१६ वैशाख २०८१ आइतबार
image/svg+xml
शिक्षा

प्राध्यापकलाई ३५ नम्बर गाह्रो !

मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट उपकुलपति छनोटका लागि आह्वान गरिएको आवेदन प्रक्रिया स्थगन गरिएको छ।
उपकुलपतिका लागि प्रतिस्पर्धा गर्न अनुसन्धानतर्फ कम्तीमा ३५ नम्बर ल्याउनैपर्ने व्यवस्थासहितको कार्यविधि बनाइएको छ। आकांक्षी प्राध्यापकहरूलाई अनुसन्धानतर्फ ३५ नम्बर ल्याउन गाह्रो भएपछि उपकुलपति तथा छनोट समितिले दरखास्त आह्वान प्रक्रिया स्थगन गरेको हो।

समितिले दुवै विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट उपकुलपति छनोटका लागि दरखास्त मागेको थियो। तर अनुसन्धानतर्फ ३५ नम्बर ल्याउनुपर्ने कार्यविधिको व्यवस्थाले प्राध्यापकहरूलाई समस्या परेपछि समितिले आइतबार दरखास्त आह्वान प्रक्रिया स्थगन गरेको संयोजक प्राध्यापक देवराज अधिकारीले बताए।

मध्यपश्चिमाञ्चल विश्व विद्यालयका उपकुलपति नन्दबहादुर सिंहको चार वर्षे कार्यअवधि फागुन १८ र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक अम्मरराज जोशीको चारवर्षे कार्यअवधि चैत १० गते सकिँदैछ।

दुवै विश्वविद्यायलको उपकुलपति छनोट तथा सिफारिस गर्न सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष प्राध्यापक अधिकारीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ।

समितिमा राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य रमेशचन्द्र पौडेल र शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी सदस्य छन्। समितिले कार्यविधि बनाएर माघ २६ गतेदेखि दरखास्त आह्वान गरेको हो।

संयोजक अधिकारीका अनुसार उपकुलपति हुन अनुसन्धानतर्फ ३५ अंक ल्याउनुपर्ने व्यवस्था कार्यविधिमा राखिएको छ। योबाहेक अन्य मापदण्ड पनि तोकिएको छ। उनले भने, ‘अहिले दुवै विश्वविद्यालयको उपकुलपतिका लागि ९-९ उम्मेदवारको आवेदन परेको छ। धेरैले अनुसन्धानको मापदण्ड पूरा गर्न सकेका छैनन्। हाम्रा प्राध्यापकहरूलाई अनुसन्धानतर्फ ३५ नम्बर ल्याउनै गाह्रो पो भयो। यसकारण हाललाई उपकुलपतिका लागि आवेदन माग प्रक्रिया स्थगन गरिएको छ।’

अब कार्यविधि केही खुकुलो बनाएर अघि बढ्ने तयारी भइरहेको उनले बताए।

प्रकाशित: ९ फाल्गुन २०८० ०७:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App