केही समयअघि अस्ट्रेलियामा श्रीमान्ले श्रीमतीको निर्मम हत्या गरेको खबरले सामाजिक सञ्जाल निकै हल्लायो। उनीहरूकी नाबालक छोरीको फोटो हेरेर संसार नै रोयो। बाबुको राक्षसरूपी अहङ्कारले एउटा राम्रो परिवार लथालिंग भएको देखेर संसार दुःखी भयो। छोरीले न बाबु पाई न आमा। बरु मिलेर छुट्टिएको भए छोरीले आमा पाउँथी। यो प्रतिनिधि घटना हो। यस्ता घटना घट्ने गति अहिले धेरै रहेको पाइन्छ।
यो घटना सेलाउन नपाउँदै अर्को घटनाले सामाजिक सञ्जाल भरियो। आफ्नै पे्रमीलाई हत्या गरेको घटना ससारभरि फैलियो। केहि महिनाअघि अर्को घटना त्यसरी नै आएको थियो। श्रीमान्–श्रीमती विदेशमा मिठा मिठा सपना बोकेर हिँडे तर सहरको रंगीन दुनियाले श्रीमान्–श्रीमतीबिचको दुरी बढायो। श्रीमतीले श्रीमान्लाई कहिल्यै नमेटिने यातना दिएको सुनियो। ती पुरुषले कसरी सहे, परिवारले उनको अवस्था सुन्न पनि सकेन, देख्न त परै जाओस्। बल्ल बल्ल मोटो रकम दिएर सम्बन्ध विच्छेद गराए। सम्बन्ध विच्छेद भए पनि उनी त्यो पीडाबाट निस्कन अझै सङ्र्घष गरिरहेका छन्।
आजभोलि श्रीमान्–श्रीमतीबिचको द्वन्द्व निकै चर्कंदै गएको महसुस हुन्छ। यसले डरलाग्दो रूप लिइरहेको छ। कुरा नबुझेर एवं आवेगमा आएर धेरैको घरबार बिग्रिएको छ। यही द्वन्द्वबाट कति मरे–मारिए, कति जले–जलाइए। कतिले कहिल्यै नबिर्सने यातना पाए, कतिले शरीरको अंग गुमाए। श्रीमान्–श्रीमती दुवै आवेगमा आएर हतियार उठाउने, यातना दिने, मार्ने–मर्ने, ज्यान जोखिममा राख्ने, जथाभावी बोल्ने, एकअर्कालाई इज्जत नगर्ने जस्ता गतिविधि बढेका छन्। यसले आफ्ना बालबच्चा तथा परिवारलाई कति असर परेको छ भन्ने कुरा समय बितेपछि मात्र थाहा हुन्छ। विचार नमिल्दा एकअर्कालाई असर नपर्नेगरी छुट्टिँदा सबैलाई राम्रै हुन्छ।
एक अर्कामा दबाब दिने, प्रतिशोधको भावना राख्ने जस्ता गतिविधिले सन्तान अभिभावकबाट त टाढिएकै छन्, मायाबाट पनि बञ्चित भएका छन्। अभावै अभावको जिन्दगीले बालमनोविज्ञानमा धेरै असर परेको देखियो। यसको उदाहरण भर्खर मात्र ज्यान गुमाएका बालगायक सचिन परियार पनि हुन्। बाआमाको बिग्रिएको सम्बन्धका कारण धेरै बालबच्चाको भविष्य डामाडोल भएको छ।
विश्वासका भरमा नै हामीले सम्बन्ध बनाएका हुन्छौं। कहिलेकाहीं त्यही विश्वासले धोका दिन्छ। विचार मिल्दैन, समय परिस्थिति बदलिन्छ। सबैको जीवनमा उत्कृष्ट श्रीमान् नपर्ला, उत्कृष्ट श्रीमती नपर्ला तर पनि ज्यान लिनुदिनुभन्दा पनि सहमतिमा छुटिनु निकै राम्रो हुन्छ। कसैले कसैको ज्यान लिन पनि जरुरी छैन, सम्पति पनि जरुरी छैन।
