१३ भाद्र २०८१ बिहीबार
image/svg+xml
शिक्षा

नेपालमा आइबिएमको विद्यालय कार्यक्रम: ‘प्लस टु’ का विद्यार्थीलाई उद्यमी बनाउने लक्ष्य

कुनै समय थियो, जब विद्यार्थीहरूले विद्यालयको कालोपाटीमा खरीले लेखेर अध्ययन गर्थे। हातमा किताब, पाटी, र खरी मात्र हुन्थ्यो। तर अहिलेको समय बदलिएको छ। विश्वभर परम्परागत शिक्षा प्रणालीबाट आधुनिक शिक्षामा प्रवेश गरिसकेपछि डिजिटल शिक्षाको प्रयोग बढ्दै गएको छ।

आजकल विद्यार्थीहरू बच्चैदेखि मोबाइल, ल्यापटप, र कम्प्युटर चलाउन थालेका छन्। तर पनि नेपालको शिक्षा प्रणालीले समयको गतिलाई राम्रोसँग समात्न सकेको छैन। विद्यालयमा प्रविधिबारे आवश्यक शिक्षाको अभाव हुँदा प्लस टुका विद्यार्थीहरू अझै "स्मार्ट" बन्न सकेका छैनन्।

सूचना प्रविधिमा आइरहेका नयाँ प्रविधिहरूको सामना गर्न र अवसरको सदुपयोग गर्न सक्षम बनाउन पनि नेपालमा आइबीएमको विश्वस्तरीय विद्यालय कार्यक्रम ल्याइएको छ।

भारतको ट्रान्सन्यूरनसँगको सहकार्यमा एसियन इ–लर्निङले कक्षा ५ देखि १२ सम्मका विद्यार्थीहरूका लागि तयार गरिएको यो कार्यक्रम नेपालमा भित्र्याएको हो।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र मेशिन लर्निङ, साइबर सुरक्षा, र ब्लकचेन जस्ता प्रमुख प्रविधिहरू समेटेर नेपालमा पहिलो पटक सुरु गरिएको यस कार्यक्रममा ४० देखि ६० घण्टाका सातवटा विभिन्न कोर्सहरू समावेश छन्।

आइबीएमले विश्वकै अग्रणी प्रविधि कम्पनीको रूपमा पहिचान बनाएको छ। सन् १९८१ मा पहिलो पर्सनल कम्प्युटर बजारमा ल्याउने कम्पनीले संसारकै उच्च गतिका सुपर कम्प्युटरहरू निर्माण गरेको छ।

एआई र मेशिन लर्निङ लक्षित वाट्सन सुपर कम्प्युटर निर्माण गरेर एआई क्षेत्रमा नेतृत्व गरेको आइबीएमले एटीएम, फ्लपी डिस्क, हार्ड डिस्क ड्राइभ लगायतका थुप्रै प्रविधिको आविष्कार गरेको छ। आइबीएमका ६ जना कर्मचारीहरूले विभिन्न आविष्कारका लागि नोबेल पुरस्कार प्राप्त गरेका छन्।

आइबिएमको यस कार्यक्रम अन्तर्गत तीन चरणका कोर्सहरू राखिएका छन्: एक्सप्लोरर, डिस्कभरर, र इनोभेटर। एक्सप्लोररको नारा “प्रविधिलाई माया गर्नुस्” रहेको छ, जसमा आइबिएमकै प्रशिक्षकबाट फेस टु फेस कक्षा र गेष्ट लेक्चररको व्यवस्था छ। डिस्कभररले विद्यार्थीलाई प्रोग्रामिङमा अब्बल बनाउने लक्ष्य राखेको छ। इनोभेटरले विद्यार्थीलाई उद्यमी बन्न प्रेरित गर्छ, जसको नारा “तपाई उद्यमीजसरी सोच्नुहोस्” रहेको छ।

एसियन इ–लर्निङका प्रबन्ध निर्देशक सुबोध त्रिपाठी भन्छन्, “आइटीको नविनतम प्रविधिहरुको ज्ञान बिना दक्षता हासिल गर्न सम्भव छैन। भविश्यमा गएर आइटी क्षेत्रमै करिअर बनाउँछु भन्ने विद्यार्थीहरूको लागि यो कोर्ष वरदान सरह नै छ।”

कोर्स सातामा एक दिन एक देखि डेढ घण्टा पढाइने गरी ४० देखि ६० घण्टासम्मको हुनेछ। यो कोर्स ७० प्रतिशत अनलाइन र ३० प्रतिशत अफलाइन माध्यमबाट संचालन गरिनेछ। विद्यार्थीले इनोभेटर कोर्सको दौरान तयार गर्ने प्रोजेक्टहरू भेन्चर क्यापिटलिस्ट प्यानल तथा स्टार्टअप फन्डहरू सामु प्रस्तुत गर्ने व्यवस्था मिलाइएको छ।

त्रिपाठी भन्छन्, “नेपालमा पनि निकट भविश्यमै आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सुरक्षा र ब्लकचेन प्रविधिहरुको प्रयोग व्यापक हुँदैछ। हाम्रो भावी पिढींले नवीन प्रविधिहरुको प्रयोग सुरक्षित, विश्वसनीय र नैतिक हिसाबले गर्न सकोस् भन्ने हेतुले हामीले यो कोर्स नेपालमा लिएर आएका हौं।”

यो कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेपछि विद्यार्थीले विश्वभर मान्यता पाउने आइबिएमको ग्लोबल सर्टिफिकेट पनि पाउनेछन्।

एसियन इ–लर्निङले यो कोर्स प्रदेश तथा स्थानीय सरकारसँगको सहकार्यमा सामुदायिक विद्यालयहरूमा समेत पुर्याउने लक्ष्य लिएको छ। अध्यक्ष त्रिपाठी भन्छन्, “कम्प्युटर ल्याब र कम्प्युटर शिक्षक भएका सामुदायिक स्कुल र प्लस टुका ५ हजार विद्यार्थीलाई यो कोर्स उपलब्ध गराउने प्रस्ताव गरेका छौं।”

प्रकाशित: २ श्रावण २०८१ २२:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App