१८ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरान युद्ध रोक्न चीनले पहल बढायो : पाँच बुँदे शान्ति योजना सार्वजनिक

चीन र पाकिस्तानले इरानमा चलिरहेको युद्ध अन्त्य गर्न पाँच बुँदे योजना प्रस्तुत गरेका छन्। 

यसमा तत्काल युद्धविराम, शान्ति वार्ता छिट्टै सुरु गर्ने, नागरिक तथा गैर-सैनिक पूर्वाधार (जस्तै ऊर्जा पूर्वाधार र डिसेलिनेसन प्लान्ट) को सुरक्षा, स्ट्रेट अफ होर्मुजमा सामान्य समुद्री आवागमन पुनःस्थापना र संयुक्त राष्ट्रसंघको चार्टरअनुसार शान्ति ढाँचा निर्माण गर्ने कुरा समावेश छ।

पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इशाक डार युद्ध अन्त्यका लागि वार्ता गर्न चिनियाँ सहयोग माग्दै बेइजिङ गएपछि यो योजना तयार पारिएको हो। चिनियाँ विदेशमन्त्री वाङ यी सँग भएको भेटपछि दुवै देशले संयुक्त रूपमा यो पहल सार्वजनिक गरेका हुन्। चिनियाँ विदेश मन्त्रालयले दुई नेताले शान्तिको वकालत गर्ने दिशामा नयाँ प्रयास गरिरहेको बताएको छ।

इरान युद्धमा चीनको प्रतिक्रिया अहिलेसम्म निकै सन्तुलित रहेको छ। उसले इरानलाई राजनीतिक रुपमा मात्र समर्थन दिने उल्लेख गरेको छ। बेइजिङसँग तेलको ठुलो भण्डार छ। सोहीकारण अन्य एसियाली देशहरूको तुलनामा चीन तेलको अभावबाट बढी सुरक्षित छ। तर यो संकट लामो समयसम्म जारी रहेमा विश्वको कारखाना चीनको औद्योगिक क्षेत्र दीर्घकालीन रूपमा प्रभावित हुनेछ।

इरान युद्धले चीनका राष्ट्रपति सी जिनपिङको स्थिरताको चाहनालाई खतरामा पारेको छ। बेइजिङलाई वस्तु वृद्धि र निर्यात जारी राख्न स्थिर विश्व अर्थतन्त्र आवश्यक छ। अहिले द्वन्द्व सुरु भएको एक महिना बितिसकेको छ। विश्वमा इन्धनको मूल्य निरन्तर बढिरहेको बेला चीन सरकारले युद्धविरामका लागि यो पहल गरेको हो।

यसअघि पनि चीनले मध्यपूर्वमा शान्तिदूतको भूमिका निर्वाह गरिसकेको छ। सन् २०२३ मा चीनकै मध्यस्थतामा साउदी अरब र इरानबिच कूटनीतिक सम्बन्ध पुनःस्थापित भएको थियो। त्यसको एक वर्षपछि चीनले १४ प्यालेस्टिनी गुटहरूलाई एक ठाउँमा ल्याएर राष्ट्रिय एकता सरकार गठनमा सहयोग गरेको थियो।

इरानले यसअघि अमेरिकाको १५ बुँदे प्रस्ताव अस्वीकार गर्दै आफ्नै पाँच बुँदे प्रतिप्रस्ताव दिएको थियो। इरानले युद्ध क्षतिपूर्ति, हमला रोक्ने ग्यारेन्टी, अधिकारीहरूको हत्या रोक्ने, स्ट्रेट अफ होर्मुजमाथि आफ्नो सार्वभौमिकता स्वीकार गर्नुपर्ने र लेबनानलाई समेत समावेश गर्ने माग गरेको छ। 

अमेरिकी पक्षले इरानसँग वार्ता भइरहेको बताएको छ भने इजरायलले युद्धमा ‘आधाभन्दा बढी’ लक्ष्य बाँकी रहेको दाबी गर्दै आक्रमण जारी राखेको छ। तेहरानले पनि जवाफी हमला जारी राखेको छ। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध छिट्टै समाप्त गर्न सकिने संकेत दिएका छन्। उनले स्ट्रेट अफ होर्मुज बन्द रहँदा पनि युद्ध रोक्न तयार भएको बताएका छन्।

अहिलेसम्म कसैले पनि यस योजनालाई लिएर ठोस प्रतिक्रिया दिएका छैनन। तर यस पहललाई अगाडि बढाउँदा राष्ट्रपति सी जिनपिङले तटस्थ मध्यस्थकर्ता र शान्ति निर्माताको भूमिका खेल्न पाउँछन्। एजेन्सी 

प्रकाशित: १८ चैत्र २०८२ ११:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App