८ असार २०८१ शनिबार
image/svg+xml
शिक्षा

शिक्षामा होइन, कीर्तिमानको चक्करमा त्रिवि

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सोमबार आयोजित ४९औं दीक्षान्त समारोहमा धेरै विद्यार्थीको उपस्थिति गराएर ‘गिनिज विश्व रेकर्ड’ राखेको गलत सूचना दिएको छ। विश्वविद्यालयको आधिकारिक वेबसाइटमा गिनिज विश्व रेकर्ड कायम गरेको र संस्थाका आधिकारिक प्रतिनिधिले प्रमाणपत्र उपलब्ध गराएको भन्ने गलत सूचना राखिएको छ।

दशरथ रंगशालामा त्रिविद्वारा  आयोजित ४९औं दीक्षान्त समारोहमा धेरै संख्यामा विद्यार्थी र अभिभावक उपस्थित थिए। दीक्षान्त समारोहमा ‘अफिसियल विश्व रेकर्ड (डब्लुआर)’ का आधिकारिक प्रतिनिधि पनि पुग्न नसकेको निमित्त उपकुलपति प्राध्यापक डा. शिवलाल भुसाल स्वीकार्छन्।

आधिकारिक विश्व रेकर्ड एसोसिएसन (डब्लुआर) का प्रतिनिधि प्रमाणपत्र प्रदान गर्न समारोह स्थलभित्र छिर्न नसकेपछि विश्वविद्यालयका पदाधिकारीले आफैं प्रमाणपत्र ल्याउनुपरेको तमासा पनि समारोहमा देखियो। उपकुलपति र कुलपति स्वयंले डब्लुआरको प्रमाणपत्र हातमा लिएर देखाएका थिए। ‘विश्वमै सबैभन्दा बढी विद्यार्थी दीक्षित गर्ने पहिलो विश्वविद्यालयको रूपमा विश्व रेकर्ड कायम गर्न त्रिवि सफल भएको छ,’ त्रिविको वेबसाइटमा राखिएको सूचनामा उल्लेख छ, ‘४९औं दीक्षान्त समारोहमै गिनिज वल्र्ड रेकर्डका प्रतिनिधि उपस्थित भई उक्त रेकर्ड दर्ता गराएका हुन्।’ जुन सरासर त्रुटिपूर्ण छ।

लाखौं विद्यार्थी पढाउने विश्वविद्यालयको वेबसाइटमा समेत अफिसियल वल्र्ड रेकर्ड संस्थाको साटो गिनिज विश्व रेकर्ड राख्ने संस्थाको नाम लेखेर गलत सूचना प्रवाह गर्नुलाई शिक्षाविद् विद्यानाथ कोइरालाले हावादारी मानेका छन्। उनले विश्वविद्यालय जस्तो प्राज्ञिक संस्थाले गलत सूचना प्रवाह गर्दा विद्यार्थीमा समेत नकारात्मक असर पर्ने बताए। उनले विश्वविद्यालयले बेरोजगार विद्यार्थी धेरै उत्पादन गरेर विश्वकीर्तिमान बनाउनुभन्दा सक्षम, योग्य र विश्वबजारमा गरिखाने विद्यार्थी उत्पादनमा जोड दिनुपर्ने सुझाए।

‘त्रिविको ४९ दीक्षान्त होइन, शिक्षान्त समारोह हो। दीक्षाको होइन, शिक्षाको अन्त्य भएको दिन हो,’ शिक्षाविद् कोइरालाले भने, ‘बेरोजगारको भिड जम्मा गरेर विश्व कीर्तिमान कायम गर्नुभन्दा गुणस्तर वृद्धि गरी विश्वबजारमा आफूले हासिल गरेको ज्ञान, सिप र क्षमता बेचेर गरिखाने बाटो देखाइदिएको भए सही हुन्थ्यो।’ उनले थपे, ‘कुलपति, उपकुलपति, राष्ट्रपतिलगायत व्यक्तित्वले विद्यार्थीलाई शिक्षा, स्वास्थ्य, पर्यटन, मधेस, पहाड, तराईका विभिन्न क्षेत्रमा अवसर देखाइदिएर उनीहरूले हासिल गरेको ज्ञान र सिप ती क्षेत्रमा प्रयोग गरी खाने बाटो देखाउनुपथ्र्यो तर त्यसो गर्न सकेनन्। बेरोजगार विद्यार्थी देखाएर कीर्तिमानको कुनै अर्थ नै छैन।’

