१२ श्रावण २०८१ शनिबार
image/svg+xml
शिक्षा

कलाले उत्साह थप्दै बालबालिका

काठमाडौँको रत्नराज्य माध्यमिक विद्यालय कोटेश्वरका कसिस गिरी, रक्षा चेम्जोङ सञ्चु राई र सुशील आचार्यले पीपलका पात, डाँठ, फल खोजेर ल्याए। कागजका टुक्रा र केही सिन्का पनि बटुले। त्यसलाई आकार दिन थाले। आफ्नो पहिलो अभ्यासमै उनीहरूले एउटा सुन्दर र सफा गाउँ परिकल्पना गरे। त्यस गाउँको वातावरण र रहनसहनको ‘कोलाज’ तयार पारे। व्यावसायिक कलाकारले बनाएको सुन्दर कलाकृतिभन्दा फरक बनेन उनीहरूका सृजना।

पीपलका हाँगा पात र फललाई आकारमा ढालेर उनीहरूले पीपलको रुख नै बनाइदिए। कागजका टुक्रामा रङ भरेर सुन्दर पहाड उतारे। सिन्काहरू जेडेर घर र छाना बनाइदिए। अनि त्यसमा रङ लिपेर एउटा बस्ती नै तयार पारे। उनीहरूले बनाएको सृजनामा एउटा सुन्दर बस्ती छ।

सडकमा मानिस आवतजावत गरिरहेका छन्। छेवैमा पीपलको छहारी छ। गाडी पनि देखिन्छन्। एक कुनामा विद्यार्थी पठनपाठन वा कुनै छलफलमा रमाइरहेजस्तो देखिन्छ। माथि नीलो आकाशमा चराहरू स्वच्छन्द रूपमा उडिरहेका संकेत गरिएको छ भने छेउछाउमा हरिया पहाडले त्यो बस्तीको सौन्दर्यमा सुगन्ध थपिदिएको छ।

झट्ट हेर्दा त्यो ‘कोलाज’ नभएर सुन्दर ‘पेन्टिङ’ हो। कोलाजमा उनीहरूले आफ्नो कला प्रस्तुत गरेका छन्। केही महिनाको सिकाइमा कागजमा सुन्दर सिर्जना भरेका उनीहरू यसरी कला देखाउन पाउँदा निकै खुसी  छन्।

त्यसका साथै उनीहरूले स्केच, पेन्सिल आर्टहरू पनि आकर्षक बनाएका छन् भने अब माटो कला (माटोको कला) सिक्दैछन्।
शिक्षा र सीप कार्यक्रमअन्तरगत काठमाडौँ महानगरपालिका र नेपाल लतिकला प्रज्ञा प्रतिष्ठानको संयुक्त प्रयासमा विद्यार्थीले पाठ्ययपुस्तकबाहेक यसरी नयाँ सीप सिकिरहेका छन्।

यो सीप सिकाइ कार्यक्रम रत्नराज्य स्कुलमा मात्रै होइन महानगरभित्रमा विश्व निकेतन मावि, ज्ञानोदय मावि, तरुण मावि, गीतामाता मावि, कन्या मन्दिर मावि, सहिद शुक्र मावि, पद्मकन्या मावि, कोटेश्वर र सरस्वती माविमा जारी छ। यी नौवटा विद्यालयमा १९ समूहमा विभाजन गरी पाँच सय १७ जना विद्यार्थीले यसरी कला सिर्जनाको सीप सिकिरहेका छन्। उनीहरूलाई हरेक शुक्रबार आर्ट सिकाइन्छ। विद्यार्थीले स्केच, पोस्टर कलर, पेन्सिल कलर सिकिसकेका छन्। अब माटो कलाको आधारभूत ज्ञान सिक्दैछन्।

प्रशिक्षक सोनी राई भन्नुहुन्छ, ‘अब कक्षा सकिएपछि भविष्यमा आर्टिस्ट बन्न चाहनेका लागि बाटो खुला हुन्छ, भविष्य आर्टमा खोज्न सक्छन्, यदि भएन भने जुनसुकै क्षेत्रमा जाँदा पनि आर्ट महत्वपूर्ण हुन्छ। फेसन डिजाइनमै जाँदा पनि कलर मिलाउन जान्नुहुन्छ, यस्तै अन्य क्षेत्रमा पनि आर्ट मिसाउन सक्नुहुन्छ र आफ्नो कार्यलाई उत्कृष्ट बनाउन सक्नुहुन्छ।’

रत्नराज्य मावि बानेश्वरका ९ र १० का इच्छुक विद्यार्थी पहिलोपटक आर्ट कक्षामा सहभागी हुन पाउँदा निकै खुसी भेटिए। पहिलोपटक यस्तो कक्षामा सामोल शिखा केसी र विविशा निरौलाले नियमित कक्षाका साथै कलासम्बन्धी नयाँ सीप सिक्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको वास्तुकला तथा अन्य सिर्जनात्मक कला (बहुआयामिक कला) विभागकी प्रमुख सौर्यगंगा दर्शनधारीले महानगरको शिक्षा र सीप कार्यक्रमअन्तर्गतको यो नयाँ सिकाइ भएको बताइन्। उनले नै कार्यक्रमको संयोजन र समन्वय गरिरहेकी छन्। विद्यालयतहबाटै कला सिकाउनु पर्छ भन्ने प्रतिष्ठानको उद्देश्य रहेको सुनाउँदै उनले यसलाई एउटा छुट्टै कोर्सका रूपमा लैजान आवश्यक भएको बताइन्।

गत असोजमै काठमाडौँ महानगर र ललितकला प्रज्ञा प्रतिष्ठानबीच सम्झौता भएर यो कार्यक्रम सुरु भएको हो। ‘यो कर्याक्रमले आर्टलाई तल्लो तहबाटै जानकारी दिनुपर्छ भन्ने हाम्रो उद्देश्य महानगरले पूरा गरिदिएको छ, विद्यार्थीहरू कला सिर्जना गर्न पाएकोमा खुसी र उत्साहित देखिएका छन्, यसले भविष्यमा उनीहरूलाई बाटो देखाउन सहज हुने छ भन्ने विश्वास छ’, दर्शनधारीले भनिन्।

अहिलेको यो ९० घन्टाको कार्यक्रम हो। यसमा पाँच १७ जना विद्यार्थी सहभागी भएका छन्। अन्तिममा विद्यार्थीले गरेका कामको प्रदर्शनीसमेत गरिने तयारी छ। उनले थपिन्, ‘विगतमा विद्यार्थीको उद्देश्य डाक्टर, पाइलट, इन्जिनियर बन्ने भन्ने हुन्थ्यो, यो कार्यक्रमले आर्टिष्ट बन्छु भन्ने उद्देश्य राख्ने पनि हुनुभएको छ। यो खुसीको कुरा हो। यदि डाक्टर, पाइलट बने पनि कला भनेको त्यो क्षेत्रमा पनि अति आवश्यक कुरा हो, जहाँ पनि काम लाग्छ।’

रत्नराज्य क्याम्पसका सहायक प्रधानाध्यापक दुर्गाप्रसाद भट्ट पाँच दिन नियमित कक्षामा सहभागी भएर एक दिन नयाँ खालको कार्यक्रममा उपस्थित हुँदा विद्यार्थीमा उत्साह थपिएको महसुस आफूले गरेको बताए। –रासस

प्रकाशित: २० माघ २०८० १२:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App