१६ माघ २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

जेन-जी आन्दोलनमा आधारित ‘विगुल’ फागुन-१ देखि

आगामी फागुन १ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘विगुल’को निर्माण पक्ष देश दौडाहामा छ ।

चलचित्रका निर्माता तथा लेखक दिनेश कोइराला, निर्देशक रमेश कोइरालालगाएत कलाकारसहितको टोली प्रमोशनका लागि देशदौडाहमा निस्कीएको हो । पूर्वमोरङबाट प्रमोशन यात्रा तय गरेको चलचित्रको टोली शुक्रबार दाङ आइपुगेको छ ।  

अहिलेसम्म  दर्जन बढि शहरहरुमा यसको प्रमोशन गरिसकिएको छ । शुक्रबार निर्माण पक्षले दाङमा चलचित्र बारे जानकारी गराएको छ । चलचित्र निर्माणपक्षले यो चलचित्रलाई गत भदौ २३ गते भएको जेन-जी आन्दोलन प्रति समर्पित चलचित्र भनेको छ ।  

कार्यक्रममा निर्माता कोइरालाले भने ‘यसको कथा वस्तु देश परिवर्तनका लागि हरेक पक्षबाट खेलिनु पर्ने भूमिकालाई सुक्ष्म रुपमा देखाइएको छ, मूलतः यो चलचित्रको कथावस्तु गत भदौ २३ को जेन-जी आन्दोलनको मर्म र म्याण्डेटसंग मिलेको छ, फलतः हामीले यो चलचित्रलाई जेन-जी आन्दोलन प्रति समर्पित चलचित्र भनेका छौँ ।’  

उनका अनुसार चलचित्रले राजनीति वा राज्यका शाशकका कारण परिवार, समाज तथा सिंगो देशमा पारिरहेको प्रभावलाई उजागर गरिदिएको छ । राज्यका शाशकले गल्ती गर्दा परिवार, समाज तथा सिंगो देशमा परिरहेको नकारात्मक प्रभावलाइ चलचित्रका माध्यमबाट सुक्ष्म रुपमा देखाउन खोजिएको निर्माता कोइरालाले जानकारी दिए । साथै यस्तो नकारात्मक प्रभावबाट मुलुकलाई जोगाउनका लागि युवाहरुको भूमिका कस्तो हुनुपर्छ भन्ने सन्देश समेत चलचित्रका माध्यमबाट आफूले दोखाउन खोजेको कोइरालाले जानकारी दिए । ‘राज्यले गल्ती गर्दा मुलुकले बेहोर्नु पर्ने असर कस्तो हुन्छ ? भनेर हामीले चलचित्रको कथा मार्फत प्रस्तुत गर्न खोजेका छौँ,’ निर्माता कोइरालाले भने ‘साथै यसको समाधानका लागि युवा, महिलाहरुको भूमिका कस्तो हुनुपर्छ भन्ने सन्देश समेत चलचित्रले दिएको छ ।’

नायक नरेन्द्र खड्का र नायिका बेनिशा हमालको मूख्य भूमिका रहेको यो चलचित्रमा निर शाह, विनोद न्यौपाने,रमेश बुढाथोकी, सरोज खनाल,हेमन्त बुढाथोकी,शिशिर वाङ्देल लगाएतका कलाकारहरुको भूमिका रहेको छ । रमेश कोइरालाद्धारा निर्देशित यो चलचित्रमा मिरा पण्डित र मानु श्री शर्माले डेब्यू गरेका छन् । चलचित्रको कथा निर्माता दिनेश कोइरालाले लेखेका हुन् । गत वैशाख र जेठ महिनामा छायांकन गरिएको यो चलचित्रले बाबु छोरीको कथाबाट सुरु भएको विगुल राष्ट्रिय हीतका लागि सन्देश दिएर टुंगिने निर्देशक रमेश कोइरालाले जानकारी दिए ।  

कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले दिनेश कोइरालाको ब्यक्तिगत पृष्ठभूमि बारे आफू जानकार भएको र उनले चलचित्रको कथा लेखन वास्तविकतामा आधारित भएको बिश्वास व्यक्त गरे । समाज सुधार तथा राजनीतिक सुधारका निम्ती कोइरालाले खेलेको भूमिका बारे आफू जानकार रहेको भन्दै पोख्रेलले कोइरालाको त्यहि चाहना र भूमिका चलचित्रमा देख्न पाइनेमा आफू बिश्वस्त रहेको वताए । कार्यक्रम त्रिभुवननगर जेसिजको समन्वयमा भएको थियो । विभिन्न विधाका जानकारहरुको सहभागीतामा गरिएको प्रमोशन कार्यक्रममा निर्माता दिनेश कोइराला, निर्देशन रमेश कोइराला, नायक नरेन्द्र खड्का लगाएत सहभागी थिए । 

प्रकाशित: ९ माघ २०८२ १९:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App