पोखराका पत्रकारहरूले बालमैत्री सञ्चार अभ्यास गर्ने प्रतिबद्धता जनाएका छन्। राष्ट्रिय बाल अधिकार परिषद् र गण्डकी प्रदेशका सञ्चारकर्मीहरूबीच आयोजित कार्यक्रममा उक्त प्रतिबद्धता सार्वजनिक गरिएको हो।
पत्रकारहरूले बालबालिकाको सर्वोत्तम हितलाई ध्यानमा राख्दै सञ्चार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले बालबालिकाको गोपनीयता भंग हुने, चरित्रमा असर पर्ने वा आत्मसम्मानमा चोट पुग्ने खालका सामग्री प्रकाशन तथा प्रसारण नगर्ने बताएका छन्।
त्यस्तै, कानुनी विवाद वा यौन हिंसाबाट प्रभावित बालबालिकालाई “अपराधी” वा “पीडित” जस्ता शब्द प्रयोग नगरी सम्मानजनक भाषा प्रयोग गर्ने उल्लेख गरिएको छ। यस्ता घटनाको समाचार तयार गर्दा बालबालिकाको पहिचान गोप्य राख्ने र पुनर्स्थापनामा सहयोग पुग्ने ढंगले सामग्री प्रस्तुत गर्ने जनाइएको छ।
पत्रकारहरूले बालबालिकासँग सम्बन्धित सामग्री प्रकाशन गर्दा अभिभावकको अनुमति लिने, बालमैत्री भाषा प्रयोग गर्ने र नकारात्मक प्रभाव पार्ने सामग्री नबनाउने प्रतिबद्धता पनि जनाएका छन्।
यसका साथै, बालबालिकाको समस्या मात्र होइन, उनीहरूको सिर्जनशीलता, सफलता र सकारात्मक गतिविधिहरूलाई पनि प्राथमिकता दिने उल्लेख गरिएको छ।
कार्यक्रममा वक्ताहरूले नेपालमा बाल सञ्चार निर्देशिका बनेको लामो समय भए पनि यसको कार्यान्वयनमा कमी रहेको उल्लेख गर्दै यसलाई प्रभावकारी रूपमा लागू गर्न आवश्यक रहेको बताएका छन्।
प्रकाशित: १२ चैत्र २०८२ १९:०९ बिहीबार





