१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

बेथानचोकमा एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी बन्दै

स्कुलमा पढाइ भइरहेकै बेलामा सामान्य टाउको दुखेमा, पेट दुखेमा विद्यार्थी घरै जानुपर्ने बाध्यता अझै पनि छ । यो समस्या नेपालका अधिंकाश सामुदायिक विद्यालयका विद्यार्थीले भोग्नुपरेको छ । केही वर्ष अघिसम्म काभ्रेको बेथानचोक गाउँपालिका वडा नं. २ ढुंखर्कमा रहेको पार्वती माविका विद्यार्थीले पनि यस्तै समस्या भोगेको थिए । तर बाग्मती सरकारले संचालन गरेको एक विद्यालय एक नर्स कार्यक्रम त्यहाँ पुगेपछि भने त्यो समस्यामा कमी आएको विद्यालयको जानकारी छ ।  

केही वर्ष अघिसम्म विद्यालयका अधिकांश विद्यार्थीलाई पेट दुख्ने समस्या थियो । पेट दुखेकै कारण पढाइ बीचमै छाडेर घर जाने गर्थे । त्यस्तै विद्यार्थीलाई सामान्य घाउचोट लाग्यो भने स्वास्थ्य चौकी र अस्पताल दौडाउनुपथ्र्यो । त्यस्तै विशेष गरेर किशोरीहरुले महिनावारीको समस्या धरै भोग्नुपरेको थियो ।

विद्यालयमा महिनावारी भएमा पढाइ नै छोड्नुपर्ने अर्को समस्या थियो । महिनावारीकै कारण उनीहरुको पढाइ छुट्ने गथ्र्यो । तर विगत दुई वर्षदेखि विद्यालयमा यस्ता समस्या नभएको विद्यालयका प्रधानाध्यापक गोविन्दप्रसाद शर्मा बताउँछन् ।

उनका अनुसार एक विद्यालय एक नर्स कार्यक्रम संचालन भएसँगै विद्यालयका सम्पूर्ण गतिविधिमा परिवर्तन आउनुको साथै समग्र विद्यालयको प्रगति भएको छ । ‘यो कार्यक्रमले विद्यालयमा मात्र नभई सिंगो सकारात्मक परिवर्तन ल्याएको छ,’ उनले भने, ‘विद्यार्थीले मात्र नभई अभिभावकले पनि सरसफाइमा विशेष ध्यान दिन थालेका छन् । शौचालय गएपछि साबुनपानीले हात धुने अभ्यास भएको छ ।’ कार्यक्रमले गर्दा विद्यार्थी अनियमितता पनि हटेको उनले बताए । विगतमा वार्षिक रुपमा ५ प्रतिशत विद्यार्थीले विद्यालय छोड्ने गरेको विद्यालयको जानकारी छ ।  

बाग्मती प्रदेशले संचालन गरेको एक विद्यालय एक नर्स अन्तर्गतको पहिलो चरण कार्यक्रममा प्रदेशका २० विद्यालय छनौट भएका थिए । प्रदेशको मापदण्ड अनुसार आफ्नो विद्यालय पनि छनौटमा परेको प्रधानाध्यापक शर्माले बताए । मापदण्डबारे बताउँदै शर्माले भने, ‘नमूना विकास, भौतिक पूर्वाधार, विद्यार्थी संख्या सबै कुराले गर्दा विद्यालय छनौटमा परेको हो ।’ \

कार्यक्रम संचालनमा आएसँगै विद्यालयमा हेल्थ क्लब, अभिमुखीकरण, विद्यार्थीको नियमित स्वास्थ्य जाँच गरी हेल्थ प्रोफाइल जस्ता गतिविधि सुचारु भएको विद्यालयले जनाएको छ । विद्यालयका अनुसार विद्यालयको स्वास्थ्यस्थिति बारेमा कक्षागत रुपमा विद्यार्थीका अभिभावक विद्यालयमा बोलाई जानकारी गराउने गरिएको छ ।  

