भक्तपुरका शिक्षकहरु पढाई अवरुद्ध नगरी फरक तरिकाले आन्दोलन थालेका छन्। देशभरका शिक्षकहरु पढाई बन्द गरी राजधानीमा प्रदर्शनमा जुटेको बेला यहाँका शिक्षकहरुले पढाई बन्द नगरी आन्दोलन थालेका हुन्।
नेपाल सरकारले संसद्मा ल्याएको विद्यालय शिक्षा विधेयक दर्ताविरुद्ध उनीहरुले फरक तरिकाले पढाई प्रभावित नहुने गरी आन्दोलन थालेका हुन्।
विधेयकको विरोधमा उनीहरुले जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेका हुन्। शिक्षा विधेयक के हो ? यसले भोलिका दिनमा शिक्षकलाई के-कस्तो असर गर्दछ र के के विषयहरू संशोधन गरी मात्रै कानुन पारित गर्नुपर्छ भन्ने जानकारी दिएर उनीहरुले दबाबमूलक जनचेतनामूलक आन्दोलन सुरु गरेका हुन्।
.jpg)
नेपाल क्रान्तिकारी शिक्षक संघको नेतृत्वमा आन्दोलन सुरु भएको हो। संघका केन्द्रीय अध्यक्ष ज्ञान सागर प्रजापतिले पहिलो चरणमा असोज ४ बिहीबारदेखि ६ गते शनिबारसम्म विधेयकबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको सुनाए। यस अनुसार जिल्ला समितिहरुलाई पनि आ आफ्नो जिल्लामा यस्ता कार्यक्रम गर्न जानकारी गराइएको उनले जानकारी गराए।
यस अन्तर्गत पहिलो दिन बिहीबार भक्तपुरमा जुलुस भएको थियो नेपाल क्रान्तिकारी शिक्षक संघ भक्तपुर जिल्ला समितिको आयोजनामा जुलुस भएको थियो। दिउँसो साढे १ बजेबाट भक्तपुरको च्याम्हासिंहबाट जुलुस थालेका थिए।
जुलुस च्याम्हासिंहबाट सूर्यमढी, दतात्रय, इनाचो, गोल्मढी हुँदै दरबार स्क्वायरमा पुगेको थियो। जुलुसले भक्तपुरका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको थियो। प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको हो।
ज्ञापन पत्रमा शिक्षा विधेयक संशोधन गरेर मात्रै पास गर्नुपर्ने माग राखिएको छ। साथै शिक्षक बन्न अब न्यूनतम योग्यता स्नातक हुनै पर्ने भनिएकोले त्यही अनुसारको सुविधा अर्थात् शाखा अधिकृत सरहको तलबमान हुनुपर्ने, मावि शिक्षक बन्न स्नातकोत्तर नै चाहिने भएको ठिक्कै हो तर उसको तलबमा पनि उपसचिव सरहकै हुनुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ।
‘विद्यालयको सबभन्दा महत्त्वपूर्ण र तल्लो जग पूर्व प्रावि हो। यो तहलाई विगतमा विद्यालयको अङ्ग नै मानिएको थिएन, ज्ञापन पत्रमा भनिएको छ, ‘शिक्षकहरूको जोड बलले विद्यालयको अङ्ग मानियो तर विधेयकमा त्यो तहलाई पन्छाउन खोजिएको छ।’
मरिसकेको जिल्ला शिक्षा कार्यालयलाई फेरि व्युताउन खोज्नु संघीयताविरुद्धको कदम भएको संघको भनाई छ। साथै विधेयक पास गर्नुअघि सरोकारवाला शिक्षक, विद्यार्थी, अभिभावक, स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, शिक्षाविद् सबैसँग गहन छलफल आवश्यक भएको उल्लेख छ।
जुलुसमा सहभागी शिक्षकशिक्षिकाहरुले निजामती कर्मचारीहरु सरह शिक्षक र कर्मचारीहरुलाई सेवा सुविधा कायम गर, विद्यालयमा कर्मचारी दरबन्दी सिर्जना गर, राहत शिक्षकहरुलाई शतप्रतिशत कोटा कायम गर, राष्टियस्तरको एसइई परीक्षा कायम गर, शिक्षामा लगानी २४ प्रतिशत पुर्याउ, विश्वविद्यालय शिक्षा निःशुल्क गर, कक्षा १२ सम्मको शिक्षा निःशुल्क र अनिवार्य गर, देश र जनताको हितमा राजनीति गर्न पाउनैपर्छ लगायतका नाराहरु लगाएका थिए।
प्रकाशित: ४ आश्विन २०८० १३:०० बिहीबार




-600x400.jpg)