यसपटक विश्वविद्यालयबाट ७३ हजार ७ सय ४९ विद्यार्थी दीक्षित हुन योग्य थिए । जसमध्ये १२ हजार ४ सय १५ विद्यार्थी र तिनका १३ हजार ७ सय अभिभावक गरी २६ हजार एक सय १६ को उपस्थितिमा दीक्षान्त समारोह सम्पन्न भएको त्रिविका निमित्त उपकुलपति प्राध्यापक डा. भुसालले बताए। विश्व कीर्तिमान बनाउने चक्करमा दशरथ रंगशालाभित्र पूर्ण अस्तव्यस्त अवस्था देखिएको थियो।

पानीको जार राखिएको थियो तर पिउने ग्लास वा जग नहुँदा विद्यार्थी तिर्खाले प्याकप्याक्ती भए। कतिपय विद्यार्थी र अभिभावक प्यास सहन नसकी पानीको जार नै उठाएर पिउन बाध्य भए । यति मात्र होइन, रंगशालाभित्र शौचालयको व्यवस्थाबारे उचित र सही तबरबाट सूचना सम्प्रेषण हुन नसक्दा विद्यार्थी तथा अभिभावकले असहज महसुस गरिरहेका थिए। प्रहरीले बारम्बार भिड नियन्त्रण गर्न खोज्दा पनि सकेन। गोल्ड मेडलिस्टलाई समेत प्रहरीले हलभित्र छिर्न नदिएको गुनासो सुनियो।

निमित्त उपकुलपति एवं शिक्षाध्यक्ष भुसालले गिनिज विश्व रेकर्डलाई तीन साता चाहिने र त्रिविसँग समय नभएकाले त्यसका प्रतिनिधि आउन नसकेको स्पष्ट पारे। ‘गिनिजसँग त्रिविको कुरा भएको थियो। तीन साता लाग्ने भएकाले हामीसँग समय अभावका कारण गिनिजका प्रतिनिधि आउन सकेनन्। अफिसियल विश्व रेकर्डका प्रतिनिधि रंगशालाबाहिर आए तर प्रहरीले भित्र छिर्नै दिएन,’ भुसालले नागरिकसँग भने, ‘त्रिविकै पदाधिकारीले प्रमाणपत्र ल्याए र मञ्चमा हामी आफैंले सार्वजनिक गरेका हौं।’  

उनले ४९औं दीक्षान्त समारोहको व्यथा यसरी सुनाए, ‘सुरक्षाकर्मी धेरै भएपछि कार्यक्रम अस्तव्यस्त नै हुन्छ। रेकर्डको प्रमाणपत्र दिने प्रतिनिधि मात्र होइन, हाम्रा गोल्ड मेडल हासिल गर्ने दुई विद्यार्थी पनि रंगशालाभित्र सुरक्षाकर्मीकै कारण छिर्न पाएनन्। सुरक्षाकर्मीले भित्र पनि एक ठाउँका व्यक्तिलाई अरू ठाउँमा जान नदिएपछि कार्यक्रम अलि असहज भएको हो।’ धेरै विद्यार्थी पास गराएर विश्व कीर्तिमान प्राप्त गरेसँगे अब त्रिविको शैक्षिक गुणस्तर कायम गर्न र दक्ष जनशक्ति उत्पादनमा थप जोड दिने उनको भनाइ छ।

प्रकाशित: ४ पुस २०८० ००:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App