भर्खरै सार्वजनिक यस वर्षको विद्यालय शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई चौदण्डीगढी नगरपालिकाले पुरस्कृत गरेको छ ।
नगर शिक्षा शाखाले उत्कृष्ट अङ्क ४ जिपिए ल्याउने लाजिमा राईलगायत दोस्रो, तेस्रो र चौथो स्थान ल्याउने विद्यार्थीलाई पुरस्कृत गरेको हो ।
पुरस्कृत हुनेमा चौदण्डीगढी नगरपालिका ६ बेलटारस्थित ज्योति नमुना माविका ३ जना र चौनपा ९ हडियास्थित सिद्धेश्वरी मावि मुसहरनीयाका एक विद्यार्थी छन् । ज्योति मावि बेलटारकी छात्रा लाजिमाले ४ जिपिए ल्याएर उत्तीर्ण लाजिमालाई १० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ ।
त्यस्तै सोही विद्यालयका शौरभ पराजुलीले ३.९६ र अनुकुमारी शर्माले ३.९६ जिपिए ल्याएकी छिन् भने सिद्धेश्वरीका विज्ञानराज थापाले ३.९१ जिपिए ल्याएर एसइई उत्तीर्ण गरेका छन् । दोस्रो, तेस्रो र चौथो हुने विद्यार्थीहरूलाई क्रमशः ८ हजार, ७ हजार ५ हजार नगदका साथै प्रमाणपत्र प्रदान गरिएको नगरपालिका शिक्षा शाखा प्रमुख उपसचिव रामेश्वर कुँवरले बताए । कार्यक्रममा ज्योति मावि बेलटारका विद्यालय व्यवस्थापन समिति अध्यक्ष केदार केसीलाई सम्मान गरिएको छ ।
कुँवरका अनुसार कार्यक्रममा विभिन्न विद्यालयका ५ जना प्रधानाध्यापकलाई सम्मान गरिएको छ । सम्मान पत्र पाउनेहरूमा माध्यमिकतर्फ चौनपा २ स्थित सिद्धदेवी मावि माडीबासका प्रअ कुमार खड्का, चौनपा ८ स्थित सरस्वती मावि सावाका प्रअ रीतबहादुर मगर र जनता मावि लुङ्गीनटारका प्रअ पदम तामाङ रहेका छन् । त्यस्तै आधारभूत विद्यालयतर्फ कौवाईदेवी आवि चौनपा २ का प्रअ बलराम कार्की र जउकलादेवी आवि कालीटार चौनपा ८ की प्रअ गङ्गा मगर रहेका छन् ।
प्रदेशसभा उपसभामुख सृजना दनुवार, नगरप्रमुख कालुमान लामा र उपप्रमुख मणिकादेवी दुलालले उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गर्नुका साथै विव्यस अध्यक्ष तथा प्रअहरुलाई सम्मान पत्र प्रदान गरेका थिए ।
सो कार्यक्रमकै अवसर पारेर नगरपालिकाले तयार गरेको १० वर्षे शिक्षा योजना र कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम पनि सार्वजनिक गरेको छ । उपसभामुख दनुवार र मेयर उपमेयरले शैक्षिक कार्य योजना तथा पाठ्यक्रम सार्वजनिक गरेका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत काजीमान राईका अनुसार विद्यार्थी र प्रधानाध्यापकको मनोबल बढाउँदै सामुदायिक विद्यालयको शैक्षिकस्तर उकास्ने उद्देश्यले विद्यार्थीलाई पुरस्कृत र प्रअलाई सम्मान गर्ने कार्यक्रम गरिएको हो । यस वर्षको एसइई परीक्षामा चौदण्डीगढी नगरका विद्यालयहरूले उल्लेख सुधार गरेको उनले बताए । यस वर्ष समग्र नगरको उत्तीर्ण प्रतिशत ८४.५५ भएको राईले बताए ।
प्रकाशित: १८ असार २०८२ ११:३६ बुधबार




-600x400.jpg)
