‘आज मेरो विद्यालय बन्द छ, सरहरूले मलाई घरमै बसेर पढ्न भन्नुभएको छ...’ पाल्पाको दमकडा माध्यमिक विद्यालयकी छात्रा ओजस्वी आचार्यको भनाइ हो यो। उनको यस वाक्यले अहिले देशभरका हजारौं विद्यार्थीको पीडा बोकेको छ।
कक्षा ८ को परीक्षा सकेर नयाँ ऊर्जा र उत्साहसाथ कक्षा ९ सुरु गर्न चाहेकी ओजस्वी बुधबार बिहान स्कुल पुगिन्। तर, उनको त्यो उत्साह एक झट्कामै झरेर गयो – विद्यालय बन्द थियो। नतिजा प्रकाशित भएको थिएन। शिक्षकहरू शैक्षिक हडतालमा थिए।
प्रधानाध्यापक मोहन सापकोटाले ‘शिक्षक महासङ्घको आन्दोलनका कारण नतिजा प्रकाशित गर्न सकिएन’ भन्ने जानकारी दिएपछि, उनी घर फर्किइन्। तर, उनले चुप लागेर बसिनन् – मोबाइल उठाइन्, भिडियो खिचिन्, अनि सम्पूर्ण देशलाई आफ्ना शब्दमा अपिल गरिन्।
‘आज मेरो विद्यालय बन्द छ। शिक्षकहरूले मलाई घरमै बसेर पढ्न भन्नुभएको छ। म अहिले कक्षा ८ मा छु, तर कक्षा ९ को विद्यार्थी बन्ने आशामा थिएँ,’ उनले भनिन्, ‘तर शिक्षक आन्दोलनमा छन्, त्यसैले नतिजा प्रकाशित भएको छैन। यसैले म अझै पनि कक्षा ८ कै विद्यार्थी हुँ।’
उनले उठाएको प्रश्नहरू राज्य र शिक्षातर्फ देखिएको लापरबाहीको सीधा प्रतिबिम्ब हुन्। ‘‘शिक्षकहरू आन्दोलनमा जान बाध्य हुनुहुन्छ, किनभने राज्यले समयमै सम्बोधन गरेन। यस कारण हामी विद्यार्थीले उत्साहसाथ पढ्न पाउने अवसर नै हराउँदै गएको छ।’’ उनले भनेकी छिन्।
कक्षा कोठामा पढ्ने उत्साह बोकेर हिँडेका हजारौं बालबालिकालाई सरकारले दिँदै आएको जवाफ अहिले ‘बन्द विद्यालय’ हो। ओजस्वी भन्छिन्- ‘‘बाल कक्षाका शिक्षकहरू बिहान साँझ कसरी छाक टार्ने भनेर चिन्तामा छन्। अस्थायी शिक्षकहरू जागिर कि विदेश भन्ने अन्योलमा छन्। यस्तो अवस्थामा पढाइ कसरी चल्छ ?’’
उनले आफ्नो भिडियोमा सरकारलाई सीधा अपिल गरेकी छन् – ‘‘हाम्रा गुरुहरूलाई चाँडै स्कुल फर्काइदिनुहोस्। शिक्षकहरूको माग सम्बोधन गर्न ढिला नगर्नुहोस्। पढ्ने उमेरमा हामी स्कुल गेटबाटै फर्कन बाध्य छौं, अब यो गलत चक्र रोक्नुहोस्।’’
ओजस्वीको भिडियोले सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया बटुलिरहेको छ। धेरैले उनीभित्रको नेतृत्व शैली, स्पष्ट धारणा र भावनाको खुलेर प्रस्तुतिलाई समर्थन गरेका छन्।
प्रकाशित: ३ वैशाख २०८२ १६:०२ बुधबार





