६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
शिक्षा

उच्च शिक्षा अध्ययनको पहिलो रोजाइ अष्ट्रेलिया

अष्ट्रेलियामा उच्च शिक्षा हासिल गर्ने नेपाली विद्यार्थीको लागि राम्रो अवसर रहेको छ। अष्ट्रेलियामा पढाइकाे साथै कमाईको पनि राम्रो अवसर भएकोले नेपाली विद्यार्थीको पहिलो रोजाइ अष्ट्रेलिया बन्दै गएको छ।

विगत एक वर्षभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट एनओसी लिनेको सङ्ख्या सबै भन्दा बढी पनि अष्ट्रेलियाकै लागि रहेको तथ्याङ्कले देखाएको छ।

०७९/०८० आर्थिक वर्षभित्र एनओसी लिनेको कुल सङ्ख्या एक लाख २२ हजार ५ सय १४ रहेकोमा अष्ट्रेलियकोलागि ३३ हजार ९ सय ९१ रहेको मन्त्रालयको तथ्याङ्क छ।

मंगलबार अष्ट्रेलियन शिक्षा सम्बन्धी शैक्षिक परामर्श उपलब्ध गराउने शैक्षिक परामर्श दातृ निकायहरूको साझा संस्था एसोसिएसन अफ अष्ट्रेलियन एजुकेसन रिपरजेन्टेटिभ्स इन नेपाल (एरी नेपाल) को ५ औं साधारण सभा र सम्मेलनमा अष्ट्रेलियन शिक्षा सरोकारवालाहरुले अष्ट्रेलियामा वास्तविक अध्ययन गर्न जान चाहने विद्यार्थीको लागि उत्तम गन्तव्य रहेको बताएका छन्।

कार्यक्रममा एरी नेपालका अध्यक्ष महेश बाबु तिमल्सिनाले एरी नेपालको गतिविधि र उपलब्धिबारे बताउँदै विश्वस्तरीय अष्ट्रेलियाली शैक्षिक प्रणाली र यसले विद्यार्थीको जीवनस्तरमा ल्याएको परिवर्तन बारे चर्चा गरेका थिए। उनले सन् २०२२ मा नेपालबाट अष्ट्रेलियाको लागि एनओसी लिने विद्यार्थीको सङ्ख्या ६४ हजार ७ सय ४३ रहेको भए पनि सोही समयमा भिसा प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या २१ हजार ८ सय ४४ मात्र रहेको तथ्याङ्क प्रस्तुत गरेका थिए।

‘नेपाली विद्यार्थीको उच्च शिक्षा अध्ययन गर्ने पहिलो गन्तव्य अष्ट्रेलिया बनेको भए पनि भिसा प्राप्त गर्ने दर भने कम छ ,’ अध्यक्ष तिमल्सिनाले भने ‘गत वर्षकै तथ्याङ्कले पनि ४२ हजार ८ सय ९९ को फरक देखाउँछ। एउटै विद्यार्थीले दुई तिन विषयको लागि एनओसी लिने भएकोले पनि एनोसीको सङ्ख्या वृद्धि भएको देखिन्छ।’ उनले थपे ‘तर वास्तविकता फरक छ। 

विद्यार्थीको कागजात सही छ भने बल्ल भिसा लाग्ने हो। पढ्न जाने विद्यार्थीको लागि अष्ट्रेलिया उत्तम गन्तव्य बन्नुको मुख्य कारण पढाइको साथै अवसर हो।’

उनले अष्ट्रेलियामा विशेष गरी आइटी, व्यवस्थापन, नर्सिङ, होटेल व्यवस्थापन, कम्प्युटर विज्ञान लगायतका प्राज्ञिक र प्राविधिक कोर्षहरुमा विद्यार्थीले शिक्षा हासिल गर्न जाने गरेको र यी विषयमा आ आफ्नो व्यक्तित्व बनाउने गरेको समेत जनाए।

कार्यक्रममा अष्ट्रेलियामा उच्च शिक्षा हासिल गरी नेपाल फर्केर आ आफ्नो क्षेत्रमा अब्बल मानिएकाहरुसँग प्यानल छलफल गरिएको थियो। प्यानल छलफलका सहजकर्ता एरी नेपालका संस्थापक अध्यक्ष द्धिराज शर्माले गरेका थिए। 

