५ असार २०८१ बुधबार
image/svg+xml
शिक्षा

‘प्रोफेसनल’बाहेकका अन्य विषय कमजोर आँक्दै त्रिवि

त्रिभुवन विश्वविद्यालयको नवनियुक्त उपकुलपति प्राध्यापक डा. केशरजंग बरालले आफ्नो कार्ययोजना अनुसार चार वर्षे कार्यकालभित्र चार वर्षे स्नातक तहलाई तीन वर्षे बनाउने नीति लिएर अघि बढेका छन्। उनले छिमेकी मुलुक भारतमा स्नातकका ‘प्रोफेसनल’ कोर्षबाहेक अन्य सबै तीन वर्षेनै भएकोले त्रिविको पनि ‘प्रोफेसनल’बाहेकका सबै कोर्ष तीन वर्षेमा झार्नु पर्ने तर्क गरेका छन्।

उपकुलपति बरालले त्रिविको आन्तरिक व्यवस्थापन चुस्त बनाउनुको साटो मानविकी, शिक्षाशास्त्र र व्यवस्थापनका विषयलाई चारको साटो तीन वर्षमा झार्ने नीति लिएका छन्। अर्थात् प्रोफेसनल विषय इन्जिनियरिङ, मेडिकल, सिए, होटेल व्यस्थापन, आइटी लगायतका विषय भने चार वा पाँच वर्षे नै हुने तर समाजशास्त्र, शिक्षाशास्त्र तथा व्यवस्थापनका स्नातक तीन वर्षे गर्ने भनेकै यी विषयलाई उपकुलपति बरालले कमजोर आँकेको विज्ञहरूको विश्लेषण छ।

‘भारतमा मानविकी, व्यवस्थापन र शिक्षाशास्त्रका सबै कोर्षहरू तीन वर्षे छन्,’ बरालले भने, ‘त्रिविको कोर्ष चार वर्षे हुँदा विद्यार्थी नेपालमा नपढी भारत तथा अन्य युरोपका देसमा जाने क्रमम बढ्यो।

त्रिविमा विद्यार्थी घट्दै गए। स्नातकोत्तर तह भर्नाका लागि पनि चार वा तीन वर्षे पास भर्ना हुने व्यवस्था छ। लामो समयअवधिको कोर्ष अब नेपाली विद्यार्थीले अध्ययन गर्न नचाहेकाले तीन वर्षमा झार्ने मेरो नीति हो। चार वर्षे कोर्ष अध्ययन गर्न बिदेसिने विद्यार्थीका लागि एक वर्षको छुट्टै अनर्सको पनि व्यवस्था छ।’

उनले चार वर्षे कार्यकालभित्र अन्तर्राष्ट्रिय स्तरसँग मिल्ने गरि क्रेडिट आवरको व्यवस्था गरी तीन वर्षे स्नातक बनाउने, एक वर्षे अनर्स गर्न चाहने विद्यार्थीका लागि एक वर्षको पाठ्यक्रम तथा कोर्ष तयार गरी कार्यन्वयन गरिने जनाए।

त्रिभुवन विश्वविद्यालयको आन्तरिक व्यवस्थापन नगरी उपकुलपति चार वर्षे स्नातकलाई दुई वर्षेमा झारे पनि खासै फरक नपर्ने विश्लेषण शिक्षाविद् बलाचन्द लुइँटेलको छ। उनले समाजशास्का विषयहरू विश्वका हरेक देशमा निकै महत्त्वका विषय र विश्वबजारमा समेत यसका जनशक्ति बिक्ने भएकाले अन्तर्राष्ट्रियस्तर सरह चार वर्षे नै बनाउनुपर्ने जोड दिए।

‘हामीलाई अहिले उत्कृष्ट समाजशास्त्र, उत्कृष्ट शिक्षक, उत्कृष्ट मनोविज्ञ, उत्कृष्ट संस्कृतिविद्, उत्कृष्ट राजनीतिज्ञ, उत्कृष्ट इतिहासविद्, राम्रो भूगोल बुझ्ने लगायतको खाँचो भइरहेका बेला यी विषयलाई कम आँक्न मिल्दैन,’ शिक्षाविद् लुइँटेलले भने, ‘बरु चारको साटो यी विषय पाँच वर्ष गराएर एक वर्षको पेड इन्टर्नसिपको व्यवस्था गर्नुतर्फ लाग्नुपर्छ।

