२३ भाद्र २०८१ आइतबार
image/svg+xml
शिक्षा

काठमाडौंमा विज्ञान पढ्ने बढी, अन्य विषयमा छात्रावृत्ति खाली

काठमाडौं महानगरपालिकाको शिक्षा विभागले सोमबार कक्षा ११ को छात्रवृत्ति परीक्षाको नतिजा सार्वजनिक गर्‍यो। यस नतिजाले विज्ञान विषयमा अध्ययन गर्ने विद्यार्थीहरूको रुचि अन्य विषयहरूको तुलनामा धेरै देखाएको छ।

विज्ञान विषयको महँगो शुल्कका कारण विद्यार्थीहरूमा छात्रवृत्तिको आकर्षण विज्ञानतर्फ बढी भएको महानगरले जनाएको छ। विज्ञान, व्यवस्थापन, कानुन, शिक्षा, र मानविकी विषयका लागि कुल ४ हजार ६ सय २९ छात्रवृत्ति कोटाको लागि परीक्षा लिइएको थियो।

कुल ११ हजार ८७१ विद्यार्थीमध्ये ११ हजार २८१ जनाको आवेदन स्वीकृत भएकोमा १० हजार १६८ जनाले परीक्षा दिएका थिए। तीमध्ये ८ हजार १९७ जना उत्तीर्ण भएका छन्।

विज्ञान विषयका लागि १ हजार ७५७ छात्रवृत्ति कोटा रहेकोमा ८ हजार ४९७ आवेदन पर्‍यो। परीक्षामा ७ हजार ६६५ जना सहभागी भए र ६ हजार ७२० पास भए।

व्यवस्थापन विषयमा २ हजार ४९३ छात्रवृत्ति कोटाका लागि २ हजार ५८१ आवेदन परेका थिए, जसमा २ हजार ३२८ जनाले परीक्षा दिए र १ हजार ३८१ जना मात्र उत्तीर्ण भए। व्यवस्थापनमा छात्रवृत्तिका लागि छुट्याइएको कोटामध्ये ५० प्रतिशत नै खाली रहेको छ।

कानुन विषयमा १३६ छात्रवृत्तिका लागि १५३ जनाले आवेदन दिएका थिए। जसमा १३२ जनाले परीक्षा दिए र ७३ जना मात्र पास भए। मानविकी विषयका लागि १७३ छात्रवृत्तिका लागि १३ जनाले मात्र आवेदन दिए। आवेदन दिएका ११ जनाले परीक्षा दिए र ८ जना मात्र उत्तीर्ण भए। शिक्षा विषयका लागि ७० छात्रवृत्तिका लागि ३७ आवेदन आए, जसमा ३२ जनाले परीक्षा दिए र १५ जना मात्र उत्तीर्ण भए।

महानगरका सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाका अनुसार, काठमाडौंमा विज्ञान पढाइको शुल्क महँगो भएका कारण विद्यार्थीहरू अभिभावकको आर्थिक भार कम गर्न विज्ञान विषय रोजिरहेका छन्।

काठमाडौं महानगरभित्र बर्सेनि कक्षा ११ मा कुल ४६ हजार २९० विद्यार्थी निजी शिक्षण संस्थाहरुमा विभिन्न विषय अध्ययन गर्ने गरेको तथ्यांक छ। सदस्य झाले भने, "निजी विद्यालयले १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनु पर्ने कानुनी व्यवस्था अनुसार खाली कोटामा समेत विद्यालयले मापदण्ड अनुसार छात्रवृत्ति उपलब्ध गराउनेछ।"

यस पटकको एसइईमा ५२ प्रतिशत विद्यार्थी फेल भएकोले उनीहरु छात्रवृत्तिको अवसरबाट बन्चित बनेकोले पनि अन्य विषयमा कोटा खाली हुन गएको उनको भनाइ छ। इन्जिनियर झा भन्छन् ‘अर्को तर्फ काठमाडौंमा विज्ञान पढाइ निकै महँगो शुल्कमा हुन्छ। यस कारण बढी भन्दा बढी विद्यार्थी अभिभावकको आर्थिक भार कम गर्न विज्ञान रोजेको बुझिन्छ।’

झाले महानगर शिक्षा विभागको व्यवस्थित नियम र अनुगमन महत्त्वपूर्ण हुने दाबी गरे। विद्यालयहरुले आ-आफ्नो स्कुलमा उपलब्ध गराउने पर्ने छात्रवृत्तिको तथ्यांक अनिवार्य व्यवस्था महानगर शिक्षा विभागले गरेको छ।

यसैबीच महानगरमा प्रमुख बालेन्द्र साह (बालेन) ले सामाजिक संजाल मार्फत छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरुलाई नतिजामा दाबी विरोध भएमा प्रमाण पुग्ने कागजातसहित र प्राप्ताङ्कमा चित्त नबुझे वेभ साइटमा उपलब्ध अनुसूची ३ बमोजिमको फाराम भरेर साउन १० गते बेलुका ५ बजेभित्र अनलाइनबाटै पुनर्योगका लागि निवेदन दिन आग्रह गरेका छन्।

पुनर्योग र दाबी विरोधको अवधि सकिएपछि प्राथमिकता क्रम अनुसारको साधारण र समूहगत म्याचिङ् लिष्ट प्रकाशन हुनेछ। यसको प्राथमिकता भनेको विद्यार्थीले आवेदन दिँदा छनोट गरेको शिक्षण संस्था र विषय हो।

‘सूची अनुसारको कोटा खाली हुन गए, दोस्रो सूचीबाट पूरा गराइनेछ, मेयर बालेनले समाजिक सञ्जालमा लेखेका छन्, ‘यसबाट पनि कोटा पूरा नभए विषय र शिक्षण संस्था परिवर्तन गर्न चाहने विद्यार्थीहरुलाई भर्नाका लागि अवसर दिइनेछ।’ महानगर भित्र निजी शिक्षण संस्थाहरूले उपलब्ध गराउने छात्रवृत्तिको लाभ सबैले लिउन् भन्ने लक्ष्य मेयर बालेनको छ।

‘योग्यता क्रम निर्धारण गर्दा उच्च अङ्क प्राप्त गर्नेलाई योग्यताको पहिलो क्रममा राखिएको छ। यो अङ्क बराबर प्राप्त भएकाहरुका हकमा एसइईको जिपिएलाई आधार मानिएको छ, ’मेयर साहले सामाजिक सञ्जालमा महानगरको निर्णय उल्लेख गरेका छन्,‘ जिपिए पनि बराबर भए गणित विषयको अङ्क, त्यो पनि बराबर भए विज्ञान विषयको अङ्क, त्यो पनि बराबर भए अङ्ग्रेजी विषयको अङ्क, त्यो पनि बराबर भए सामान्य ज्ञानको अङ्कलाई योग्यताको सूचक मानिएको छ। उनले थप लेखेका छन्, ‘सो पनि बराबर भए उमेरमा कनिष्ठ हुनेलाई प्राथमिकता दिने महानगरको निर्णय हो।’

योसम्म पनि बराबर भए छात्रवृत्ति समितिको निर्णय अन्तिम हुने पद्धतिका आधारमा योग्यता क्रम निर्धारण गरिएको शिक्षा विभाग प्रमुख गोविन्दप्रसाद शर्माले जनाए।

प्रकाशित: ९ श्रावण २०८१ १७:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App