अष्ट्रेलियाली शैक्षिक प्रणाली, यसको नेपाली अर्थतन्त्रमा पारेको सकारात्मक प्रभाव र नेपाली विद्यार्थीहरुका लागि प्यानल डिस्कसन समेतको आयोजना गरिएको थियो।

प्यानलिस्ट नेपाल रिपब्लिक मिडियाकी सिइओ सम्बृद्धि ज्ञवालीले अष्ट्रेलियामा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीको लागि मार्गनिर्देशन र अष्ट्रेलियाली शिक्षामा नेपालको अर्थतन्त्रमा पारेको गहिरो प्रभावबारे प्रकाश पारेकि थिइन्। उनले अष्ट्रेलियामा उच्च शिक्षा हासिल गर्ने नेपाली विद्यार्थीको लागि चुनौती र अवसर दुवै रहेको स्पष्ट पारिन्।

नेपाल रिपब्लिक मिडियाकी सिइओ सम्बृद्धि ज्ञवाली।

‘म आफै पनि अष्ट्रेलियामा अध्ययन गरेकी हुनाले मलाई अवसर र चुनौतीबारे राम्ररी थाहा छ,’ सिइओ ज्ञवालीले आफ्नो अनुभव सुनाइन् ‘नेपालीहरु बिदेसिनुको मुख्य कारण गुणस्तरीय शिक्षा र गुणस्तरीय जीवनयापनको खोजीको लागि हो। अष्ट्रेलिया बहुभाषिक र बहु संस्कृति विशेषता भएको देश हो। गुणस्तरीय जीवनयापनको कला सिकाउने देश पनि अष्ट्रेलिया हो।’ उनले थपिन् ‘नयाँ विद्यार्थीको लागि नयाँ ठाउँ र नयाँ वातावरण चुनौती हो भने सफ्ट स्किलको अवसरले उसलाई आफ्नो अस्तित्व बनाउन सिकाउने अवसर हो।’

प्यानाल डिस्कसनमा अन्य प्यानलिस्टहरु पंचकन्या समूहका कार्यकारी निर्देशक उज्ज्वल श्रेष्ठ, आनाका अध्यक्ष र नबिल बैंकका निर्देशक अनन्त पौडयाल र गेट कलेजका संस्थापक खेम लकाई लगायतले आ– आफ्नो धारणा राख्दै अष्ट्रेलियन शिक्षाको अवसर र चुनौतीबारे विद्यार्थीलाई मार्ग निर्देशन गरेका थिए। छलफलमा अष्ट्रेलियाली शिक्षाले नेपाली अर्थतन्त्रमा पारेको प्रभावबारे गहन छलफल गरिएको थियो।

कार्यक्रममा जुम मार्फत जोडिँदै एरी इन्डियाका अध्यक्ष निशि बोर्राले ५ औं वार्षिक साधारण सभा र सम्मेलनको सफलताको लागि शुभकामना व्यक्त गरेका थिए। अष्ट्रेलियन हाइ कमिसन न्यु दिल्लीका मिनिस्टर काउन्सलर म्याथउ जोनस्टनले शैक्षिक उन्नति र द्विपक्षीय सम्बन्धका बारेमा प्रकाश पार्दै एरी नेपालको ५ औं वार्षिक साधारण सभाकाे सफलताको शुभकामना सन्देश दिएका थिए।

कार्यक्रमकी प्रमुख अतिथि अष्ट्रेलियाली राजदूत फेलिसिटी भोल्कले नेपाल र अष्ट्रेलियाबीचको सुमधुर सम्बन्ध र अष्ट्रेलियन एजुकेसनको नेपाल र नेपालीलाई पारेको सकारात्मक प्रभावको बारेमा बताइन ।

उनले कार्यक्रमकाे सफलताको लागि शुभकामना दिएकी थिइन्। कार्यक्रममा उपस्थित अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो। नयाँ सदस्यलाई सदस्यता प्रमाणपत्र वितरण गरिएको थियो।

कार्यक्रममा अनिल केशरी शाहले विश्वव्यापी शिक्षा र यसले विद्यार्थीको व्यक्तित्व विकासमा पार्ने सकारात्मक परिवर्तनबारे प्रकाश पारेका थिए। एरी नेपालका उपाध्यक्ष बुद्धिसागर अर्यालले एरी नेपाल सधैं अष्ट्रेलियमा उच्च शिक्षा हासिल गर्ने विद्यार्थीको हकहितमा काम गर्ने बताए।

प्रकाशित: ३० श्रावण २०८० १६:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App