२३ आश्विन २०८१ बुधबार
image/svg+xml
शिक्षा

नेपालमा कलिंग विश्वविद्यालय खोल्ने सामन्त सपना

प्राध्यापक अच्युत सामन्त एउटा यस्तो विचारधारा हो, जो समाजमा कायम गलत विचारको परिवर्तन गर्न जुटेको छ। कुनै पनि बालबालिका गाँस, बास र कपासका साथै मुख्य रूपमा ज्ञानको ज्योतिबाट वञ्चित हुनु नपरोस् भन्ने सोचले भारतमा कलिंग विश्वविद्यालय खोल्ने व्यक्तित्व हुन् उनी। अब उनको एउटै चाहना छ, ‘नेपालमा पनि यस्तै एटा शैक्षिक संस्था खोलेर आदिवासी, जनजाति, गरिब, निमुखाका लागि निःशुल्क शिक्षा उपलब्ध गराउने’।

त्यही भएर उनले राजधानीमा उक्त विश्वविद्यालयबाट पासआउट नेपाली विद्यार्थीका एल्मुनाईले आयोजना गरेको  सामन्तको सम्मान कार्यक्रममा आफ्नो इच्छा स्पष्ट रूपमै राखे, ‘मलाई नेपालमा पनि यस्तै एउटा शैक्षिक संस्था खोल्ने ठुलो इच्छा छ। 

जसमा गरिब, निमुखा, आदिवासी, जनजाति, दलित मधेसीलगायत आर्थिक, सामाजिक र शैक्षिक रूपमा पछाडि परेका बालबालिकालाई शिशु कक्षादेखि विद्यावारिधिसम्म निःशुल्क उपलब्ध होस्।’ रसायन शास्त्रका प्राध्यापक सामन्त भन्छन्, ‘तर के गर्ने कानुनी प्रक्रिया निकै झन्झटिलो रहेछ । मेरो यो सपना पूरा हुन समय लाग्ने देखियो।’ साथै उनले यति बेलासम्मका लागि भारतकै कलिंग विश्वविद्यालयमा अध्ययन गर्न रुचि राख्ने नेपाली आदिवासि, जनजाति, दलित, मधेसी तथा आर्थिक, सामाजिक र शैक्षिक रूपमा पछाडि परेका विद्यार्थीलाई निःशुल्क पठनपाठनको व्यवस्था गरिदिने जनाए।

सामन्त भारतको एउटा यस्तो शिक्षासेवी हुन्, जसले आफ्नो कलिंग शैक्षिक संस्थाबाट हालसम्म ८० हजार आदिवासी जनजाति विद्यार्थीलई गाँस, बास र कपास उपलब्ध गराएर शिशु कक्षादेखि विद्यावारिधिसम्मको शिक्षा निःशुल्क उपलब्ध गराइसकेका छन् भने आदिवासीकै लागि स्थापना गरेका किस विश्वविद्यालयमा हाल ४० हजार विद्यार्थी निःशुल्क शिक्षा हासिल गरिरहेका छन्।

उनले भारत मात्र नभएर विश्वकै आदिवासि जनजाति बालबालिका लागि कलिंग इन्स्टिच्युट अफ सोसियल साइन्स (किस) संस्थाकै स्थापना गरी शिक्षा उपलब्ध गराउँदै आएका छन्। उनले आफूले भोगेको पीडा अरू कुनै आदिवासी जनजाति वा आर्थिक रूपमा विपन्न भएको परिवारका बालबालिकाले भोग्नु नपरोस् भन्ने लक्ष्यले किस संस्था स्थापना गरेका हुन्।

‘म चार सालको बच्चा थिएँ । मेरो पिताजीको ट्रेन दुर्घनामा मृत्यु भयो,’ उनले भने। उनका पिताको देहान्तपछि उनले झेलेको गरिबीको पीडा उनले राम्ररी बुझेकैले आफू शिक्षा क्षेत्रमा समर्पित हुन पुगेको सुनाए। ‘पिताको पार्थिव शरीर अस्पतालमा थियो। हामीलाई घरमा ल्याउन पनि डर थियो किनभने पिताजीले लिएको उधारोका कारण हामीले बुवाको अन्तिम संस्कार गर्न पाउने कि नपाउने भन्ने,’ उनले भावुक हुँदै भने, ‘आमाको इसाराबाट दाजुले पिताको पार्थिव शरीर घरमा नल्याई अस्पतालबाटै घाटतर्फ लगेको मलाई अझै सम्झना छ।