सधैं एकअर्कालाई धारेहात लगाउनु, तनाव लिनु, एकअर्कालाई निच देखाउनुभन्दा मिलेर नै सम्बन्ध अन्त्य गर्नुु उचित हुन्छ। विश्वास नभएको सम्बन्ध आगोजस्तै हुन्छ, जुन कुन पनि बेला सल्किन्छ, थाहा हुँदैन। श्रीमान्–श्रीमतीको जोडीलाई ईश्वरले नै बनाएको हुन्छ भन्ने जनविश्वास छ। विवाह बन्धनमा बाँधिदा अग्नि, विभिन्न कुल देवता र वेदको उच्चारण गरिन्छ। आफ्नो धर्मलाई साक्षी राखिन्छ। श्रीमान्–श्रीमतीको सम्बन्ध निकै सुरक्षित र आत्मीय हुन्छ भनेर भन्ने धेरै छन्। यति महत्त्वपूर्ण विवाह बन्धनमा बाँधिदै गर्दा कुनै पनि जोडीले सम्बन्ध टुक्रिन्छ भन्ने सोचेको हुँदैन। सम्बन्धलाई हल्का रूपमा लिन खोज्दा समाजको स्वरूप बदलिएको हो भनेर मान्नेहरू पनि धेरै छन्।
परिवर्तनसँगै अहिले आमा, हजुरआमाको समयझैं सोच्न व्यवहार गर्न सम्भव छैन। समयसँगै हरेक मान्छेको रुचि, सोच, विचार आआफ्नो हुन्छ। सबैलाई आफनै जिन्दगी प्यारो लाग्छ र लाग्नु पनि स्वाभाविक हो। कोही दबिन चाहँदैन। महिला–पुरुष बराबर छन्। पुरुषसरह महिलाले पनि काम गर्न सक्छन्। कसैको दबाबमा हिंसामा बस्नु, बिनाकारण सजाय भोग्नु पाप हो। श्रीमान–श्रीमतीको झगडालाई समाजले परालको आगो नाम दिएको छ। एक आगो भए अर्को पानी बन्नू भनेको छ।
सामाजिक सञ्जालको भड्किलो रवाफ, नचाहिँदो विषयको सार्वजनिकीकरण, अनावश्यक कुरामा चर्को स्वर र देखावटीपनजस्ता कुराले असामाजिक घटना घट्नमा सहयोग गरिरहेका छन्। सम्बन्धमा पाश्चात्य संस्कारको प्रभाव, अनावश्यक आर्थिक प्रतिस्पर्धा सम्बन्ध बिग्रनुका प्रमुख कारक हुन्।
कसैको अनुचित प्रवेश बन्द गरौं, आफ्नो सम्बन्धलाई साथीभाइ वा आफन्तसँग तुलना नगरौं, देखासिकी कम गरौं, हैसियतभन्दा माथि जाने सोच बन्द गरौं। यसो गरियो भने सम्बन्ध सहज हुन थालिहाल्छ। अघिल्लो वर्षको तथ्यांक हेर्ने हो भने नेपालमा श्रीमान्–श्रीमतीको करिब बयालीस हजार जोडीको सम्बन्ध विच्छेद भएको देखिएको छ। यसमा मानसिक हिंसा, यातना त छँदैछ, विचार नमिलेर खुसीले छुट्टिएका घटना पनि छन्।
यस्ता विषय मान्छेका व्यक्तिगत कुरा हुन्। आफ्नो जीवनमा जे ठिक लाग्छ, त्यही गर्ने हो। अर्काको मतभेद र पारिवारिक कुरालाई चासो दिनु जरुरी छैन। तर पनि कहिलेकाहीं समाजलाई यस्ता बेमेलले निकै अप्ठ्यारो पारिदिन्छ। घरभित्रका कुरा छरपस्ट हुन थालेपछि दुनियाले चासो दिनुपर्ने अवस्था आउँछ।
मिलेसम्म जोडिएको सम्बन्ध कसैले बिगार्न चाहँदैन। परिस्थितिले सम्बन्धमा दुर्घटना निम्त्याउँछ। सधैंको बेमेलले परिवारलाई बिचल्ली बनाउनुभन्दा कानुनी रूपमा छुट्टिनु नै उचित हुन्छ। अहम् राखेर बाँच्नु भनेको सधैं लडाइँ निम्त्याइरहनु हो।
प्रकाशित: ९ चैत्र २०८१ ०६:५८ शनिबार