१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

देशभर २३ हजार ११२ मतदान केन्द्र निर्धारण

फाइल तस्बिर।

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभर २३ हजारभन्दा बढी मतदान केन्द्र निर्धारण गरेको छ।

शनिबार अन्तिम मतदाता नामावली सार्वजनिक गर्दै आयोगले मतदाताको सुविद्धाका लागि मतदान स्थल र केन्द्रहरूको सङ्ख्या पनि टुङ्गो लगाएको हो।

आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार यसपटकको निर्वाचनमा देशभर कुल १० हजार ९६७ मतदान स्थल कायम गरिएको छ। ती स्थलहरूमा २३ हजार ११२ वटा मतदान केन्द्र रहनेछन्।

मतदाताको सङ्ख्यामा वृद्धि भएसँगै आयोगले मतदान गर्ने पूर्वाधारमा पनि विस्तार गरेको छ। वि.सं. २०७९ मा सम्पन्न निर्वाचनको तुलनामा यसपटक मतदान केन्द्रको सङ्ख्या उल्लेख्य रूपमा बढाइएको छ।

आयोग अनुसार २०७९ को तुलनामा यसपटक ७५ वटा मतदान स्थल थपिएका छन् भने मतदान केन्द्रको सङ्ख्या ८८५ ले वृद्धि भएको छ। मतदाताले आफूलाई पायक पर्ने र नामावलीमा तोकिएको केन्द्रबाट मतदान गर्न पाउनेछन्।

आयोगले तय गरेको यी २३ हजार ११२ केन्द्रबाट १ करोड ८९ लाख ३ हजार ६ सय ८९ जना मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन्। आयोगले २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पुग्ने नागरिकलाई मतदाता कायम गरी अन्तिम नामावली प्रकाशन गरेको छ।

 

 

 

प्रकाशित: १२ पुस २०८२ १८:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App