५ असार २०८१ बुधबार
image/svg+xml
शिक्षा

आन्तरिक झमेलाले खस्किँदै संस्कृत विश्वविद्यालय

पछिल्लो समय संस्कृत शिक्षा कमजोर बन्दै गएको छ। विगतमा जस्ताे विद्यार्थीको चाप पछिल्लो समय घट्दै जानुको मुख्य कारण नेपाल संस्कृत विश्वविद्यालयभित्र बढ्दै गएको अनियमितताबारेको विवाद हो।

संस्कृत विश्वविद्यालय हाल विवादै विवादमा फस्दै गएपछि पठनपाठन भन्दा पनि मुद्दामामिला बढी झेलिरहेको छ। यसले विश्वविद्यालयको विश्वासनीयता कम हुनुका साथै शैक्षिक क्रियाकलाप छायाँमा पर्दै गएको छ।

शैक्षिक र प्राज्ञिक गुणस्तर कमजोर बन्दै गएको छ भने पाठ्यक्रम पनि समय अनुकूल परिमार्जन हुन सकेको छैन।  सरकारले विद्यार्थीलाई  पैसा दिएर पढाउन चाहँदासमेत विद्यार्थी पाउन नसकेको अवस्था छ।

पछिलोपटक शिक्षक बढुवा र नियुक्तिमा नीतिगत अनियमितता भएको भन्नेबारे विवाद देखिएको छ। शिक्षक सेवा आयोगले आफूखुसी निर्देशिका संशोधन गरि नियुक्ति गरेको भन्दै विद्यार्थी तथा शिक्षकहरू अक्रोशित बनेका छन्।

आफ्ना निकटम नियुक्ति र बढुवा गर्न विश्वविद्यालयका पदाधिकारीले विश्वविद्यालयको नीति नियमसमेत आफू अनुकूल संशोधन गरी शिक्षकलाई बढुवा गर्नसमेत पछि परेनन्।

विश्वविद्यालय कार्यकारी परिषद्का पदाधिकारीले निकटका शिक्षक बढुवा गर्न र शिक्षक नियुक्तिका आधार, कार्य सम्पादन मूल्यांकन तथा कार्य क्षमता, अंक विभाजन एवं सिफारिससम्बन्धी निर्देशिका र कर्मचारी नियुक्ति सिफारिससम्बन्धी निर्देशिका संशोधन गरी बढुवाका लागि आफू अनुकूल शिक्षकको बढुवा र नियुक्ति गरेको छ।

सेवा आयोगले निर्देशिका संशोधन गरी बढुवा र नियुक्तिको विज्ञापन प्रकाशित भएको समयदेखि ३५ दिनभित्र प्रकाशित लेखरचनासमेत पेस गर्ने आधार बनाएपछि विश्वविद्यालयका शिक्षक, विद्यार्थी र कर्मचारी त्यसविरुद्ध उत्रिएका हुन्।

यसविरुद्ध पूर्वविद्यार्थी बाबुराम पोखरेलले गत फागुन पहिलो साता सर्वोच्चमा मुद्दा दायर गरेका छन्। सर्वोच्चले विश्वविद्यालयको नाममा कारण देखाऊ आदेश जारी गरेको छ।

सरकारले संस्कृत विश्वविद्यालयमा बर्सेनि एक अर्ब बजेट खर्च गर्दा पनि चार सय ६५ जनशक्ति मात्र उत्पदन हुँदै आएको छ। एकातिर विद्यार्थी संख्या घट्दै गएको छ भने अर्कातर्फ शिक्षक संख्या थपिँदै गएको छ।

‘विश्वविद्यालयका कति विद्यार्थी र कति शिक्षक आवश्यक छन् भन्नेबारे कुनै अध्ययन अनुसन्धा नै नगरी फेरि ७२ उपप्राध्यापकको विज्ञापन गरेको छ,’ पोखरेलले भने, ‘वार्षिक एक अर्ब खर्च गरेर चार सय ६५ जनशक्ति मात्र उत्पादन गर्न सक्नुले विश्वविद्यालयको दुर्दशा दर्शाउँछ। आर्थिक वर्ष सकिनै लाग्दा २०८०/८१ को बजेट पास वैशाख १८ मा सिनेट बस्दै छ।’

निर्देशिका संशोधन गरी विज्ञापन खुलेको समयदेखि ३५ दिनभित्र प्रकाशित लेख रचनाका आधारमा हाल ४८ सहप्राध्यापक आन्तरिकबाट बढुवा भएर प्राध्यापक भएका छन् भने ३७ उपप्राध्यापक बढुवा भएर सहप्राध्यापक भएको विश्वविद्यालयले जनाएको छ।