विद्यालयमै नर्स भएपछि विद्यार्थीको स्वास्थ्यमा सुधार आएको गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक प्रमोद तिमिल्सिना बताउँछन् । उनका अनुसार यो कार्यक्रम लागु भएसँगै स्वास्थ्य समस्याले कुनै विद्यार्थीको पढाइ छुटेको छैन । कुनै विद्यार्थी पढाइ भइरहेकै बेलामा स्वास्थ्य समस्याले गर्दा घर फर्किनुपरेको छैन । एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी भएको बताउँदै तिमिल्सिनाले भने, ‘अहिले अभिभावकहरु आफ्नो बालबच्चाको पढाइ मात्र नभएर स्वास्थ्य स्थितिबारे बुझ्न पनि विद्यालय आउने गर्नुभएको छ । विद्यार्थीसँगै अभिभावकले पनि स्वास्थ्य र सरसफाइमा विशेष ध्यान दिन थालेका छन् ।’

एक विद्यालय एक नर्स कार्यक्रम किशोरीहरुका लागि निकै फलदायी भएको बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमिल्सिनाले बताए । उनका अनुसार कार्यक्रम किशोर, किशोरी, बालबालिका मात्र नभएर अभिभावकहरुलाई पनि प्रभावकारी भएको छ । यसले सबैलाई स्वास्थ्यप्रति सचेत बनाएको छ । ‘यो कार्यक्रमले किशोरीहरुको स्वस्थ्य सुरक्षित बनाएको छ,’ उनले भने, ‘विशेष गरेर किशोरीहरुले महिनावारीको समस्याबारे खुलेर भन्ने सकिरहेका हुँदैनन् । महिलाको समस्या महिलाले नै बुझ्ने भएकाले किशोरीहरुले आफ्ना समस्या नर्ससँग निर्धक्क राख्न सक्ने भएका छन् । उनीहरु आफ्नो स्वास्थ्यको ख्याल आफै राख्न सक्ने भएका छन् ।’

यो कार्यक्रम माध्यमिक तहका विद्यार्थीको धेरै नै प्रभावकारी भएको अध्यक्ष तिमिल्सिना बताउँछन् । उनका अनुसार गाउँपालिकामा माध्यमिक तहका १० वटा विद्यालय रहेका छन् । ती विद्यालयमा उक्त कार्यक्रम संचालन गर्न आवश्यक देखिएको छ । यस विषयमा गाउँपालिकाले चाँडै योजना बनाउने अध्यक्ष तिमिल्सिना बताउँछन् ।  

विद्यालयमा कार्यक्रम संचालन भएको दुई वर्ष भयो । किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्य सुधारको आवश्यकता महसुस गरी बाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले एक विद्यालय एक नर्स कार्यक्रम संचालनमाल्याएको थियो । विद्यालय तहबाटै बालबालिकालाई पोषिलो र सन्तुलित खानेकुराका साथै स्वास्थ्य सरसफाइ र पोषण प्रवद्र्धन गर्न विद्यालयमा नर्स राख्ने कार्यक्रम मन्त्रालयले गरेको थियो । कार्यक्रम प्रभावकारी देखिएमा थप विद्यालयमा पनि कार्यक्रम संचालन गर्नेे योजना मन्त्रालयको थियो ।  

गाउँपालिकामा संचालनको भएको कार्यक्रम प्रभावकारी भएसँगै गाउँपालिकाका थप ३ विद्यालयमा पनि कार्यक्रम संचालन गर्नको लागि मन्त्रालयले परिपत्र गरेको गाउँपालिकाका अध्यक्ष स्वास्थ्य शाखा संयोजक तिमिल्सिनाले बताए । ‘परिपत्र अनुसार विद्यालय छनौटको प्रक्रिया भइरहेको छ,’ ‘तोकिएको निश्चित मापदण्डअनुसार विद्यालय छनौट गर्नुपर्ने हुन्छ । कुन विद्यालय छनौट गर्ने भनेर छलफल भइरहेको छ ।’

बेथानचोकमा संचालन भएको उक्त कार्यक्रम पाइलटिङका लागि गरिएको जिल्ला शिक्षा विकास समन्वय इकाईका प्रमुख गोकर्णध्वज कार्कीले बताए । उनका अनुसार त्यहाँ कार्यक्रमको प्रभावकारीता बढेसँगै अहिले थप तीनवटा विद्यालयमा संचालन गरिएको भएको छ । यो कार्यक्रम केही समयपछि जिल्लाका अरु स्थानीय तहका सामुदायिक विद्यालयमा पनि क्रमशः संचालन गर्दै लैजाने प्रमुख कार्कीले जानकारी दिए ।  

प्रकाशित: ८ जेष्ठ २०७७ ०६:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App