त्रिभुवन विश्वविद्यालयअन्तर्गतका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन चैत ५ गते सम्पन्न भएको छ। त्रिविका ६२ आंगिक कलेजमध्ये दुई कलेजमा निर्विरोध निर्वाचन भएको छ भने ३८ वटा आंगिक कलेजमा चैत ५ गते निर्वाचन सम्पन्न भएको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक एवं स्ववियु निर्वाचन ०८१ केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य–सचिव प्राध्यापक पशुपति अधिकारीले बताए।
उनले एक हजार ५३ सम्बन्धन प्राप्त कलेजमध्ये कतिमा निर्वाचन भयो त्रिविसँग यकिन तथ्यांक नभएको खुलाए। त्रिविले करिब साढे तीन सय सम्बन्धन प्राप्त कलेजमा निर्वाचन भएको अनुमान गर्दै आएको छ।
विद्यार्थीको आपसी विवादका कारण चैत ५ गते २२ आंगिक कलेजमा निर्वाचन हुन सकेन। यी कलेजका निर्वाचन अनिश्चित बनेको अधिकारीले बताए। त्रिवि केन्द्रीय क्याम्पसमा पनि मनोनयन दर्ता विवादका कारण निर्वाचन स्थगित भयो। नेविसंघले केन्द्रीय निर्वाचन समितिमा ताला लगायो। यसले गर्दा चैत ५ मा निर्वाचन नहुने स्थिति बन्यो।
केन्द्रीय क्याम्पस निर्वाचन समितिले चैत ८ का लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो। चैत ६ गते नेविसंघले छलफल गरी ताला खोल्ने सहमति ग¥यो, तर उच्च अदालत पाटनले चैत ३ मा प्रकाशित सूचना कार्यान्वयन नगरी यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। अदालतको यस्तो आदेशले चैत ८ गते केन्द्रीय कलेजमा निर्वाचन नहुने देखिएको छ।
‘सम्बन्ध प्राप्त कति कलेजमा स्ववियु हुन्छ या निर्वाचन भयो यकिन तथ्यांक छैन’, सदस्य–सचिव अधिकारीले नागरिकसँग भने, ‘केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेविसंघले लगाएको ताला खोल्ने चैत ६ गते सहमति भयो तर अर्कातिर यसले पनि यो प्रस्ट हुन्छ कि त्रिविले सम्बन्धन मात्र बाँड्ने तर आफूले सम्बन्धन बाँडेको कलेजको अनुगमन र नियमन गर्ने पाटो निकै फितलो रहेको छ।
सम्बन्धन बाँड्ने निकायले त्यसको अपनत्व लिनुपर्ने जिम्मेवारी त्रिविलाई अझै बोध नभएको स्ववियु निर्वाचनबाट प्रस्ट भएको छ। यसैकारण त्रिविका सम्बन्धन प्राप्त कलेजहरू मनोमानी रूपमा चलिरहेको देखिएको छ।
स्ववियु अध्यक्षमा नेविसंघको अग्रसरता
स्ववियु निर्वाचनमा कांग्रेसनिकट नेविसंघको अग्रसरता देखिएको छ। उपत्यकाका काठमाडौं र ललितपुर गरी सात कलेजसहित देशभरका एक सय ९ कलेजमा नेविसंघले अध्यक्षमा जित हासिल गरेको छ।
‘कतिपय कलेजमा नेविसंघको प्यानलै विजयी भएको छ’, नेविसंघका प्रवक्ता सुरज सेजुवालले बताए। नेविसंघले नेपाल ल क्याम्पसको स्ववियु निर्वाचन गराउन माग गरेको छ। निर्वाचन मिति घोषणाको दबाब दिँदै नेविसंघ रिले अनसनमा बसेको छ। ‘त्रिविले नयाँ निर्वाचन तालिका सार्वजनिक गर्ने तदरुकता देखाएको छैन’, प्रवक्ता सेजुवालले भने, ‘नेविसंघले स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढाउन जोडदार माग गर्दछ’, उनले थपे, ‘नेविसंघले एक सय बढी कलेजमा जितेर अग्रता कायम गरेको छ। ल क्याम्पसमा तत्काल निर्वाचन तालिका सार्वजनिक हाम्रो माग हो। माग पूरा नभएसम्म रिले अनसन जारी हुन्छ ।’
यसैगरी एमालेनिकट अनेरास्ववियु काठमाडौंमा तीन कलेज गरी देशभर ९१ र एकीकृत माओवादीनिकट क्रान्तिकारी काठमाडौं उपत्यकामा ६ गरी ७६ मा विजयी भएको तथ्यांक छ।
प्रकाशित: ७ चैत्र २०८१ ०६:५१ बिहीबार