१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

विद्यार्थीको मृत्युबारे छानबिन गर्न अखिल क्रान्तिकारीको माग

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) काठमाडौंले नयाँबजारस्थित इटरनल लाइट पब्लिक स्कुल (इलिप्स) मा आत्महत्या गरेका विद्यार्थीको छिटोभन्दा छिटो पोस्टमार्टम गरी छानबिन गर्न माग गरेको छ। 

बुधबार विज्ञप्ति जारी गर्दै सो संगठनले विद्यार्थीको आत्महत्या नभई हत्या भएको भन्दै कारबाहीको मागसमेत गरेको छ।

काठमाडौं महानगरपालिका– १६, नयाँ बजारस्थित इलिप्स स्कुलको कक्षा ५ मा अध्ययनरत अभिषेक तामाङले मंगलबार राति सोही स्कुलको होस्टलमा आत्महत्या गरेको भनेर समाचार बाहिरिएको थियो। सो संगठनका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला संयोजक मिम बहादुर ऐडीद्वारा हस्ताक्षरित विज्ञप्ति अनुसार अन्य विद्यार्थीलाई पनि होस्टेल वार्डन (इन्चार्ज) ले कुटपिट गरी यातना दिने विद्यार्थीबाटै समाचार चुहिएको आधारमा बुधबार विद्यार्थी, अभिभावक र स्थानीयले स्कुलविरुद्ध नाराबाजी गर्दै प्रदर्शनसमेत गरेका थिए।

विज्ञप्तिमा भनिएको छ, ‘यस्ता संवेदनशील घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीका लागि काठमाडौं महानगर, सम्पूर्ण विद्यालयहरू र सम्बन्धित निकायहरूलाई गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ। अन्यथा हामी आफैं अग्रसर भई यस्ता गतिविधिहरू नियन्त्रणमा लिई आवश्यक कारबाही गर्ने चेतावनीसमेत दिन चाहन्छौं। मृतक विद्यार्थीको शवलाई पोस्टमार्टमका लागि शिक्षण अस्पताल लगिए पनि पोस्टमार्टम हुन नसकेको संयोजक ऐडीले बताए। साथै सोह्रखुट्टे प्रहरीमा अभिभावकहरूलाई उजुरीका लागि सहजीकरण गरेको र संगठनले तुरुन्त छानबिन गरी कारबाहीका लागि प्रशासनलाई दबाब दिएको उनले जानकारी दिए।

यता सोह्रखुट्टे प्रहरीले भने उनको शव पोस्टमार्टम भइरहे पनि मृत्युको कारण खुलिनसकेको बताएको छ। साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित: १८ जेष्ठ २०८० १०:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App