२० वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी: लाखौंको उपकरण माकुराको जालो र धुलाम्मे

फाइल तस्वीर

 दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलस्थित पञ्चमाध्यमिक विद्यालयमा जडान गरिएको विद्युतीय हाजिरी (इ-हाजिरी) वर्ष दिन पनि टिक्न सकेन। प्रधानाध्यापक भवकृष्ण ढकालले  विद्यालयमा जडान गरिएको विद्युतीय हाजिरीले वर्ष दिन पनि काम नगरेको जानकारी दिए।

वडा नं १२ जाल्पास्थित ज्योति माविमा विसं २०७६ देखि विद्युतीय हाजिरी चलेका छैनन्। वडा नं १५ विजयखर्कस्थित चम्पावती माविमा जडान गरेको करिब डेढ वर्षदेखि नै विद्युतीय हाजिरीले काम दिएन। बिग्रिएको विद्युतीय हाजिरीको उपकरण मर्मत वा नयाँ जडानमा नगरपालिका र विद्यालय दुवैको ध्यान जान सकेको छैन।

पन्ध्र वडा रहेको नगरपालिकाले पाँच वर्षअघि एउटाबाहेक सबै सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको उपस्थितिलाई नियमित गर्ने उद्देश्यले विद्युतीय हाजिरी जडान गरेको थियो। सामुदायिक विद्यालयका शिक्षकको उपस्थितिलाई नियमित गर्दै शैक्षिक गुणस्तर उकास्न १८ माविमा जडान गरिएको विद्युतीय हाजिरीको अवस्थाबारे हाल नगरपालिका नै बेखबर बनेको देखिएको छ।

तत्कालीन नगर प्रमुख दीपनारायण रिजालको कार्यकालमा शिक्षकको विद्युतीय हाजिरी ‘ट्र्याकिङ’ गर्ने गरी २०७५ असोज १ गतेदेखि नगरका सबै माविमा लाखौं खर्च गरेर विद्युतीयहाजिरी सञ्चालनमा ल्याइएको थियो। बिग्रेका विद्युतीय हाजिरीको उपकरण नगरपालिका वा स्वयं विद्यालयले पनि मर्मत गरेर पुनः सञ्चालनमा ल्याउने वा नयाँ उपकरण जडान गर्नमा कुनै चासो देखाएका छैनन्।

बिग्रिएको विद्युतीय हाजिरीको उपकरण पुनः सञ्चालनमा ल्याउने तदारुकता नदेखिनुले कतिपय शिक्षकलाई हाइसञ्चो भएको अभिभावक बताउने गरेका छन्।

विद्युतीय हाजिरीमार्फत नगरपालिकाको कार्यालयमै बसेर सबै माविमा कार्यरत शिक्षकको उपस्थितिलाई निगरानी गर्ने व्यवस्था कार्यान्वयन हुँदा केही हदसम्म शैक्षिक क्रियाकलापमासमेत सुधार आएको थियो।

विद्युतीय हाजिरी ट्र¥याकिङले ‘कुन विद्यालयका शिक्षक, कुनबेला उपस्थित भए, कुन बेला हाजिर गरे, कति बेला विद्यालयबाट निस्किए’ भन्ने निगरानी हुने गरेको थियो। ई-हाजिरीको सुरुवाती दिनमा शिक्षकलाई नियमित गर्न सघाउ पुगेको पनि थियो तर, ई-हाजिरी जडानपछि त्यसको अवस्थाबारे नगरपालिकाबाटै निरन्तर हेरचाह र चासो नपुग्दा अहिले बेकम्मा बन्न पुगेको छ।

नगरपालिकाले कुनै एउटा निजी कम्पनीको  विद्युतीय हाजिरी उपकरण बिकाउने भूमिका मात्र निर्वाह गरेको जनाउँदै तत्कालीन नगर प्रमुख रिजालको आलोचना हुने गरेको छ। यतिसम्म कि तत्कालीन नगर प्रमुख रिजाल र उपप्रमुख विणादेवी राई नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट र वर्तमान नगर प्रमुख र उपप्रमुख गठबन्धनबाट निर्वाचित भएकाले पनि अघिल्लो कार्यकालका जनप्रतिनिधिले गरेको कामलाई अहिलेका जनप्रतिनिधिले चासो नदिएको कतिपयले आरोप लगाउने गरेका छन्।

कमसल खालको उपकरण जडान गरेकाले विद्युतीय हाजिरीको उपकरण हाल बिग्रिएको अवस्थामा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका वर्तमान नगर प्रमुख एवं शिक्षा शाखा प्रमुख तीर्थराज भट्टराईले बताए।

“कतै चल्छन्, कतै चल्दैनन्। सबै विद्यालयमा जडान गरिएका  विद्युतीय हाजिरीको उपकरण कमसल भएको पाइएको छ”, उनले भने, “बिक्री गर्ने कम्पनी र नगरपालिकाबीच कस्तो सम्झौता भएको रहेछ भनेर हेर्दैछौँ। यदि घोटला भएको ठहर भएमा कारबाही हुन्छ।”

निकै तामझामका साथ जडान गरिएको  विद्युतीय हाजिरी केही विद्यालयमा छ/सात महिना नपुग्दै बिग्रेर थन्किएको सम्बन्धित विद्यालयका प्रधानाध्यापकले बताउने गरेका छन्। अधिकांश विद्युतीय हाजिरी कोभिडको निहुँमा बन्द भएको समाचार स्रोतले जनाएको छ।  

प्रकाशित: ६ कार्तिक २०८० ०४:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App