४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

पढाइ सुधार्न नमुना कक्षा तयार गर्दै विद्यालय

रामधुनी वडा नं ७ मा सञ्चालित पञ्चायत माविले तयार गरेको नमुना कक्षा। तस्बिर: अमर/नागरिक

सामुदायिक विद्यालयमा तालिम प्राप्त शिक्षक भए पनि सिकाइ प्रभावकारी भएन। शिक्षकमा जागिरे प्रवृत्ति हाबी भयो। हाम्रो देशको शैक्षिक अवस्थाका प्रसंगमा यस्तै आलोचना सुनिन्छ, तर कतिपय सामुदायिक विद्यालयमा उदाहरणीय प्रगति हुन थालेको छ। यसरी प्रगति गर्ने सामुदायिक विद्यालयले उपयुक्त शैक्षिक सामग्री प्रयोगमा ध्यान दिने गरेका छन्।

उपयुक्त शैक्षिक सामग्रीले शिक्षणलाई आकर्षक मात्र होइन, प्रभावकारी र अर्थपूर्ण पनि बनाउँछ। ‘शैक्षिक सामग्रीमार्फत सिकेको ज्ञान दिगो हुनुका साथै पढाइमा रुचि जाग्ने गर्छ’, रामधुनी वडा नं ३ मा सञ्चालित जनता माध्यमिक विद्यालय कक्षा ४ मा अध्ययनरत सुजाता कोइरालाले बताइन्।

जनता माध्यमिक विद्यालयमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीका लागि कक्षा कोठामा सबैले देख्ने गरी भित्ते लेखन गरी सामग्री निर्माण गरिएको र त्यस आधारमा शिक्षण गर्न सहज हुने गरेको शिक्षिका रञ्जु सिग्देलले बताइन्।

सामुदायिक विद्यालयमा तालिम प्राप्त शिक्षक भए पनि सिकाइ प्रभावकारी भएन। शिक्षकमा जागिरे प्रवृत्ति हाबी भयो।

आर्थिक वर्ष २०७९/८० मा सुनसरीको रामधुनी र वराह क्षेत्रमा रहेका सामुदायिक विद्यालयमध्ये चारवटालाई नमुनाका रूपमा लिइएको छ। ती विद्यालयले कक्षाकोठालाई बालमैत्री र बसाइ व्यवस्थापनका साथै शैक्षिक सामग्रीका रूपमा प्रयोग गर्न भित्ते लेखनमार्फत नमुना कक्षाकोठाकै रूपमा विकास गरेका छन्।

यसरी नमुना कक्षाकोठाका रूपमा विकास गरी शिक्षण गर्दा विद्यार्थी सिक्न उत्साहित हुने गरेको रामधुनी वडा नं ७ मा रहेको पञ्चायत माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक टीकाराम बस्नेतले बताए। ‘नदेखेका कुरा, घटना र वातावरणको प्रत्यक्ष जानकारी दिन भित्ते लेखन सिकाइ सामग्री प्रयोगबाट सहज हुने गरेको छ’, उनले भने।

आर्थिक वर्ष २०७९/८० मा सुनसरीको रामधुनी र वराह क्षेत्रमा रहेका सामुदायिक विद्यालयमध्ये चारवटालाई नमुनाका रूपमा लिइएको छ।

कक्षामा शिक्षण सिकाइका लागि उपयुक्त वातावरण र शैक्षिक सामग्रीकै महत्व हुने गर्छ। हाम्रा सामुदायिक विद्यालयमा कक्षा कोठाका सजावट र सन्दर्भ सामग्रीका व्यवस्थापन आदिमा ध्यान दिँदा शैक्षिक गुणस्तर बढेको बराह क्षेत्र-८ मा सञ्चालित कोशी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक रमेशजंग निरौलाले बताए।

कतिपय विद्यालयमा शैक्षिक सामग्री धुलो र माकुराको जालोले घेरिएर कार्यालयको कुनै कुनामा थन्किएका हुन्छन्, तर कोशी मावि बराह क्षेत्र पुग्दा साँच्चै लोभलाग्दा भित्ते लेखनसँगै अन्य सिकाइ सामग्री भेटन्छन्। कोशी मावि बराह क्षेत्रभरिका सामुदायिक विद्यालयमध्ये नमुना विद्यालयमा पर्छ।

कक्षाकोठा नमुना बनाउने सरकारी खर्चले नपुगेपछि विभिन्न संस्थाले सहयोग गरेका छन्, जसमा ग्रामीण समाज उत्थान केन्द्र (आरएसडिसी) सुनसरीले अहिले रामधुनीको जनता मावि र पञ्चायत माविसँगै बराह क्षेत्रको कोशी मावि एवम् सुनसरी आधारभूत विद्यालयमा कक्षा कोठा विषयगत रूपमा भित्ते लेख्न गरिदिएको छ।

कक्षाकोठाका अगाडिपट्टि एउटा लेख्ने बोर्ड र एउटा प्रदर्शन बोर्ड पनि राखिएको हुन्छ। त्यसै कोठामा एक वा दुइटा दराज वा र्‍याकमा शैक्षिक सामग्री, सन्दर्भ सामग्री र विद्यार्थीले तयार गरेको परियोजना कार्यसहितका आवश्यक विषयगत सामग्री राखिन्छ।

कक्षाकोठा नमुना बनाउने सरकारी खर्चले नपुगेपछि विभिन्न संस्थाले सहयोग गरेका छन्, जसमा ग्रामीण समाज उत्थान केन्द्र (आरएसडिसी) सुनसरीले अहिले रामधुनीको जनता मावि र पञ्चायत माविसँगै बराह क्षेत्रको कोशी मावि एवम् सुनसरी आधारभूत विद्यालयमा कक्षा कोठा विषयगत रूपमा भित्ते लेख्न गरिदिएको छ।

कोठाका भित्तामा शैक्षिक-सन्दर्भ सामग्रीले सजाउँदा विद्यार्थीलाई सिक्न उत्प्रेरित गर्ने र नतिजा पनि सुधार आएको आरएसडिसी कार्यक्रम संयोजक शिखाकिरणले बताइन्।

प्रकाशित: २१ असार २०८० ०५:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App