२४ पुस २०८२ बिहीबार
image/svg+xml
शिक्षा

कक्षा १० मा विद्यार्थी टिकाउ र भर्ना दर घट्यो

अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसदमा पेस गरेको आर्थिक सर्वेक्षण २०८२/०८३ मा विद्यालय तहमा विद्यार्थीको टिकाउ दर वृद्धि भएको उल्लेख छ।

शैक्षिक सत्र २०८१/८२ मा कक्षा ८ सम्मको टिकाउ दर ८६.५ प्रतिशत र कक्षा १० सम्मको टिकाउ दर ६६.९ प्रतिशत छ भने कक्षा १२ सम्मको टिकाउ दर ४०.६ प्रतिशत पुगेको छ। जब कि शैक्षिक सत्र २०८० मा कक्षा ८ सम्मको टिकाउ दर ८६.२, कक्षा १० सम्मको विद्यार्थीको कक्षामा टिकाउ दर ६९.९ र कक्षा १२ सम्मको टिकाउ दर ३७.२ प्रतिशत मात्र थियो।

कक्षा १० सम्मको टिकाउ दर शैक्षिक सत्र २०८० मा तुलनामा २०८१ मा तीन प्रतिशतले घटेको छ। तर आधारभूत तह पूरा गर्ने विद्यार्थीको संख्या भने बढेको छ। शैक्षिक सत्र २०८० मा आधारभूत तह पूरा गर्ने विद्यार्थी ८०.३ प्रतिशत थिए भने २०८१ को शैक्षिक सत्रमा ८२.४ प्रतिशतले यो तह पूरा गरेको तथ्यांक छ।

विगत दुई वर्षको तुलनामा आधारभूत र माध्यमिक दुवै तहमा खुद भर्ना दर घटेको छ। आधारभूत तहमा शैक्षिक सत्र २०८० मा खुद भर्ना दर ९५.१ प्रतिशत थियो भने २०८१ को शैक्षिक सत्रमा ९४.४ प्रतिशतमा सीमित रह्यो। यसैगरी माध्यमिक तह कक्षा ९–१० सम्मको शैक्षिक सत्र २०८० मा ७६.५ थियो भने २०८१ मा यो दर घटेर ७५.८ मा पुगेको छ।

यसैगरी कक्षा ९ देखि कक्षा १२ सम्मको खुद भर्ना दर २०८० मा ५७.९ प्रतिशत रहेकोमा २०८१ मा आइपुग्दा दुई प्रतिशतले घटेर ५५.८ प्रतिशतमा सीमित रह्यो। यसले विद्यालय तहमा विद्यार्थीको भर्ना र टिकाउ दर घट्दै गएको तथ्य उजागर गरेको छ।

शैक्षिक सत्र २०८१ मा बालविकासको अनुभव लिएर कक्षा १ मा भर्ना हुने विद्यार्थीको संख्या ७६.३ प्रतिशत रहेको छ भने शैक्षिक सत्र २०८० मा यो प्रतिशत ७६.९ थियो। अर्थात् बालविकास कक्षाको अनुभव लिएर कक्षा १ मा भर्ना हुने विद्यार्थी संख्यामा समेत कमी आउँदै गएको तथ्यांकले बोलेको छ।

विद्यालय पनि घट्यो

विद्यार्थी संख्या घटेसँगै विद्यालय समायोजनको पनि संख्यामा वृद्धि भएको छ। शैक्षिक सत्र २०८१ मा मुलुकभर विद्यालय संख्या ३५ हजार चार सय ४७ छन्। जबकि शैक्षिक सत्र २०८० मा ३५ हजार आठ सय ७६ रहेको थियो। कुल विद्यालयमध्ये सामुदायिकको हिस्सा ७३ प्रतिशत, संस्थागतको हिस्सा २३ प्रतिशत र परम्परागत तथा धार्मिक विद्यालयको हिस्सा चार प्रतिशत रहेको छ।

गत शैक्षिक सत्रमा उक्त संख्या क्रमशः ७४.१ प्रतिशत, २२ प्रतिशत र ३.९ प्रतिशत थियो। विद्यालय नक्सांकन र समायोजनका कारण शैक्षिक सत्र २०८० को तुलनामा शैक्षिक सत्र २०८१ मा कमी आएको हो।

५५.९ प्रतिशत विद्यालयमा सयभन्दा कम विद्यार्थी

सर्वेक्षणले सामुदायिक विद्यालयमध्ये ५५.९ प्रतिशत विद्यालयमा सयभन्दा कम विद्यार्थी रहेको तथ्यांक सार्वजनिक भएको छ। यसैगरी दुई हजारभन्दा बढी विद्यार्थी भएको सामुदायिक विद्यालयको संख्या ०.४ प्रतिशत मात्र रहेको छ। सहरी क्षेत्रमा बढ्दै गएको बसाइँसराइ र जन्मदरमा आएको कमीले ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थी संख्या कम हुँदै गएको सर्वेक्षणमा उल्लेख छ।

महिला शिक्षकको संख्या मावि तहमा न्यून

आधारभूत तहमा कार्यरत महिला शिक्षकको हिस्सा माध्यमिक तहको तुलनामा उच्च रहेको छ। शैक्षिक सत्र २०८१ मा सबै प्रकारका विद्यालयमा कार्यरत शिक्षकको संख्या दुई लाख ७९ लाख पाँच सय ८५ मध्ये ४२.६ प्रतिशत मात्र महिला शिक्षक र ५७.४ प्रतिशत पुरुष शिक्षक छन्। आधारभूत तहमा महिला शिक्षकको हिस्सा ४९.३ प्रतिशत र पुरुषको हिस्सा ५०.७ प्रतिशत छ भने माध्यमिक तहमा निकै खाडल छ।

प्रकाशित: १६ जेष्ठ २०८२ ०८:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App