१२ असार २०८१ बुधबार
image/svg+xml
शिक्षा

डिएभी कलेजमा ‘क्रियटर्स च्याम्पियन’

नेपाल रिपब्लिक मिडियाले शुक्रबार आयोजना गरेको ‘क्रियटर्स च्याम्पियन’ कार्यक्रममा डिएभी कलेजका विद्यार्थी उत्साहजनक ढंगले सहभागी भएका छन्। मिडियाले विद्यार्थीलाई देश बनाउने सोचको विकास गर्न भन्दै ‘क्रियटर्स च्याम्पियन’ कार्यक्रम गरेको हो।

मिडियाले पछिल्लो समय युवाबाट देश बनाउने आइडिया लिने उद्देश्यसहित ‘म नागरिक म बनाउँछु नेपाल’ नारासहित सुरुवात गरेको अभियानमा विभिन्न कलेजका विद्यार्थी सरिक हुँदै आइरहेका छन्।

शुक्रबार डिएभी कलेजमा आयोजित कार्यक्रममा बोल्दै नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले देश बनाउन सबै व्यक्तिले आआफ्नो ठाउँबाट काम गर्नुपर्ने बताए।

‘देश बनाउनका लागि सबै नेपाल क्रिकेट टिमको क्याप्टेन नै बन्नुपर्छ भन्ने छैन। सबैले आआफ्नो ठाउँबाट देश बनाउनका लागि सक्रिय भएर लाग्नुपर्छ,’ उनले भने, ‘सबैले सकारात्मक सोचसहित अघि बढ्न सकेको खण्डमा मात्रै देशलाई सोचेअनुसारको बनाउन सकिन्छ।’

उनले एउटा व्यक्ति वा क्षेत्रबाट नभई सबै क्षेत्रबाट हातेमालो गरेर अघि बढे मात्रै मुलुक बनाउन सकिने बताउँदै उनले भने, ‘मैले देशका लागि एक दशकभन्दा धेरै समय क्रिकेट खेललाई सुम्पिएँ। दुई वर्षअघि मात्रै खेलाडीका रूपमा मैले सन्यास लिएँ। तर, म अहिले क्रिकेट खेलाडी नरहे पनि क्रिकेट व्यवस्थापकका रूपमा सक्रिय भूमिका निर्वाह गर्दै आइरहेको छु।’

ज्योति ग्रुप तथा स्याकार ट्रेडिङ कम्पनीका निर्देशक सौरभ ज्योतिले युवा देशका भविष्य मात्रै नभएर वर्तमान पनि भएकाले उनीहरू नेतृत्वमा पुग्नुपर्ने बताए। ‘युवाहरू देशको भविष्य मात्रै होइनन्, उनीहरूले वर्तमान र भविष्यको नेतृत्व गर्ने क्षमता पनि राख्छन्। हामीले उपयुक्त वातावरण तयार पार्ने काम गर्नुपर्ने बेला भइसकेको छ।’

निर्देशक ज्योतिले कतिपयले अहिले नेपालमा केही नभएको भन्दै आइरहे पनि सो कुरा वास्तविक नभएको बताए।

‘अहिले पनि कसैकसैले नेपालमा केही नभएजस्तो गरिरहेका छन्। तर, विगत २० वर्षअघि र अहिलेको अवस्थामा धेरै परिवर्तन भइसकेको छ,’ उनले भने, ‘अहिले नेपालको पूर्वाधार, शिक्षा र अन्य क्षेत्रमा धेरै नै परिवर्तन आइसकेको छ।’ निर्देशक ज्योतिले नेपालमा उद्यमशीलताको भने अपेक्षाकृत विकास हुन नसकेको बताए।

नेपाल रिपब्लिक मिडियाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) समृद्धि ज्ञवालीले पछिल्लो समय नेपालका युवाहरू बिदेसिने प्रवृत्ति बढिरहेकाले स्वदेशमा शिक्षा र रोजगारीको अवसर सिर्जना गर्नुपर्ने बताइन्।

‘नेपालको युवा पुस्ता विदेश गएर मात्रै देशको समस्या हल हुने होइन,’ उनले भनिन्, ‘नेपालमा पनि विभिन्न खालका समस्या र अवसर छन्। तिनलाई सही ढंगले उपयोग गरेर अघि बढ्न आवश्यक भइसकेको छ।’

मिडियाले यसअघि ‘क्रियटर्स च्याम्पियन’ कार्यक्रम विराटनगर, बुटबल र काठमाडौंका एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट, थेम्स, युनिग्लोब लगायतका कलेजमा कार्यक्रम गरिसकेको छ।मिडियाका अनुसार उत्कृष्ट भिडियो बनाउनेलाई नगद तीन लाख रूपैयाँसम्मको पुरस्कार व्यवस्थापन गरेको जनाएको छ। मिडियाका अनुसार देश कसरी बनाउने भन्ने विचारसहितको भिडियो पठाउँदा १६ देखि २६ वर्षमुनिका युवा तथा विद्यार्थी सहभागी हुन सक्नेछन्।

प्रकाशित: ७ पुस २०८० ०५:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App