तीन दशकअघिसम्म शिक्षाशास्त्रका विद्यार्थीलाई स्कुलमा गएर इन्टर्नसिप अर्थात् कक्षाकोठमा पढाउनुपर्ने र त्यसबापत प्रयोगात्मकको नम्बर दिनुपर्ने व्यवस्थाले देशमा गुणस्तरीय शिक्षक उत्पादन हुन्थे। तर हाल यो व्यवस्था नाम मात्रको रहेकाले विद्यालयस्तरको सिकाइस्तर कमजोर भएको छ।’

बरु यी विषयमा चार वर्षे कोर्ष नै यथावत राखेर दुईवटा ‘इन्टिग्रेटेड डिग्री’ दिने व्यवस्था त्रिविले गर्नुपर्ने उनको सुझाव छ। ‘त्रिविका उपकुलपतिले अब त्रिविलाई लयमा ल्याउनेतर्फ ध्यान दिनुपर्छ।

भर्ना, कक्षाकोठामा पठनपाठन, समयमै परीक्षा सकाउने र नतिजा प्रकाशन पनि समयमै गर्नेतर्फ नीति कार्यक्रम तय गरी कार्यान्वयन गर्नुपर्छ,’ शिक्षाविद् लुइँटेलले भने, ‘तर त्रिविमा त हाल मेडिकल, इन्जिनियरिङ, सिए, होटेल व्यस्थापन, आइटीलगायतको मात्र प्राथमिकतामा राखेर अन्य शिक्षाशास्त्र, मानविकी तथा व्यवस्थापनका विषयलाई डिफिसिट मोडेल अर्थात् कमजोर आँक्नु नै गलत सोचाइ हो। केयुमा स्नातकका सबै विषय चार वर्षे नै छन्। विश्वमा सबैतिर चार वर्षे नै स्नातक कायम भएकोले हामी पनि यही मोडेलमा जानुपर्छ।’ उनी काठमाडौं विश्वविद्यालयका डिनसमेत हुन्।

त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले हाल परीक्षा नियन्त्रण कार्यालयमा कम जनशक्ति भएकै कारण स्नातक तहका कोरोना कालकै पुरानो प्रथम वर्ष, दोस्रो वर्ष, तेस्रो वर्ष र नयाँ प्रथम वर्षको परीक्षा सकिएको १० महिनासम्म पनि नतिजा प्रकासन गर्न नसकेको दुखेसो गरे।

‘केन्द्रमा २६६ को दरबन्दीमा हाल २२२ मात्र कार्यरत छन्। सेवा आयोग सात वर्षदेखि खुल्न नसकेको कारण परीक्षामा कर्मचारी पदपूर्ति गर्न सकेको छैन भने १८ कर्मचारी साढे दुई दशकदेखि एउटै पदमा कार्यरत छन्,’ नियन्त्रक जोशीले भने, ‘कर्मचारीमा प्रोत्साहन नभएर अतिरिक्त काम लगाउन सकिएको छैन।

 यसकारण वार्षिक प्रणालीमा नतिजा प्रकाशन ढिलाइ भएको हो। मानविकी, शिक्षाशास्त्रलगायत अध्ययन गरिरहेका विद्यार्थीको जागिर हुँदैन, घरभाडा र अन्य खर्च थप भार हुन्छ। यसकारण यी विषय तीन वर्ष बनाउनुपर्छ। भारतमा पनि तीन वर्ष नै छ।’

उनका अनुसार विगतमा तीन वर्ष स्नातक हुँदा प्रतिवर्ष मानविकीमा ४० हजार विद्यार्थी भर्ना हुने गरेकोमा चार वर्ष बनाएपछि १० हजारमा झरेको छ।

भारतमा पनि प्रोफेसनल कोर्षबाहेक अन्य तीन वर्षकै रहेको र यसकारण नेपाली विद्यार्थी भारतमा गएर अध्ययन गरी नेपाल फर्केर तिनै विषयको समकक्षता लिने गरेकोले पनि तीन वर्षे उपयुक्त हुने उनको ठहर छ।

उपकुलपति बरालले हाल त्रिविलाई लयमै फर्काउन निकै चुनौतीपूर्ण रहेको जनाए। तर पनि आफु कार्ययोजना प्रस्तुत गरेअनुसारै कार्यक्रम तथा नीति तय गरि त्रिविलाई लयमा फर्काउन हरसम्भव प्रयास गर्ने दाबी गरे।

चार वर्षे कोर्ष पाँच वर्ष लाग्ने, परीक्षाको नतिजा १० महिनासम्म पनि प्रकाशित नहुने कारण विद्यार्थी दिक्क मानेर भारततिर अध्ययन गर्न जाने क्रम बढ्दै गएको उनले बताए। 

प्रकाशित: १६ फाल्गुन २०८० ०७:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App