिटौलाजी निकट बताउने आचार्य नेतृत्वको नेविसंघ बन्दै गएको छ,’ वार्तामा सहभागी रहेका उप्राध्यापक खत्रीले भने, ‘आज नेवि संघका विद्यार्थी प्राध्यापक पिटे, भोलि सत्तासीन दल नेकपानिकट विद्यार्थीले प्राध्यापक कुट्लान् । यसले विश्वविद्यालयलाई शैक्षिक नभएर युद्ध मैदान बनाउनेछ ।’ विश्वविद्यालयमा राजनीतिक नियुक्ति र हस्तक्षेप नरोकेसम्म प्राध्यापक अपमानित हुने शृंखला नरोकिने उनको निष्कर्ष छ ।

त्रिभुवन विश्वविद्यालयका प्रवक्ता सूर्यप्रसाद अधिकारीले विद्यार्थीले प्राध्यापक कुट्नु् निन्दनीय भएको बताउँदै यसबारे प्रशासनले प्रहरीमा उजुरी गरिसकेको जानकारी गराए । यसैबीच नेपाल राष्ट्रिय प्राध्यापक संगठनले उपप्राध्यापक चलाउनेमाथि भएको आक्रमणको निन्दा गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ ।

प्रकाशित: २२ आश्विन २०७७ ०१:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App