१९ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

एसइईमा केन्द्राध्यक्षबाहेक अरूले मोबाइल बोक्न नपाउने

फाइल तस्वीर

मोरङमा केन्द्राध्यक्षबाहेक अरूलाई एसइईमा मोबाइल निषेध गरिने भएको छ। एसइई परीक्षालाई मर्यादित बनाउने उद्देश्यले केन्द्राध्यक्षबाहेक अरूलाई मोबाइल निषेध गरिएको जिल्ला शिक्षा समन्वय समिति, मोरङका प्रमुख टंक गौतमले जानकारी दिए।  

विगतमा परीक्षाका बेला विद्यार्थीलाई मात्र मोबाइल निषेध गरिँदै आएको थियो तर परीक्षालाई अमर्यादित बनाएको आरोप गत वर्ष परीक्षा निरीक्षकहरूले समेत खेपेको पाइएपछि यो वर्षदेखि केन्द्राध्यक्षबाहेक सबैलाई मोबाइल बोक्न निषेध गरिएको गौतमले बताए।  

‘मोबाइलका कारण परीक्षालाई मर्यादित बनाउन चुनौती देखिएपछि परीक्षाहलमा केन्द्राध्यक्षबाहेक अरू कसैले पनि मोबाइल बोक्न नपाउने व्यवस्था गरिएको छ,’ गौतमले भने। एजुकेसन हेल्पलाइन, विराटनगरले बुधबार विराटनगरमा आयोजना गरेको ‘मर्यादित परीक्षा सबैको सरोकार’ विषयक अन्तक्र्रियामा गौतमले परीक्षा निरीक्षकहरू व्यवस्थित र योजनाबद्ध रूपमा निस्पक्ष परीक्षाका लागि तयार रहन निर्देशन दिइएको जानकारी दिए। परीक्षाहलमा बस्ने निरीक्षकहरूलाई विशेष परिस्थितिबाहेक परिवर्तन गर्न नपाइने व्यवस्था गरिएको छ।

गत वर्ष मोरङका विभिन्न विद्यालयमा एसइईमा ठुलो संख्यामा नक्कली परीक्षार्थी पक्राउ परेका थिए। परीक्षार्थी मात्रै होइन, परीक्षा निरीक्षक, शिक्षकहरूसमेत पक्राउ परेका थिए। उनले एसइई परीक्षालाई विशेषगरी निजी विद्यालयहरूले प्रतिष्ठाको विषय बनाउने र विभिन्न खालका दबाब दिने गरेको बताए।

उनले निजी विद्यालयहरूले सरकारी विद्यालयमा सेन्टर राख्न दबाब दिने गरेको खुलासा गरे। गौतमले एक पक्षको प्रयासले मात्र सुधार नआउने भएकाले सबै पक्षले परीक्षालाई मर्यादित बनाउन ध्यान दिनुपर्ने बताए।

आदर्श मावि, विराटनगरका प्रधानाध्यापक सन्तोष पोखरेलले परीक्षाको अनुगमन गर्ने व्यवस्था चुस्त पार्न आग्रह गरे। उनले कुन विद्यालयका विद्यार्थीले बढी नम्बर ल्याउने भन्ने अस्वस्थ प्रतिस्पर्धाले परीक्षा मर्यादित हुन नसकेको टिप्पणी गरे। परीक्षामा धेरै नम्बर ल्याउने र पत्रिकामा फोटो टाँस्नेभन्दा विद्यालयहरूले शिक्षाको गुणस्तरमा प्रतिस्पर्धा गर्नु आवश्यक रहेको पोखरेलको भनाइ छ।

पोखरेलले भने, ‘शिक्षाको गुणस्तर सुधारमा लागौं। परीक्षामा नम्बर बढी ल्याएको देखाएर पत्रिकामा फोटो छाप्ने प्रतिस्पर्धामा नलागौं।’

प्रकाशित: १ चैत्र २०८० ०९:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App