१९ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

शिक्षाका २० कर्मचारी कारबाहीमा

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यालय समय पालना नगर्ने र कार्यालयमा नभेटिने २० कर्मचारी कारबाहीमा परेका छन्। शिक्षामन्त्री सुमना श्रेष्ठको निर्देशनमा प्रशासन महाशाखाले चैत १४ गते बुधबार मन्त्रालयभित्रका सम्पूर्ण महाशाखा तथा शाखामा आकस्मिक अनुगमन गरेको थियो। प्रशासन महाशाखाले गरेको छड्केमा २० कर्मचारी कारबाहीमा परेका हुन्। छड्केमा २० जना कर्मचारी हाजिर गरेर कार्यालय समयमा घन्टौं बाहिरिएको तथ्य खुलेको छ।

छड्केमा परेका ती कर्मचारीलाई लिखित स्पष्टीकरण सोधिएको छ। कारबाहीमा परेका कर्मचारीलाई तीन दिनभित्र लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिएको थियो। सोहीअनुसार शुक्रबार कर्मचारीहरूले स्पष्टीकरण बुझाउने क्रम जारी रहेको महाशाखाले बताए। कारबाहीमा परेका कर्मचारी विभिन्न महाशाखा र शाखाका रहेका छन्। कार्यकक्षमा नभेटिने तथा कार्यालय समयको पालना नगर्ने कर्मचारीलाई स्पष्टीकरण सोधिएको हो।

चित्तबुझ्दो जवाफ नआए कानुनअनुसार कारबाही हुने मन्त्रालयले जनाएको छ। यस्ता किसिमका अनुगमन तथा छड्के मन्त्रालयअन्तर्गत विभाग तथा कार्यालयमा समेत निरन्तर हुने उनले बताइन्।

कार्यालय समयमा विनाजानकारी अनुपस्थित हुने तथा तोकिएको जिम्मेवारी पूरा नगर्ने कर्मचारीउपर कानुनबमोजिम कारबाही गरिनेसमेत मन्त्रालयले जनाएकाृ छ। साथै, कार्यसम्पादनको आधारमा कर्मचारीको प्रोत्साहन गरिने व्यहोरासमेत मन्त्रालयले जनाएको छ।

कार्य सम्पादनकै आधारमा कर्मचारीको मूल्यांकन गरी सोहीअनुसार प्रोत्साहन तथा दण्ड र सजायसमेत गरिने प्रक्रिया मन्त्रालयले अघि बढाएको हो। मन्त्रालयको प्रशासन महाशाखाले विगतमा यस्तो प्रकारले छड्के खासै गर्ने आँट गरेको थिएन।

यसअघि शिक्षा मन्त्रालयभित्र यस्तो अनुगमन विरलै भएको मन्त्रालयकै कर्मचारी बताउँछन्। विगतमा पनि मन्त्रालयमा कर्मचारी समयमा आएनआएको र आए पनि हाजिर गरेर आफ्नो कामले बाहिरिने क्रम थियो। मन्त्रालयअन्तर्गत विभिन्न विभाग छन् जहाँ कर्मचारी छन् तर जिम्मेवारी तोकिएको काम नगरी तलब खाने गरेको पनि स्रोतको दाबी छ। यसकारण पनि शिक्षा क्षेत्रमा सुधार हुन नसकेको मन्त्रालयका कर्मचारी नै बताउँछन्। साथै कार्यालय समयमा सिटमा कर्मचारी नभेटिँदा मन्त्रालयको कामकारबाहीसमेत प्रभावित हुँदै आएको छ।

प्रकाशित: १७ चैत्र २०८० ०८:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App