एउटा विधवा आमाले हामी सात भाइबहिनीलाई हुर्काको दुःखपीडाले मलाई आफूजस्तैको निःशुल्क भरणपोषण र शिक्षादीक्षाका लागि समर्पित बनायो।’ यही दुःख, दरिद्रता, भोकमरी र सामाजिक रूपमा भएको अपमान कस्तो हुन्छ ? भन्ने उनले आफूले राम्ररी बुझेको बताए। ‘मैले बाल्यकालदेखि भोगेको देखेको गरिबी र भोकमरीलाई दुर गर्न शिक्षा एउटा ठुलो माध्यम रहेको बुझेर कलिंग शैक्षिक संस्था स्थापना गरेँ,’ उनले भने, ‘मेरा अन्य दुई शैक्षिक संस्था किट अर्थात् कलिंग इन्स्टिच्युट अफ टेक्नोलोजी र कलिंग मेडिकल साइन्समा विद्यार्थीले तिरेको शुल्कबाट मैले किसमा शिशुकक्षादेखि विद्यावारिधिसम्मको शिक्षा निःशुल्क गरेको छु। त्यो निःशुल्क शिक्षामा वार्षिक सात अर्ब खर्च हुन्छ।’

उनले किट संस्थाबाट हालसम्म ६ सय नेपाली विद्यार्थी पास आउट भइसकेको र एक हजार विद्यार्थीले अध्ययन गरिरहेको बताए। किट विश्वविद्यालयका साथै मेडिकलमा समेत आर्थिक रूपमा कमजोर रहेका नेपाली विद्यार्थीलाई निःशुल्क पढाउनेछु,’ सामन्तले भने, ‘नेपाली विद्यार्थी निकै मिहिनेती, लगनशील र क्षमतावान् रहेको मैले पाएको छु। साथै नेपाल र भारतको खानपान, संस्कृति पनि उस्तै भएकाले विद्यार्थीलाई सहज बन्ने मेरो विश्वास छ।’

सामन्तले आफू विश्वका ६५ देशमा भ्रमण गरिसकेको भए पनि नेपाल जस्तो सुन्दर, शान्त र आतिथ्य सत्कारले भरिएको देश अरू कतै नभएको आफूले महसुस गरेको अनुभव सुनाए। भारतको उडिसामा जन्मिएका सादा जीवन र उच्च विचारले भरिपूर्ण सामन्तको शैक्षिक संस्थामा ६५ देशका २ हजार विद्यार्थी अध्ययनरत रहेकामा सबै भन्दा बढी नेपालका रहेको उनले जनाए।

‘सन् १९९७ मा मैले पहिलो विदेशी विद्यार्थीको रूपमा किट विश्वविद्यालयमा नेपाली विद्यार्थी पाएको हुँ। यो मेरा लागि खुसीको विषय हो,’ उनले भने, ‘मैले सन् १९९५ मा पहिलो पटक नेपाल आउँदा स्वामी आनन्द अरुणजीकहाँ आएको थिएँ।’ उनको सम्मान कार्यक्रममा स्वामी आनन्द अरूणले सामन्तले शिक्षामार्फत आदिवासीको उत्थानमा खेलेको भूमिका र उनको जीवनयात्रा र उनको कामबाट आफूले पाएको प्रेरणाको मुक्तकण्ठले प्रशंसा गरेका थिए। 

‘मैले आफैं किस विश्वविद्यालयमा गएर हेरें। एउटा बच्चामाथि अन्दाजी मासिक २० हजार खर्च हुँदो रहेछ। मैले हिसाब गरें। मेरो दिमाग नै घुम्यो,’ स्वामी अरूणले सामन्तको कामको प्रशंसा गर्दै भने, ‘४० हजार विद्यार्थी गरिब, आदिवासी र निमुखा बच्चा किसमा पढ्दा रहेछन्। सानो आइटिआई इन्जिनियरिङ कलेज खोलेर दुईचार विद्यार्थीबाट सुरु गरेको सामन्तको यात्रा अहिले नोवेल पुरस्कारका लागि छनोट हुँदैछ। यो निकै गर्वको विषय हो।’ 

६० वर्षीय सामन्त हालसम्म विश्वका ६० विश्वविद्यालयको विद्यावारिधि उपाधिबाट सम्मानित भइसकेका छन् भने दुई पटक लोकसभा सांसद भइसकेका उनी युएन अवार्डबाट समेत सम्मानित भएका छन्।

प्रकाशित: २६ भाद्र २०८१ ०७:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App