१५ पुस २०८१ सोमबार
image/svg+xml
शिक्षा

कोरियन भाषा पढाउँदै कालिकोटको तिला विद्यालय,भर्ना हुने विद्यार्थी ह्वात्तै बढे

कालिकोटको महाबै गाउँपालिका–२ गैराखाडामा रहेको तिला माध्यमिक विद्यालयले कोरियन भाषा पढाउने भएको छ।

कक्षा ११ र १२ का विद्यार्थीहरूका लागि कोरियन भाषा पढाउन लागिएको विद्यालयले जनाएको छ। विद्यालयले व्यवस्थापनतर्फ ऐच्छिक विषयका रुपमा कोरियन भाषा पढाउने निर्णय गरेको हो।

सामाजिक सञ्जालमा विद्यालयमा कोरियन भाषा पढाउन लागेको भन्दै विरोध भएपनि विद्यार्थी र समयको माग अनुसार आफूहरूले कक्षा ११ र १२ मा व्यवस्थापनतर्फ ऐच्छिक विषयका रुपमा यसलाई समावेश गरिएको विद्यालयका लेखापाल भिमराज मल्लले जानकारी दिए।

‘पाठ्यक्रममै भएको विषय हामीले पढाउँदैछौं, व्यवस्थापनतर्फ ऐच्छिक तेस्रो विषय हो, जुन १०० पूर्णाङ्कको हुन्छ,’ उनले भने, ‘सामाजिक सञ्जालमा अनावश्यक विरोध भएपनि यो विषय पढ्नेहरूको संख्या ठूलो छ।’

विद्यालयले यहीँ २४ गते कोरियन भाषा शिक्षकका लागि दर्खास्त आव्हान गरेको थियो। कोरियन भाषा अध्ययन गराउन लेभल–३ पढाई पूरा गरेको शिक्षक विद्यालयले खोजेको छ। हालसम्म लेभल–२ को अध्ययन पूरा गरेकाहरू सम्पर्कमा आएको उनले जानकारी दिए।

विद्यालयले पहिलो वर्ष ४० जना विद्यार्थीलाई पढाउने लक्ष्य लिएको छ। ‘सुरुमा शिक्षकका लागि दर्खास्त आव्हान गरेका हौँ, एक–दुई दिनभित्र विद्यार्थी भर्ना सम्बन्धी सूचना जारी गर्दैछौं,’ उनले भने, ‘कोरियन भाषा पढाउने शिक्षकको दर्खास्त आव्हानसँगै भर्ना हुने विद्यार्थीको चासो ह्वात्तै बढेको छ।’

उनले कक्षा ११ र १२ मा कोरियन भाषा अध्ययन गरेका विद्यार्थीहरूलाई कोरियामा अध्ययनका लागि पनि अवसर हुन्छ। ‘यसका साथै रोजगारीका लागि जानेहरूका लागि पनि अध्ययनले फाइदा पुग्छ,’ गाउँपालिका अध्यक्ष खेम सिंहले भने, ‘नयाँ विषय भएकाले गाउँतिर उत्साह छ, तर सामाजिक सञ्जालतिर नबुझेर विरोध भइरहेको छ।’

अहिले गाउँबाट शहरतिर कोरियन भाषा पढ्न आउनेहरूको लहर छ। महाबैबाट मात्रै झण्डै पाँच सय बढी युवाहरू कोरियन भाषा अध्ययनका लागि सुर्खेत, नेपालगञ्ज, काठमाडौं लगायतका ठाउँमा छन्। ‘शहरतिर गएर महँगो पैसा तिरेर कोरियन भाषा अध्ययन गर्नुपर्ने बाध्यताको अन्त्य गर्नका लागि गाउँकै विद्यालयमा कोरियन भाषा पढाउन लागिएको हो,’ अध्यक्ष सिंहले भने, ‘१२ कक्षा उत्तीर्ण गरेपछि थप अध्ययनका लागि कोरिया जान सहज हुने र कामका लागि पनि कोरिया जान युवाहरूलाई सहज हुने अपेक्षा हामीले लिएका छौँ।’

प्रकाशित: २९ श्रावण २०८१ १८:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App