८ वैशाख २०८२ सोमबार
image/svg+xml १६:३१ अपराह्न
शिक्षा

शिक्षकले पाएनन् ६ महिनादेखि तलब

कालीकोटको खाँडाचक्र नगरपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षकले ६ महिनादेखि तलब भत्ता नपाएपछि मंगलबार नगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन्। चालु आर्थिक वर्षको असोजदेखि हालसम्म शिक्षकहरूले तलब तथा अन्य सेवासुविधा नपाएको भन्दै नगरपालिकामातहतका ३९ वटै सामुदायिक विद्यालयका शिक्षक कर्मचारीले खाँडाचक्र नगरपालिकाका मेयर कमलबहादुर शाहीलाई ज्ञापनपत्र बुझाएका हुन्।

नेपाल शिक्षक महासंघ कालीकोटले यसअघि पटकपटक तलब–भत्ता हाल्न आग्रह गरेका थिए। नगरपालिका प्रशासनले सो समस्या समाधान गर्नेतर्फ वास्ता नगरेपछि शिक्षकले ज्ञापनपत्र पेस गरेको जनाएका छन्। चुलिमालिका मावि घोडेनाका प्रधानाध्यापक दिपबहादुर शाहीले ६ महिनादेखि तलब सुविधा नपाएपछि बाध्य भएर ज्ञापनपत्र बुझाउने अवस्थामा आइपुगेको बताए।

‘असोजदेखि तलब भत्ताका नाममा एक पैसा पाउन सकेका छैनौं। हाम्रो पनि परिवार र बालबालिका छन्’, उनले भने, ‘धैर्यको बाँध टुटेपछि बाध्य भएर विद्यालयले नगरपालिकासमक्ष ज्ञापनपत्र बुझाएका हौं।’

नियमित रूपमा तलब नआउँदा आफ्नो पेसाप्रति नै हीनताबोध हुने गरेको शिक्षकहरू बताउँछन्। हालसम्म तलब नपाउँदा आफ्नो दैनिक जनजीवन नै प्रभावित हुने गरेको शिक्षक पवित्राकुमारी शाहीको भनाइ छ। ‘संसारमा काम गरेको घण्टाको हिसाबले तलब पाउँछन्। हामीले भने काम गरेको तलब पाउन पनि ६ महिना कुर्नुपर्छ। योजतिको विडम्बना कहाँ होला र ?’, उनले प्रश्न गरिन्।

सरकारले निजामती कर्मचारी, सुरक्षा निकाय, स्वास्थ्य क्षेत्रलगायतका अन्य निकायका कर्मचारीलाई भने महिना–महिनामा तलब खुवाउँछ, तर शिक्षकहरूको हकमा भने पहिला–पहिला चार÷चार महिनामा र अचेल तीन÷तीन महिनामा तलब दिने गरिएकोमा पनि नगरपालिकाले दोस्रो त्रैमासिक र तेस्रो त्रैमासिकको तलबभत्ता नदिएको शिक्षकहरूको भनाइ छ।

विद्यालय शिक्षक, विद्यालय कर्मचारी, बाल शिक्षक तथा नगर अनुदान शिक्षकहरूको तलबभत्ता सरकारले मासिक रूपमा उपलब्ध गराउने व्यवस्था गरेको भए पनि नगरपालिकाले विगत ६ महिनादेखि तलब भत्ता निकासा नगर्नु खेदजनक रहेको ज्ञापनपत्रमा उल्लेख छ।

खाँडाचक्र नगरपालिकाभित्रका शिक्षकहरूको पिरमर्का नबुझी नगर सरकारको लापरबाहीका कारण लामो समयसम्म पनि निकासा नदिनु र पहल नगर्नु नगरको ठुलो कमजोरी ठहर गरी तपसिलका माग पाँच दिनभित्र सम्बोधन नगरिएमा नेपाल शिक्षक महासंघ खाँडाचक्र नगरपालिका दोस्रो चरणको आन्दोलन गर्न बाध्य हुने जनाएको छ।

खाँडाचक्र नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत र लेखापालका कारण नगरपालिकाको आर्थिक गतिविधि ठप्प छ। मेयर कमलबहादुर शाहीले नगरपालिकामा पहिल्यैदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा र नयाँ लेखापाल तालिममा गएका कारण नगरपालिकाको आर्थिक गतिविधि ठप्प रहेको बताए। उनले शिक्षकको हकमा आफू पनि चिन्तित रहेको बताउँदै शिक्षकहरूको तलब भत्ता छिटो हाल्न कर्मचारीलाई निर्देशन दिइसकेको बताए।

विद्यालय शिक्षक, विद्यालय कर्मचारी, बाल शिक्षक, संघीय अनुदान तथा नगर अनुदानलगाएत शिक्षकहरूको तलब निकासा गर्नुपर्ने, दिवा खाजा, पाठ्यपुस्तकलगायतका अन्य अनुदान निकासा गर्नुपर्ने मागसहित ज्ञापनपत्र पेस गरिएको छ।

शिक्षकका माग समयमै पूरा नगरे अन्य आन्दोलनका कार्यक्रम अघि सार्ने चेतावनीसमेत नेपाल शिक्षक संगठन कालीकोटले जनाएको छ।

खाँडाचक्र नगरपालिकाका शिक्षा शाखा प्रमुख बलराज शाहीले शिक्षकहरूको हकमा दोस्रो त्रैमासिक र तेस्रो त्रैमासिकको निकासा दिनका लागि आफूले लेखा शाखामा फाइल पुर्‍याएको तर भुक्तानी नगरेको बताए। उनले जनप्रतिनिधिले आफ्नो सेवा–सुविधा लगिसक्दासमेत कर्मचारी र शिक्षकको तलब भत्ता नदिएको बताए।

प्रकाशित: २० चैत्र २०८१ ०९:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App