२३ भाद्र २०८१ आइतबार
image/svg+xml
शिक्षा

प्लस टु सक्ने अनि विदेश जाने

भक्तपुरबाट एसइईमा उत्कृष्ट नतिजासहित उत्तीर्ण विद्यार्थीमध्ये अधिकतरले ‘प्लस टु’ सकेपछि बिदेसिने योजना रहेको सुनाएका छन्। उत्कृष्ट नतिजासहित एसइई पास गरेका विद्यार्थीले बुधबार यहाँ आयोजित सम्मान कार्यक्रमका क्रममा नागरिकसँग छुट्टाछुट्टै कुराकानीमा प्लस टु सकेपछि उच्चशिक्षाका लागि विदेश जाने योजना बनाएको बताएका हुन्।नेपाल प्रेस सोसाइटीले चार जिपिएसहित एसइई उत्तीर्ण भक्तपुरका विद्यार्थीको सम्मान गरेको हो। सम्मानितमध्ये अधिकतरले प्लस टुमा विज्ञान विषय अध्ययन गर्ने  बताए। 

भक्तपुरबाट एसइई–२०८० मा ६ विद्यालयका ६ जनाले चार जिपिए ल्याएका छन्। नेपाली कांग्रेस भक्तपुरका सभापति एवं भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित दुर्लभ थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियार र बागमती प्रदेशका सांसद किरण थापाले संयुक्त रूपमा उनीहरूलाई सम्मान गरेका हुन्।  

सूर्यविनायक नगरपालिकाका चारवटा स्कुलका चारजना, भक्तपुर नगरपालिकाको एउटा विद्यालयका एकजना र मध्यपुर थिमि नगरपालिकाका एउटा स्कुलका एकजनाले चार जिपिए ल्याएका छन्। जिल्लामा चाँगुनारायण नगरपालिका पनि पर्छ। तर चाँगुअन्तर्गत कुनै पनि विद्यालयका विद्यार्थीले चार जिपिए ल्याउन सकेनन्।

सूर्यविनायक नगरपालिकास्थित मोर्डन इंग्लिस स्कुल दधिकोटका बुमिरा माकजू, युनिटी इंग्लिस स्कुल कटुन्जेका आशिष थापा क्षेत्री, मनोरम बोर्डिङ सेकेन्डरी स्कुल कटुन्जेका प्रनिसा बखुन्छें र हिमाल एकेडेमी गुण्डुकी विपना मिश्रले चार जिपिए ल्याएका छन्। 

त्यस्तै मेधा मावि तेखापुखु भक्तपुरका अंशुदिल प्रजापति र मध्यपुर थिमि नगरपालिकाअन्तर्गत एसओएस हर्मन माइनर माविका आर्यन न्यौपाने चार जिपिए ल्याउन सफल भएका छन्।

विद्यार्थी थापा क्षेत्रीले इन्जिनियर बन्ने सपना बोकेको बताए। उनले त्यसका लागि प्लस टुमा विज्ञान विषय लिएर पढ्ने सुनाए। प्लस टु सकेपछि उच्चशिक्षाका लागि भने विदेश जाने योजना बनाएको उनको धारणा थियो। 

बखुन्छेंले पनि प्लस टुमा विज्ञान विषय लिएर पढ्ने र पछि गएर आर्किटेक्ट इन्जिनियर बन्ने सपना पालेको बताइन्। उनले पनि प्लस टु पास गरेपछि उच्चशिक्षाका लागि विदेश जाने योजनामा रहेको सुनाइन्।

माकजूले भने प्लस टुमा व्यवस्थापन विषय अध्ययन गर्ने बताए । उनको योजना पनि प्लस टु सकेपछि थप पढ्न विदेश जाने योजना छ। प्रजापति र न्यौपानेले भने नेपालमै बसेर पढ्ने र विदेश जाने योजना नबनाएको बताए। 

नेपाल प्रेस सोसाइटी सूर्यविनायक भक्तपुरका अध्यक्ष एवं पत्रकार उपेन्द्र केसीको सभापतित्वमा भएको कार्यक्रममा सांसद थापा, परियार र किरणले विदेश नगई स्वदेशमै बसेर उच्च शिक्षा अध्ययन गर्न र देशकै लागि केही गर्न विद्यार्थीलाई सुझाएका थिए। 

प्रकाशित: २७ असार २०८१ ०६:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App