१६ वैशाख २०८१ आइतबार
image/svg+xml
शिक्षा

भित्तेपत्रिकाबाट पत्रकारिता अभ्यास

निर्मला बाग ‘सरस्वती’ बालभित्ते पत्रिकाको प्रकाशक हुन्। उनले प्रकाशन गर्ने पत्रिकाका लागि आफूजस्तै साथीहरूलाई समेटेर सम्पादकीय टोली बनाएकी छन्। साथीहरूका समाचार, लेख, रचना सङ्कलन गरेर सम्पादकलाई जिम्मा दिन्छिन्। निर्मला भने विज्ञापन तथा सूचनाको खोजीमा लाग्छिन्।  

सरस्वतीको सम्पादकको नियुक्ति पाएका छन् जीवन बागले। जीवनले हरेक महिनाका लागि समाचार, विचार, साहित्य, लोकसेवा प्रश्नोत्तर तथा अन्य स्तम्भका सामग्री तयार पारेर महिनाको पहिलो साता पत्रिका प्रकाशन गर्छन्। उनी सम्पादन मण्डलका अन्य सदस्यलाई पनि पत्रिकाका सामग्री तयार गर्न खटाउँछन्।

यो भित्तेपत्रिका बुङ्गल नगरपालिका– १० मा रहेको सीताराम माविमा नियमित प्रकाशन हुन्छ। सूर्यमुखी किशोरकिशोरी बाल क्लबले आर्थिक वर्ष २०७७÷७८ देखि विद्यालयमा नियमित प्रकाशन गर्दै आएको छ।

समुदाय तथा विद्यालयको जानकारीका लागि र समुदाय तथा विद्यालयमा भएका घटनाक्रमको जानकारी समेटेर प्रकाशन हुने गरेको सम्पादक जीवनले बताए।

भित्तेपत्रिका प्रकाशनका लागि विद्यार्थीलाई दलित सहयोग समाज र युनाइटेड मिसन टु नेपाल बझाङको साझेदारीमा सञ्चालित समान व्यहार परियोजनाले सहयोग गर्दै आएको छ।

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने उद्देश्यले भित्तेपत्रिका माध्यमबाट सहयोग गरेको सरस्वतीकी प्रकाशक बागले बताइन्।  

प्रकाशक बागका अनुसार साथीहरूका प्रतिभा प्रस्फुटन गराउने महत्वमूर्ण माध्यम बनेको छ– पत्रिका। ‘कथा, कविता, चित्र, चुट्किला, सामान्यज्ञान, समाचारलगायत विषयलाई हामीले भित्तेपत्रिकामा प्रकाशन गर्दै आएका छौँ।  पत्रिका नियमित प्रकाशनले लेख्ने कलामा पनि सुधार भएको महसुस भएको छ”, उनले भने।

किशोरकिशोरी बाल क्लबमा रहेका विद्यार्थीले नै पत्रिकाका लागि प्रधानसम्पादक, सम्पादक, सहसम्पादक, व्यवस्थापक र समाचारदाताको भूमिका निर्वाह गर्दै आएको उनले बताए।  

विद्यालयका शिक्षक प्रेमबहादुर बागले सूर्यमुखी किशोर किशोरी क्लबमार्फत विद्यार्थीले पढाइका अतिरिक्त अन्य रचनात्मक क्रियाकलापमा सहभागी हुनु सकारात्मक भएको बताए। उनले भने, ‘बालभित्ते पत्रिकामा विद्यार्थीका लेख, रचना, समाचार, सम्पादकीयलगायत पठनीय सामग्री समेटिएको देख्छु। यसलेविद्यार्थीमा अतिरिक्त ज्ञानको विकासमा टेवा पु¥याउँछ।’

बुङ्गल नगरपालिकाका तीन विद्यालयमा विभिन्न किशोरकिशोरी क्लबले चार वर्षदेखि भित्तेपत्रिका प्रकाशन गर्दै आएका छन्। समान व्यवहार परियोजनाले बुङ्गल नगरपालिका–९ को शारदा मावि सैनोडी, वडा नं १० को सीताराम मावि डौड र वडा नं ११ को शिव माविमा किशोरकिशोरी क्लब गठन गरेको परियोजना जिल्ला संयोजक भीम रसाइलीले बताए।

उनका अनुसार परियोजनाले विद्यालयमा क्लब गठनसँगै पदाधिकारीलाई किशोरकिशोरीसम्बन्धी तालिम, भित्तेपत्रिका प्रकाशन तालिम, सीमान्तकृत बालबालिकालाई शैक्षिक सहयोग, समुदायमा महिला समूहलाई चेतनामूलक तालिम प्रदान गरिएको उनले बताए। –रासस

प्रकाशित: ९ फाल्गुन २०८० १०:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App