सार्वजनिक शिक्षा सुधारका लागि अभिभावक जागरण अभियान सम्पन्न गरेको ताप्लेजुङको मैवाखोला गाउँपालिकाले प्रत्येक वडाका अभिभावकबाट प्राप्त रायलाई एकीकृत गरी शिक्षा सुधारको कार्ययोजना बनाउने भएको छ।
गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार शिक्षा सुधारका लागि अभिभावकबाट प्राप्त बुँदागत सुझावलाई पालिकाको शिक्षा शाखामार्फत अभिलेखीकरण गर्न सुरु गरिएको हो। प्राप्त सुझावलाई समेटेर तयार हुने एकीकृत प्रतिवेदनका आधारमा गाउँ शिक्षा समितिले शैक्षिक सुधारको कार्ययोजना बनाउने उनले जानकारी दिए।
राष्ट्रिय शिक्षा अभियान नेपालका संयोजक अभिषेक घिमिरेले विज्ञको रूपमा सहजीकरण गरेको जागरण अभियानको क्रममा शिक्षा सुधारमा अभिभावकको भूमिका र जिम्मेवारीबारे पनि अवगत गराइएको गाउँपालिकाले जनाएको छ।
‘सार्वजनिक शिक्षामा सुधार नआएसम्म पालिकाको शैक्षिक अवस्थामा सकारात्मक परिवर्तन नआउने देखेर हामीले अभियान चलाएका हौं,’ पालिका अध्यक्ष वनेमले भने, ‘यसले शिक्षाका सबै सरोकारवालाको आगामी भूमिका समेत दर्शाएको छ।’ उनले शैक्षिक जागरणका लागि अहिलेसम्म भएका प्रयासहरूबाट प्राप्त पृष्ठपोषण र सुझावहरू एकीकृत गरी पालिकाले शैक्षिक सुधारको बृहत्तर कार्ययोजना अघि सार्ने समेत जानकारी दिए।
सार्वजनिक शिक्षा सुधारको पहिलो प्रयास स्वरूप मैवाखोला गाउँपालिकाले गत जेठ महिनाको दोस्रो साता दुईदिने बृहत् शैक्षिक सम्मेलन गरेको थियो। शैक्षिक सम्मेलनमार्फत विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक र अभिभावकले निर्वाह गर्नुपर्ने भूमिकाका बारे श्वेतपत्र जारी भएका थिए। पालिकाले शिक्षा सुधारका लागि गर्नुपर्ने नीतिगत प्रबन्धको जिम्मेवारीसहितको संकल्पपत्र समेत जारी गरेको थियो।
पालिकाका ६ वटै वडाका अभिभावकहरूसँग शिक्षा सुधारका उपाय, विकल्प र जिम्मेवारीबारे बृहत् छलफल भएको र प्राप्त सुझावलाई एकीकृत गरी कार्ययोजना बनाउने अभियानमा अग्रसर हुने पालिकाका शिक्षा अधिकृत लक्ष्मीमाया गोम्देन बताउँछिन्। सार्वजनिक शिक्षाका लागि अभिभावक जागरण अभियान शिक्षाका सरोकारवालाको मागका आधारमा गाउँपालिकाले अघि बढाएको पालिकाले जनाएको छ।
सार्वजनिक शिक्षा सुधारका लागि सरोकारवालाको राय तथा सुझावका आधारमा पालिकाले शैक्षिक योजना बनाउने र कार्यान्वयन गर्ने नीति लिएको छ। पालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु थापा पालिकामा अहिलेसम्म शिक्षा सुधारका लागि भएका अभियानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै शैक्षिक विकासको उन्नत नतिजाका लागि उच्च तहको कार्ययोजना तयार हुनेमा विश्वस्त छन्।
अघिल्लो वर्ष कक्षा ८ को पालिका स्तरीय वार्षिक परीक्षाको नतिजाले झस्काएको मैवाखोलाले सार्वजनिक शिक्षा सुधार नगरी थप शैक्षिक प्रगति नहुने ठम्याएको छ। उतिबेला कक्षा ८ को वार्षिक परीक्षामा पालिकाभरीमा ५ जना मात्र उत्तीर्ण भएपछि मैवाखोलाले ननग्रेड विद्यार्थीले कक्षा ८ को पढाइ दोहोर्याउने निर्णय लिएको थियो। दुई विषयमा अनुत्तीर्ण भएका विद्यार्थीले ग्रेडवृद्धि परीक्षा लेख्न पाएका थिए भने अरूले कक्षा ८ को पढाइ नै दोहोर्याएका थिए।
पालिका अध्यक्ष वनेमले यो कार्यमा पालिकाले जोखिमनै मोलेको बताउँदै सार्वजनिक शिक्षा सुधार नगरी नहुने देखेर त्यसपछि शिक्षा सुधारको अभियान अघि बढेको बताउँछन्। सुखद् नतिजाकै लागि रिस्क मोल्न पनि तयार भएका हौं’सार्वजनिक शिक्षा सुधारको अभियानलाई गति दिएको बताउँदै वनेमले भने, ‘अब शिक्षामा परिवर्तन आउँछ, सुखद् परिणाम ल्याएरै छाड्छौं।’ उनले सार्वजनिक शिक्षा सुधार पालिकाको जिम्मेवारी र अधिकार भएकोले पालिकाको अग्रसरता बढेको बताए।
नेपालको संविधानमा माध्यमिकसम्मको शिक्षाको अधिकार, दायित्व र जिम्मेवारी स्थानीय सरकारको हुने गरी एकल अधिकार समेत प्रदान गरिएको छ ।
प्रकाशित: ११ पुस २०८१ १३:५४ बिहीबार