१२ श्रावण २०८१ शनिबार
image/svg+xml
शिक्षा

विद्यार्थी आकर्षणको केन्द्र बन्दै 'महेन्द्र बहुमुखी क्याम्पस'

कुनै बेला पूर्वी पहाड र मेची क्षेत्रकै शैक्षिक केन्द्रका रूपमा रहेको इलाम सदरमुकामको महेन्द्र रत्न बहुमुखी (मरब) क्याम्पसले बजार मागअनुसारकै संकाय र विषय थप्दै विद्यार्थी आकर्षण गरिरहेको छ। घट्दो जनसंख्यादर र गाउँगाउँमा शैक्षिक केन्द्र विस्तारको क्रम बढ्दै जाँदा पनि तुलनात्मक हिसाबले मरब क्याम्पसमा विद्यार्थीको जमघट ‘आशलाग्दो’ देखिएको छ।

अहिले स्नातक र स्नातकोत्तर पढाइ भइरहेको क्याम्पसमा विद्यार्थीको संख्या दुई हजार दुई सय ३३ छ। भर्ना हुनेक्रम निरन्तर रहेकाले यो संख्या बढ्दो क्रममै रहेको क्याम्पस प्रमुख खगेन्द्र चापागाईंले बताए। उनका अनुसार केही तहको भर्नाको म्याद बाँकी नै छ।

‘६० को दशकतिर यो क्याम्पसमा विद्यार्थीको संख्या पाँच हजार पाँच सयसम्म थियो,’ उनले भने, ‘त्यतिबेला प्रवीणता प्रमाणपत्र तहकै विद्यार्थीको संख्या धेरै हुन्थ्यो। तर अहिले त्यो तह नै नहुँदा पनि विद्यार्थीको अनुपात घटेको छैन, बरु बढेको छ।’

उनले केही स्नातक र स्नातकोत्तरमा विद्यार्थीको संख्या बढ्दो क्रममा रहेको बताए। ‘यही क्रममा अघि बढ्ने हो भने आउँदा वर्षमा विद्यार्थीको संख्या बढ्दो नै हुने देखिन्छ,’ उनले भने।

क्याम्पसले विद्यार्थी र बजारको मागबमोजिम संकाय र विषय थप (परिवर्तन) गरिरहेकाले विद्यार्थी आकर्षण बढेको प्रमुख चापागाईंको भनाइ छ।

‘हामी पुरानै अवस्थामा छैनौं, विद्यार्थीको चाहना के छ, बजारको माग कस्तो छ भन्ने विश्लेषण गरेर त्यसैअनुसार क्याम्पसलाई अघि बढाइरहेका छौं,’ उनले भने, ‘पढाइको वातावरण पनि राम्रो भएकाले विद्यार्थी आकर्षित हुँदैछन्।’

क्याम्पसमा अहिले मानविकी, शिक्षा, व्यवस्थापन, बिएस्सी (हर्टिकल्चर) पढाइ हुन्छ। मानविकी स्नातकोत्तरमा ग्रामीण विकास, समाजशास्त्र र नेपाली पढाइ हुन्छ। शिक्षा स्नातकोत्तरमा एजुुकेसन प्लान एन्ड मेनेज्मेन्ट (इपिएम) र अंग्रेजी पढाइ हुन्छ। शिक्षा संकायबाहेकबाट स्नातक गरेका विद्यार्थीका लागि पोस्ट ग्राजुएट (शिक्षा) पनि पढाइ भइरहेको क्याम्पसले जनाएको छ। यस वर्षदेखि व्यवस्थापन स्नातकोत्तरमा एमबिएस पढाइका लागि विद्यार्थी भर्ना भइरहेका छन्। गतवर्षदेखि व्यवस्थापनतर्फ स्नातकमा विविए पढाइ भइरहेको छ। व्यवस्थापनमा विविएस पनि चालु छ।

क्याम्पस प्रमुख चापागाईंले बजारको मागमात्र नभई आत्मनिर्भर शैक्षिक कार्यक्रमअनुसार क्याम्पसले नयाँनयाँ विषय थप्दै गरेको बताए।

‘आउँदो वर्षदेखि कानुन संकायमा स्नातक सञ्चालन गर्न सम्भाव्यता अध्ययन भइरहेको छ,’ उनले भने, ‘विज्ञान विषयको स्नातक, विसिए र विविएमजस्ता बजार मागबमोजिमका शैक्षिक कार्यक्रम सञ्चालन र अनुसन्धान इकाई स्तरोन्नति गरी अनुसन्धान–प्रकाशनलाई थप गुणस्तरीय बनाउने योजना छ।’

