१९ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

भरियाले बनाएको विद्यालयमा पढ्छन् तीन सय बालबालिका

सामान्य परिवारमा जन्मिएर पर्यटकको भारी बोक्ने काममा लागेका ७१ वर्षीय तामाङले गाउँमै विद्यालय स्थापना गरेका छन् । ३५ वर्षअघिबाट पर्यटकको भारी बोक्ने काममा लागेका तामाङले आफ्नो जन्मभूमि षडानन्द नगरपालिका–९ बैदर भञ्ज्याङमा विद्यालय स्थापना गरेका हुन् ।

उनले विसं २०४६ मा चित्राले बारेर विद्यालय सञ्चालन गरेका थिए। उनले लालीगुँरास प्राथमिक विद्यालय स्थापना गरेर कक्षा ५ सम्मको पढाइ थालेका थिए । त्यसपछि उनले २०५१ सालमा चन्द्रसूर्य माध्यमिक विद्यालय स्थापना गरेर कक्षा ६ देखि १० सम्म सञ्चालन गरे। २०६८ चैतदेखि दुई विद्यालयलाई गाभेर चन्द्रसूर्य माध्यमिक विद्यालय बनाइएको उनले जानकारी दिए।

तत्कालीन समयमा विदेशी पर्यटकको भारी बोक्ने काम गर्ने तामाङले विदेशीबाट चन्दा संकलन तथा आफूले भारी बोकेर कमाएको पैसाले यो स्थानमा दुई विद्यालय स्थापना गरेको बताए । त्यो समयमा यहाँका शिक्षकलाई उनले नै तलब दिए। विद्यालय स्थापना गरेको १८ वर्षसम्म आफैंले रकम संकलन गरेर तलब खुवाएको उनको भनाइ छ । आफ्ना पिता लघुसिंह तामाङले देखेको सपना पूरा गर्न धेरै दुःख र संघर्षले विद्यालय स्थापना गर्न सफल भएको उनले बताए।

‘मेरा पिताको यो स्थानमा विद्यालय स्थापना गर्ने सपना थियो’, उनले भने, ‘तर उनको देहावसान भयो, पिताको सपना साकार पार्न यो काममा जुटेँ र स्थापना गर्न पनि सफल भएँ, भारी बोकेको पैसाले सुरुमा चित्राले बारेर विद्यालय बनाएँ, भारी बोक्ने क्रममा विदेशीलाई मेरो योजना सुनाएँ, त्यसपछि उनीहरूले मलाई थप सहयोग पनि गरे ।’

विद्यालयका लागि आफूले दुईपटक गरेर ७८ रोपनी जग्गा निःशुल्क दिइएको तामाङले बताए । पछिल्लो समयमा दिएको सात रोपनी जग्गामा हालको चन्द्रसूर्य मावि सञ्चालन भइरहेको छ । बाँकी ७१ रोपनी जग्गा पनि विद्यालयले भोगचलन गरिरहेको उनले बताए ।

‘म सामान्य परिवारमा जन्मेको मान्छे हुँ’, उनले भने, ‘तर यहाँ विद्यालय नहुँदा भोगेको दुःखलाई मैले नजिकबाट नियालेँ, विद्यालय स्थापना गरी छाड्ने अठोटका साथ अघि बढेँ, काम गर्दै जाने क्रममा अहिले सफल पनि भएँ, गाउँका बालबालिकाले अहिले घरको खाना खाएर शिक्षा लिन पाएका छन्, त्यो देख्दा गर्वले छाती फुल्छ ।’ सरकारले विद्यालयको स्वामित्व लिएसँगै ६ वर्षअघिबाट विद्यालय सञ्चालनको भार कम भएको उनले सुनाए।

स्थानीय तथा विद्यालयका शिक्षक कुसुम तामाङका अनुसार यस विद्यालयमा तीन सय विद्यार्थी अध्ययनरत छन्। –रासस

प्रकाशित: २७ माघ २०८० १४:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App