७ वैशाख २०८१ शुक्रबार
शिक्षा

कम्तिमा २० प्रतिशत बजेट शिक्षामा

बहसमा सहभागी शिक्षक र होलेरी बजार । फोटो दिनेश/नागरिक

रोल्पा - २४ वर्ष अघि रोल्पाको होलेरी प्रहरी चौकी आक्रमण गरेर तत्कालिन माओवादीले औपचारिक रुपमा भूमिगत युद्द सुरु गरेको थियो। भएका संरचनामा निरन्तर आक्रमण गर्ने र नष्ट गर्ने रणनीतिका साथ अघि बढेका उनीहरुलाई अहिले भने विकास निर्माणका कामले पिरोल्न थालेको छ। तत्कालिन अवस्थामा बुर्जुवा शिक्षाभन्दै बहिस्कारमा लागेका उनीहरुलाई त्यही शिक्षा क्षेत्रको सुधार गर्न हम्मेहम्मे परेको छ।

जिल्लाको शैक्षिक अवस्था खस्किरहदा होलेरी केन्द्र रहेको रुन्टीगढी गाउँपालिकाले भने सुधारका लागि भन्दै विभिन्न शैक्षिक सुधारका गतिविधि सुरु गरेको छ। गाउँपालिका र सेभ द चिल्ड्रेनको आयोजनामा होलेरीमा गाउँपालिका स्तरीय शैक्षिक बहस गरिएको छ। शिक्षक, बिद्यार्र्थी, जनप्रतिनिधि, अभिभावक, प्रशासक र शिक्षामा सरोकार राख्नेहरुले बहसमा सहभागिता जनाएका थिए। सो अवसरमा लामो समयको बहसपछि १३ बँुदे लिखित प्रतिबद्धता समेत गरिएको छ।

छलफलमा सहभागीले शिक्षक दरबन्दी नहुनु, स्थानीय सरकारले शिक्षामा बजेट बिनियोजन नगर्नु, अनुगमन नहुनु, भौतिक पुर्वाधार अस्तव्यस्त रहेको लगायतका समस्या देखाएका थिए। ‘नारा बोकेर मात्र नहिडौ। कर्तब्यलाई ख्याल गरौ। योग्य शिक्षकलाई अवसर दिनुपर्छ।’ शिक्षक झक्कु प्रशाद वलीले भने ‘विद्यालयमा अनुगमन भएन। दरबन्दी छँदै छैन। स्थानीय सरकारले शिक्षक दरबन्दीका बारेमा ध्यान दिनु पर्छ।’

शिक्षक शिला खनालले भनिन् ‘शिक्षक आफैले पनि १०–५ इमानदारी पुर्वक विद्यालयलाई समय दिनुपर्छ। शिक्षामा राजनीतिकरण हाबी भएको छ। जबसम्म राजनीतिकण हुन्छ तबसम्म सुधार गर्न कठिन हुन्छ।’ बहसमा सहभागी शिक्षक महासंघ रुन्टीगढीका अध्यक्ष भिमबहादुर दसौदीले शिक्षकको अधिकारका बारेमा मात्रै बोल्ने गरेकोमा आउँदा दिनमा विद्यार्र्थीका अधिकारका बारेमा पनि चासो दिइने प्रतिवद्धता व्यक्त गरे।

विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुले दरबन्दी र आर्थिक अभावका कारण विद्यालय चलाउन गाह्रो भएको बताएका थिए। ‘हामीसंग प्रयाप्त दरबन्दी पनि छैन। निजी श्रोतबाट शिक्षक नियुक्ति गर्न पनि पैसा छैन। अब स्थानीय सरकारले हेर्नुपर्छ।’ मावि डुब्रिङका विव्यस अध्यक्ष तिलक बिक्रम पुनले भने। यहाँ दरबन्दी अभाव भएका कारण हरेका अभिभावकले मासिक वा वार्षिक रुपमा रकम उठाएर निजी श्रोतका शिक्षकलाई तलव खुवाउने गरेका छन्।

कार्यक्रममा जिल्ला मै अब्बल मानिएको बालकल्याण नमुना माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष महेश न्यौपानेले विद्यालय संचालन, व्यवस्थापन र सुधार कसरी संम्भव भयो भन्ने बारमा आफ्नो अनुभव सुनाएका थिए। बहसमा सहभागी गाउँपालिका अध्यक्ष बालाराम बुढाले शैक्षिक सुधारका लागि आफुले काम गर्ने बताए। ‘विकासको आधार नै शिक्षा हो त्यसैले यसको सुधारका लागि सरोकारवालासंग सल्लाह लिदै नयाँ रुपले अगाडि बढ्ने छु।’

करिब ४ घण्टाको बहसपछि उपस्थित सहभागिहरुले १३ बुँदे लिखित प्रतिबद्ध समेत जारी गरेका छन्। गाउँपालिकाले शिक्षालाई प्राथमिकता दिई कम्तिमा २० प्रतिसत बजेट बिनियोजन गर्ने। बिद्यालय उमेर समुहका बालबालिकालाई सतप्रतिसत भर्ना गर्ने। बिद्यार्थि बिद्यालयमा टिकाई राख्न बालमैत्री बाताबरण तयार गर्ने। सिकाई सुधारका लागि शिक्षक कार्यसम्पादन संझौतालाई प्रभावकारी बनाउने। गाउँपालिका र वडा पालिकाले नियमित अनुगमन गर्ने। विद्यालयमा अनुसासित बातावरण बनाउने लगायतका विषयमा लिखित प्रतिबद्धता गरिएको छ।

रोल्पामा करिब ९५ हजार बिद्यार्र्थीले विद्यालय स्तरको शिक्षा लिइरहेका छन्। उनीहरुलाई विद्यालयमा पढाउने शिक्षकहरु भने करिब ६० प्रतिसत दरबन्दी कम छ। त्यसो त गाउँको समस्या नजिकबाट बुझेको भनिएको स्थानीय सरकारले शिक्षा क्षेत्रमा एकदमै न्युन बजेट बिनियोजन गरेका छन। धेरै जसो राजनीतिक अखडा बन्ने विद्यालयहरुमा शिक्षक र बिद्यार्थीका नेतृत्वले पनि शैक्षिक सुधारमा कहिल्यै बोल्दैनन्।

प्रकाशित: २६ भाद्र २०७६ ०३:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App