शिक्षा संकायअन्तर्गत सेमेस्टर प्रणालीमा आधारित अंग्रेजी, नेपाली, शैक्षिक प्रशासन तथा सुपरिवेक्षण, सामाजिक अध्ययन र शिक्षा तथा स्वास्थ्य शिक्षा विषयका लागि तीन सेमेस्टरको अधिस्नातक (पिजिडी एजुकेसन) कार्यक्रमसमेत स्वीकृत भएको कयाम्पसले जनाएको छ।

क्याम्पसको गुणस्तर सुनिश्चितताका लागि विश्वविद्यालय अनुदान आयोग (युजिसी)बाट प्रिभिजिट भएको छ। क्याम्पसको आउँदो पाँच वर्षको रणनीतिक योजना तर्जुमा गरेको उनले जनाए। हरेक वर्ष कम्तीमा २० लघु अनुसन्धान गर्ने गरिएको छ। अनुसन्धान विभागका लागि सहप्राध्यापक राजेन्द्र बराल संयोजकत्वको समिति गठन गरिएको छ।

विद्यावारिधि र एमफिल गर्ने विद्यार्थीका लागि प्रोत्साहन र बिदा सुविधा दिने गरिएको छ। त्रिभुवन विश्वविद्यालयको पुरानो आंगिक क्याम्पसका रूपमा रहेको मरबमा ६९ प्राध्यापक र ३३ कर्मचारी छन्।

२०१७ सालमा स्थापित मरब क्याम्पस स्वायत्ततामा गएपछि भौतिक अवस्था सुध्रिंदै छ। २०६७ माघ १८ मा देशकै पहिलो स्वायत्तताप्राप्त महाविद्यालय घोषित भएको मरब क्याम्पसलाई सरकारले त्यसअघि पनि पुरस्कृत गरेको थियो।

क्याम्पसको भौतिक अवस्था सुधारका लागि अहिले पनि भवन निर्माणाधीन छ। आउँदा वर्षमा क्याम्पसको प्रशासनिक भवनसमेत निर्माण गर्न करिब छ करोड रुपैयाँ हाराहारी लागत अनुमान तयार गरी सम्बन्धित ठाउँमा पेस गरिएको छ।

इलाम बजारमा २७, करफोकमा ४८, राजदुवालीमा ८७ र साङरुम्बामा तीन रोपनी जमिन क्याम्पस मातहत छ। केही ठाउँका जमिनमा भवनसमेत छन्।

‘यी जमिन र भवनलाई उपभोग गर्नेगरी मास्टर प्लान बनाएर अघि बढ्नेछौं,’ प्रमुख चापागाईंले भने।

पुरुष छात्रावासमा पाकशाला भवन, स्वर्ण पुस्तकालय मर्मत, क्याम्पसका जमिनको सदुपयोग, क्याम्पस सौन्दर्यीकरणका थप काम र हर्टिकल्चर भवनको उचित व्यवस्थापनलाई पनि आगामी योजनामा समावेश गर्ने क्याम्पसले जनाएको छ। क्याम्पसमा १७ वर्षदेखि हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पनि भर्खरै भएकाले क्याम्पसका सबै काम शिक्षक, विद्यार्थी, कर्मचारी र क्याम्पस प्रशासनबीचको समन्वयकै आधारमा भइरहेको प्रमुख चापागाईं बताउँछन्।

केही वर्षअघि त्रिभुवन विश्वविद्यालयका ६० आंगिक क्याम्पसमध्ये मरबले निरन्तर दुईपटक ‘क्वालिटी एस्युरेन्स एन्ड एक्रिडिटेसन’ (क्युएए) प्रमाणपत्रसमेत पाएको थियो।

युजिसीले प्रदान गर्ने यो प्रमाणपत्र पाएका क्याम्पसको लब्धांकपत्र विश्वभरका सबै क्याम्पसमा मान्यताप्राप्त र वैध हुन्छ। क्युएएका लागि शिक्षक–कर्मचारीको योग्यता, क्षमता, उनीहरूले गरेका काम, अनुसन्धान, भौतिक, प्राज्ञिक सबै अवस्था मूल्यांकन गरिन्छ। क्युएए मान्यता युरोप, अमेरिकातिर बढी प्रचलनमा छ। यो प्रमाणपत्र नहुने क्याम्पसलाई मान्यता नदिइने र प्रमाणपत्र पाएका क्याम्पसका विद्यार्थीले रोजगारीलगायत विभिन्न क्षेत्रमा सहजै अवसर पाउने क्याम्पसले जनाएको छ।

प्रकाशित: १६ माघ २०८० ०४:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App