१६ चैत्र २०८० शुक्रबार
शिक्षा

एसइई परीक्षार्थीलाई इमेलबाट प्रश्नपत्र

भानु मावि परीक्षा केन्द्रमा एसइई परीक्षा लेखिरहेका परीक्षार्थी र अनुगमन गर्दै फुङ्लिङनगर प्रमुख छत्रपति प्याकुरेल ।    तस्बिर : खगेन्द्र/नागरिक

ताप्लेजुङ – आफ्नो परीक्षा केन्द्र भूलेर अर्को परीक्षा केन्द्रमा पुगेका ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका वडा नं ३ सिकैचाका १६ जना विद्यार्थीलाई इमेलबाट प्रश्नपत्र पठाई माध्यमिक शिक्षा परिक्षा (एसइई) को परीक्षा दिन लगाइएको छ। सदरमुकाम ताप्लेजुङबाट प्रश्नपत्र इमेल गरेर पठाई परीक्षा गराइएको हो।

२०७३ सालको परीक्षामा सामेल भइ स्तरवृद्धिका लागि आवेदन दिएका विद्यार्थी सिकैचाबाट नजिकै रहेको तेल्लोक मावि परीक्षा केन्द्र पुगेका थिए। उनीहरूको परीक्षा केन्द्र भने फुङ्लिङस्थित बासु मावि मेदिबुङ रहेको थियो।

प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले सिकैचाका विद्यार्थीको २०७४ सालको स्तरवृद्धिकोे परीक्षा केन्द्र भने तेल्लोकमै रहेकोले २०७३ सालको स्तरवृद्धिको परीक्षा लेख्ने विद्यार्थी पनि सोहि अनुमानमा तेल्लोक पुगेको हुनसक्ने बताए।

बासु मावि परीक्षा केन्द्र रहे पनि तेल्लोक परीक्षा केन्द्र पुगेपछि शिक्षा विकास तथा समन्वय इकाइ र जिल्ला परीक्षा समन्वय समितिले उनीहरूका लागि बासु मावि मेदिबुङमा पुगेको प्रश्नपत्र स्क्यान गरी तेल्लोकमा पठाएको र त्यहाँ प्रिन्ट हानेर परीक्षा गराइएको प्रजिअ भण्डारीले बताए। जिल्लाभर १७ केन्द्र रहेको यहाँ पहिलो दिनको परीक्षा सबै परीक्षा केन्द्रमा शान्तपूर्ण सम्पन्न भएको जिल्ला परीक्षा समन्वय समितिले जनाएको छ। 

अनुगमनमा स्थानीय तहका प्रमुख–उपप्रमुखलाई मात्र 
अनुगमनका नाममा विद्यार्थीको एकीकृत मन नै बिथोल्ने गरी ठूलै हुल छिर्ने परम्परा अन्त्य गर्न ताप्लेजुङका परीक्षा केन्द्रमा परीक्षा समन्वय समिति बाहेक स्थानीय तहका प्रमुख र उपप्रमुखलाई मात्र अनुगमन गर्न अनुमति दिइएको छ।

जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले आमन्त्रित रुपले अनुगमनका गर्न सम्बन्धित स्थानीय तहका प्रमुख र उपप्रमुखलाई मात्र अनुमति दिन केन्द्राध्यक्षलाई मौखिक निर्देशन दिएको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख हेमबहादुर पालुङ्वाले जानकारी दिए।

‘प्रमुख र उपप्रमुखलाई पनि परीक्षा सञ्चालनको अवस्था,उपस्थित र अनुपस्थित विवरण र परीक्षा सञ्चालनका गतिविधि जानकारी गराएर कालो चिया खाएर सम्मानपूर्वक बिदाइ गर्न प्रजिअज्यूमार्फत आएको निर्देशन सबै केन्द्राध्यक्षलाई अवगत गराएको छु’, पालुङ्वाले भने। 

प्रदेश सांसद गएनन् अनुगमनमा 
परीक्षा लेख्दै गरेका विद्यार्थीको मन त्रसित हुने भन्दै यहाँको निर्वाचन क्षेत्र नं १(क)बाट निर्वाचित प्रदेशसभा सदस्य बलबहादुर साम्सोहाङले परीक्षा अनुमगनमा सहभागी नहुने बताए। उनले परीक्षाका लागि शान्त वातावरण तयार पार्न आफूले गर्नसक्ने सहयोग गर्ने तर अनुगमन गर्न परीक्षाका कोठा–कोठामा छिर्ने कार्यमा आफू सहभागी नहुने जानकारी प्रजिअ भण्डारीलाई गराएको बताए। हुल सहितको अनुगमनले परीक्षा लेखिरहेका विद्यार्थीको मनोबिज्ञानमा नकारात्मक असर गर्ने साम्सोहाङको भनाई छ। 

 

प्रकाशित: १० चैत्र २०७५ ०५:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App