अख्तियार र सतर्कता केन्द्रमा आधा दर्जन उजुरी दर्ता भएका छन् संस्कृत विश्वविद्यालयविरुद्धमा यसबारे पनि छानबिन भइरहेको छ भने इन्जिनियरिङ अधययनका लागि बजेट बिनियोजन भइरहेको पाँच वर्ष भयो तर कक्षा सञ्चालन भएको छैन। तलब भत्ता भने खर्च भइरहेको छ।

पूर्व छात्रवृत्तिमा आयुर्वेद चिकित्सा पढाइ भए पनि ३० कोटा पनि पूरा हुँदैन। यति मात्र होइन विश्वविद्यालयका शिक्षकले विद्यार्थीलाई नियमित कक्षामा पढाउनु, शैक्षिक गुणस्तर कायम गर्नु र पाठ्यक्रम समयअनुकूल परिमार्जन गर्नुभन्दा पनि निजी कलेजमा पढाउनुलाई प्राथमिकतामा राखेका छन्।

त्यही भएर विश्वविद्यालयबाट डिप्लोमा कोर्स हटे पनि विज्ञानका चार शिक्षक दुर्गा केसी, वामदेव पोखरेल, ज्ञानेन्द्र मिश्र र उत्तम घिमिरे अझै पनि विश्वविद्यालयबाटै तलब खाइरहेका छन् जबकि उनीहरू निजी कलेजमा पढाउँदै आएको विश्वविद्यालयका विद्यार्थी बताउँछन्।

सरकारले पैसा दिएर पढाउन खोज्दा पनि संस्कृत विषय विद्यार्थी पढ्न चाहँदैनन्। यसको एउटै कारण हो पढेर के गर्ने ? संस्कृत विषय अध्ययन गर्ने विद्यार्थीलाई शास्त्री अर्थात् स्नातक तहमा मासिक एक हजार तीन सय ५० र आचार्य आर्थात् स्नातकोत्तर तह अध्ययनका लागि एक हजार पाँच सय मासिक दिँदा पनि नेपाल संस्कृत विश्वविद्यालयमा विद्यार्थी संस्कृत विषय अध्यन गर्ने रुचि देखाएका छैनन्।

विश्वविद्यालयका शिक्षाध्यक्ष भीम खतिवडाले लामो सयमदेखि कार्यरत शिक्षकको प्रक्रिया पुर्‍याएर ४८ जनालाई प्राध्यापकमा र ३७ लाई सहप्राध्यापकमा आन्तरिक बढुवा गरिएको बताए। उनले जनआन्दोलनका बखत स्कुलबाट संस्कृत शिक्षा विस्थापन भएपछि विश्वविद्यालयतर्फ पनि संस्कृतमा विद्यार्थीको रुचि कम भएको उनले बताए।

‘प्राध्यापक र सहप्राध्यापकको बढुवा नियुक्ति पूर्वविद्यार्थीले सेवा आयोगले आफुखुसी निर्देशिका परिमार्जन गरी नियुक्ति गरेको भन्दै असन्तुष्टि जनाउँदै मुद्दा हाल्नुभएको छ,’ खतिवडाले भने, ‘विश्वविद्यालय सच्चिएर अघि बढ्छ।

मुख्य रूपमा संस्कृत शिक्षाको आधार भनेकै स्कुल हो। विश्वविद्यालयले उत्पादन गरेको जनशक्ति स्कुलमा पढाउने हो। त्यो अहिले खपत छैन। तर, अर्कातर्फ आधुनिक संस्कृतका विषयहरू योग, आयुर्वेद, प्राकृतिक चिकित्सा र वास्तुशास्त्रमा विश्वविद्यालयले शुल्क लिएर पढाउँछ। चाप बढी छ।’

संस्कृत शिक्षा भाषाको मूल भाषा भएकाले संस्कृत विश्वविद्यालय विशिष्ट प्रकारको हो। समाज र जीवन दर्शनको विषयवस्तु पठनपाठन र सिकाइ हुने भएकाले राज्य यस शिक्षाप्रति संवेदनशील हुन उनको आग्रह छ। यो विश्वविद्यालयमा हाल दुई हजार तीन सय ६ विद्यार्थी अध्ययनरत छन् भने सात सय ६० शिक्षक कार्यरत छन्।

प्रकाशित: १७ वैशाख २०८१ ०७:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App