विगतमा विश्वविद्यालय र शिक्षक कर्मचारीबीच विश्वविद्यालयभित्रकै शिक्षक तथा कर्मचारीलाई रजिस्ट्रार लगायत पदमा नियुक्ति गर्ने भएको सम्झौता कार्यान्वयनको माग गर्दै शिक्षक-कर्माचारी कामकाज ठप्प पारी विरोधमा उत्रेका छन्। १९ दिनदेखि आन्दोलनरत शिक्षक-कर्मचारी केन्द्रीय कार्यालयअगाडि धर्नामा छन्।
रजिस्ट्रार नियुक्तिका लागि उपकुलपति श्रेष्ठ प्रधानमन्त्रीकहाँ चार दिनदेखि धाइरहेका छन्। विश्वविद्यालय नियमअनुसार उपकुलपतिले तीन जनाको नाम रजिस्ट्रार पदका लागि सिफारिस गरी कुलपतिसमक्ष पेस गर्नुपर्छ। अनि कुलपतिले तिनैमध्ये एकलाई रजिस्ट्रार नियुक्त गर्नुपर्छ।
मंसिर १७ मा रजिस्ट्रार राजकुमार ठाकुरको ४ वर्षे पदावधि सकिएपछि उपकुलपति श्रेष्ठले आफ्नै विश्वविद्यालय प्राध्यापक संघका संजेशप्रसाद कोइराला, त्रिभुवन विश्वविद्यालय डिग्री क्याम्पस मोरङका शिक्षक रमेश दहाल र नेपाल इन्जिनियरिङ परिषदका पूर्व रजिस्ट्रार निरजराज पाण्डेलाई राजिस्ट्रारमा सिफारिस गरेका छन्।
'मैले विश्वविद्यालयको समस्याबारे प्रधानमन्त्रीलाई जनकारी गराइसकेको छु,' उपकुलपति श्रेष्ठले नागरिकसँग भने, 'विश्वविद्यायको शैक्षिक, प्रशासनिक र आर्थिक पक्षमा सुधार ल्याउन मैले योग्य र क्षमतावान व्यक्ति सिफारिस गरेको छु।'
उनले थपे, 'प्रधानमन्त्रीले दुई दिनभित्र रजिस्ट्रार नियुक्त गरी समस्या समाधान गर्छु भन्नुभएको छ।'
विश्वविद्यालयले २०६४ फागुनमा कर्मचारी र प्रध्यापकसँग विश्वविद्यालयमा पदाधिकारी तथा कर्मचारी नियुक्त गर्दा विश्वविद्यालयभित्रकै शिक्षक-कर्मचारीबाट लिनुपर्ने सम्झौता गरेको थियो।
त्यही सम्झौताअनुसार पछिल्लो समय तीन महिनाका लागि विश्वविद्यालयभित्रैका प्राध्यापक संजेशप्रसाद कोइराला र चार वर्षका लागि राजकुमार ठाकुर राजिस्ट्रार नियुक्त भएका थिए।
यता, आन्दोलनरत विश्वविद्यालय कर्मचारी संघका अध्यक्ष रुपेश बस्नेतले उपकुलपतिले सम्झौता विपरीत विश्वविद्यालयबाहिरको व्यक्तिको नाम सिफारिस गरी शिक्षक-कर्मचारीको मर्यादामा ठेस पुर्या एको बताए।
पूर्वाञ्चल प्राध्यापक संघका महासचिव कृष्ण पाण्डेले विश्वविद्यालयमा योग्य, सक्षम र क्षमतावान शिक्षक भएकाले उपकुलपतिले विश्वविद्यालयको रजिस्ट्रारमा भित्रकै शिक्षक नियुक्त गर्नुपर्ने बताए।
'बाहिरका प्रमुखमा नियुक्त हुँदा उनीहरूमा जागिरे मानसिकता पाइएको छ,' पाण्डेले नागरिकसँग भने, 'तिनले विश्वविद्यालयको शैक्षिक, आर्थिक र प्रशासनिक हितभन्दा व्यक्तिगत र समूहगत स्वार्थमात्र पूरा गरेको देखियो।'
उपकुलपतिले भने विश्वविद्यालयभित्रका शिक्षक राजिस्ट्रारका लागि योग्य नभएकाले बाहिरकालाई सिफारिस गरेको प्रतिक्रिया दिए।
प्रकाशित: २७ मंसिर २०६९ १२:३४ बुधबार





